प्रम दाहालको नेका र एमालेलाई एक भएर देखाउन हाँक


काठमाडौँ, ३० फागुन । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाको विश्वास प्राप्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा प्रस्तुत प्रस्तावबारे बोल्दै प्रधानमन्त्री पद व्यक्तिको इच्छाभन्दा पनि पार्टीको दृष्टिकोण भएको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा सत्ता गठबन्धनका दलहरूको नीति तथा दृष्टिकोणमा तात्विक भिन्नता नभएको हुँदा प्रधानमन्त्री दाहाललाई पार्टीले विश्वासको मत नदिने निर्णय गरेको जानकारी गराउनुभयो ।
नेपालीलाई भाडाको सिपाही बनाउने गोर्खा भर्तीकेन्द्र, नेपाललाई भारतको सुरक्षा छातामा राख्ने नेपाल–भारतबिचको सन् १९५० को सन्धि, अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता, अमेरिकी सेनाले नेपाली सेनाको ब्यारेक कब्जा गर्ने एसपीपी साझेदारी कार्यक्रम खारेज गर्नुपर्ने उल्लेख गर्दै सांसद सुवालले प्रधानमन्त्री दाहालद्वारा प्रस्तुत विश्वासको प्रस्तावमा मत दिन्न पक्षमा दस्तखत गर्नुभयो ।
प्रधानमन्त्री दाहालले विश्वासको मत माग्दै बैठकमा माओवादीले नेकाका शेरबहादुर देउवालाई दुईपटक प्रधानमन्त्री बनाएको, नेकाले माओवादी (आफूलाई) एकपटक प्रधानमन्त्री बनाएको, नेकाको माओवादीविरुद्ध विश्वासघातको जगमा एमालेसँगको पाँचदलीय गठबन्धन बनेको, नेकाले माओवादी (मलाई) बेइमान भनी आरोप लगाएको, एमालेले आफूलाई प्रधानमन्त्री बनाए पनि राष्ट्रपतिमा नेकाका रामचन्द्र पौडेललाई जिताएको, तत्पश्चात् नेकासँग गठबन्धन गर्दा विश्वासघात नहुने, अहिले एमालेसँग गठबन्धन गर्दा कसरी धोखेबाज हुन्छ ? धोखाको आरोप एमालेले माओवादीलाई लगाउन मिल्ने, नेकाले लगाउन नमिल्ने, एक्लै निर्वाचन लडेर बहुमत ल्याउन नेकालाई चुनौती दिनुभयो ।
प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीमा जानेलाई ऋण दिने, उपलब्धि नभए प्रम पदमा नबस्ने उल्लेख गर्दै प्रमुख विपक्षीमा बस्ने पार्टीले निहुँ खोजे शान्ति प्रक्रिया कसरी टुङ्गिएला भनी नेकासँग प्रश्न गर्नुभयो ।
एमालेका केपी ओलीले प्रम दाहालको मन्तव्य चित्तबुझ्दो भएको, एमालेको समर्थनमा माओवादीका दाहाल प्रधानमन्त्री भएको, विदेशीले बनाएको होइन, १४ महिनाअघि पनि आफूले समर्थन गरी दाहाललाई प्रधानमन्त्री बनाएको, त्यतिबेला मत नमागे पनि नेकाले प्रधानमन्त्री दाहाललाई मत दिएको, यसपटक किन दिन नहुने ? २०७० सालमा एमालेले नेकालाई प्रधानमन्त्री बनाएको तर सहमतिअनुसार नेकाले एमालेलाई प्रधानमन्त्री नबनाएको, उल्टो प्रमको उम्मेदवार बनेर जोरी खोजेको, नेका इमानै इमानको खानी होइन, दुई महिनापछि माओवादी – नेका गठबन्धन बन्दा अस्थिर नहुने अहिले १४ महिनापछि एमाले–माओवादी गठबन्धनबाट अस्थिर कसरी हुन्छ भन्नुभयो ।
नेकाका सांसद विश्वप्रकाश शर्माले माओवादीको मतले नेका पहिलो भएको भनेझैँ नेकाको मतले माओवादी तेस्रो भएको किन बिर्सियो भन्ने प्रश्न गर्दै माओवादीसँग सोधेर नेकाले आफ्नो महासमितिको दस्तावेज तयार नगर्ने, आफ्नै आँगनमा गिडिएको बाबुका छोराछोरीलाई समेत माओवादीलाई मत हाल्न लगाएको, मङ्सिर ४ को गठबन्धनविपरीत विश्वासको मत मागेको माओवादीको घात नै हो, प्रेम थियो भने धोका हुने थिएन, धोका भएकै हो भने त्यो प्रेम नै थिएन भन्नुभयो ।
सांसद शर्माले माधवकुमार नेपालको नाम उच्चारण गर्दा कुला गर्ने ओली अहिले माधवसँग टाँस्न पुगेको र पुराना दललाई बहिष्कार भन्ने रास्वपा पुरानै दलसँग मन्त्री खान गएको उल्लेख गर्नुभयो ।
सांसद शर्माले जाडो लागे सूर्य र गर्मी लागे रूखसँग जाने माओवादीलाई विश्वासको मत दिन नसक्ने उल्लेख गर्दै यसअघि हिन्दू राष्ट्र, राजतन्त्र बोकेको राप्रपासँग गठबन्धन सरकार बनाउने माओवादीले नेकाको महासमितिमा स्टल राखेर हिन्दू राज्यमा दस्तखत गरायो भनी काङ्ग्रेसलाई प्रश्न गर्न कसरी मिल्छ, अभियोग लागेका रविलाई मन्त्री बनाउन कसरी मिल्छ भन्नुभयो ।
राप्रपाका राजेन्द्र लिङदेनले आफ्नो पार्टीलाई अछुटजस्तो व्यवहार गरेको, गणतन्त्रलाई लुटतन्त्र बनाएको उल्लेख गर्दै प्रम दाहाललाई विश्वासको मत नदिने बताउनुभयो ।
रास्वपाका स्वर्णिम वाग्लेले नेकाले रास्वपालाई प्रधानमन्त्रीको प्रस्ताव गरी एमालेसँग गठबन्धनमा जान रोक्न खोजेको उल्लेख गर्दै आफ्नो पार्टी सामाजिक न्यायसहितको उत्पादन र संवैधानिक समाजवादमा विश्वास गर्ने बताउनुभयो ।
जसपा (उपेन्द्र यादव) का सांसद राजकिशोर यादवले सहयात्रीको कारण प्रमको पद धरापमा पर्नुपर्नेमा प्रमको कारण सहयात्री धरापमा परेको, पाँच दलको आठ बुँदाको सहमतिमा मधेसको विषय नउठेको, लोकतन्त्रलाई ४–५ जना शासक नेताको आलोपालोमा राखेको, तीन ओटा प्रदेशमा प्रदेश प्रमुख फेरियो तर मधेसी नपरेको उल्लेख गर्दै प्रम दाहाललाई मत दिने बताउनुभयो ।
माओवादीको तर्फबाट महेन्द्रराय यादवले नेकासँग चुनाव गठबन्धनको कारण माओवादीको ५२ स्थानबाट ३२ स्थानमा घटेको उल्लेख गर्दै माओवादी र नेकाको गठबन्धन अप्राकृतिक भएको हुँदा गोत्र मिलेको एमालेसँग प्राकृतिक गठबन्धन बनेको बताउनुभयो ।
नेकपा एसका राजेन्द्र पाण्डेले एमालेभित्र विद्रोह गरेर आएको आफ्नो पार्टीलाई प्रम दाहालले बिचमा छाडेर एमालेसँग गठबन्धन गरेको अनैतिकता भएको उल्लेख गर्दै ओली र देउवा मिले प्रधानमन्त्री दाहालको हालत के हुने हो भनी प्रश्न गर्नुभयो ।
जनमतका सीके राउतले गौर नरसंहारमा महिलाको गोप्य अङ्गमा लाठी–भाला रोपेका उपेन्द्र यादवको पार्टीसँग सत्ता गठबन्धन गरेको हुँदा माओवादीका प्रम दाहाललाई मत नदिने बताउनुभयो ।
लोसपाका रामप्रकाश चौधरीले प्रम दाहाललाई मत नदिने बताउनुभयो भने नागरिक उन्मुक्ति पार्टीका रञ्जिता चौधरीले प्रम दाहाललाई समर्थन गर्ने बताउनुभयो ।
राजमोका चित्रबहादुर केसीले प्रम दाहाललाई मत नदिने घोषणा गर्नुभयो । २०७९ को निर्वाचनमा राजमो नेका र माओवादीको गठबन्धनमा लागेर बाग्लुङबाट केसी जित्नुभएको थियो ।
सांसद प्रभु साहले प्रमको आलोचना गरे पनि मत दिने बताउनुभयो ।
सांसद अमरेशकुमार सिंहले संविधान असफल भए प्रम दाहाललाई जेल कोचिने बताउँदै प्रम दाहाललाई समर्थन गर्नुभयो ।
सांसद योगेन्द्र मण्डलले प्रम दाहालको आलोचना गरे पनि मत दिने बताउनुभयो ।
प्रम दाहालले जवाफ दिने क्रममा एमाले र नेकालाई माओवादीविरूद्ध एक भएर देखाउन चुनौती दिनुभयो भने विरोध गरी समर्थन गरेका जसपा, एसलगायतलाई ठीक लागे पक्षमा मत दिनु बेठीक लागे नदिनु भनी सिधै चेतावनी दिनुभयो ।
मतदानमा प्रधानमन्त्री दाहालको पक्षमा १५७ र विपक्षमा ११० मत परेको थियो ।

पार्टी गतिविधिहरु
समाचार