nwpp@ntc.net.np +1 6610026
ललितपुरमा १३५ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस

ललितपुर, २१ वैशाख । नेपाल क्रान्तिकारी मजदुर सङ्घ ललितपुरको आयोजनामा ठेचोमा १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस एक प्रवचन कार्यक्रम गरी मनाइयो ।
उक्त कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले मजदुरहरूले एक भएर आन्दोलन गरे आन्दोलन सफल हुने कुरा सिकागोमा भएको मजदुर आन्दोलनले देखाएको छ भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “१ मई श्रम गर्नेहरूको उत्सवको दिन हो । यो मजदुरवर्गको सङ्घर्षको दिन हो । श्रमिकहरूको सङ्घर्षकै कारण श्रमिकहरूले ८ घण्टा कामको दिन र मजदुरको ज्याला वृद्धि गर्न सफल भएको हो । हरेक श्रमिकलाई ८ घण्टा सुत्ने, ८ घण्टा काम गर्ने र ८ घण्टा मनोरञ्जन गर्ने समय हुनुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता छ ।”
भारतीय एकाधिकार पुँजीले नेपाल र नेपाली जनताको हितविपरीत कार्य गरिरहेको र नेपालमा सत्तामा जाने पार्टीहरू नेपाल र नेपालीको पक्षमा होइन भारतीय दलालको रूपमा कार्य गरेर नेपाली जनतालाई धोका दिइरहेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “ट्रेड युनियनले मजदुरवर्गको सुविधा बढाउने कुरा मात्र गर्छ भने क्रान्तिकारी मजदुर सङ्घले समाजवादी सत्ता प्राप्तिको लागि सङ्घर्ष गर्ने कुरा गर्छ । प्रत्येक कम्युनिस्टले राजनैतिकरूपमै मजदुरलाई शिक्षित गर्ने कार्य गर्दछ । सोभियत सङ्घमा मजदुरवर्गले सङ्घर्ष गरी समाजवादी क्रान्ति गरेको हो । पश्चिम युरोप तथा अमेरिकाले २०० वर्षमा गरेको विकास रुसले ३०–४० वर्षमा गरेबाट समाजवादले पुँजीवादी बन्दोबस्तमा भन्दा तीव्र विकास गर्न सक्छ भन्ने थाहा हुन्छ ।”
नेमकिपाका केन्द्रीय सदस्य तथा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले भन्नुभयो, “श्रमको सम्मान गर्ने व्यवस्था समाजवाद हो । पुँजीवादी विचार बोक्नेले श्रमिकवर्गलाई अपमान गर्दछ । नेपालमा देखिएका नयाँ दलहरू पनि नेपाली काङ्ग्रेसजस्तै पुँजीवादी र विदेशी दलाल पार्टी भएको नेपाली जनतालाई बुझाउनुपर्छ ।”
उहाँले भन्नुभयो, “विश्वमा अशान्ति र युद्धको कारक पुँजीवाद र साम्राज्यवाद हो । अमेरिकी साम्राज्यवादले केही वर्षदेखि मध्यपूर्वका देशहरूमा हस्तक्षेप गर्दै सिरिया, इरान र प्यालेस्टिनमा प्रत्यक्ष अप्रत्यक्ष हस्तक्षेप वा आक्रमण गरिरहेको छ । युक्रेनमा रुसविरुद्ध छद्मयुद्ध भइरहेको छ । इराक र लिवियाजस्ता सार्वभौम देशमाथि आक्रमण गरी ध्वस्त बनाइयो । संरा अमेरिकाले प्रजग कोरिया र क्युवामाथि नाकाबन्दी गर्दै आइरहेको छ । नेपालमा एमसीसी पास गराई चीनविरुद्ध गतिविधि गरी नेपाललाई युद्ध मैदानमा परिणत गर्न खोज्दै छ ।”
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय सचिव राजवीर डंगोलले संसारको मजदुर आन्दोलनको इतिहासमा सन् १८७० देखि १८९० को अवधि महत्वपूर्ण भएको, त्यसबेला मजदुरले १८ घण्टासम्म काम गर्नुपर्ने स्थिति भएको, आधा भेट खाएर काम गर्न बाध्य पारेको, केटाकेटीलाई पनि १० औँ घण्टा काम गराउने गरेको कारण मजदुर आन्दोलन गर्न बाध्य भएको हो भन्नुभयो ।
उहाँले भन्नुभयो,“१ मई १८८६ बाट दिनको ८ घण्टा काम र ज्याला बढाउने माग राखी संरा अमेरिकाका मजदुरहरू हडतालमा उत्रे । उक्त आन्दोलन दवाउने कार्य अमेरिकी सरकारले गर्यो । कैयौँ मजदुरको ज्यान गयो भने धेरै घाइते भए । तैपनि मजदुरहरूले आफ्नो सङ्घर्षलाई निरन्तरता दिए र आन्दोलन सफल भयो ।”
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एनबी श्रेष्ठले भन्नुभयो, “नेपालमा नेकालगायतका पुँजीवादी पार्टीले सरकारी कलकारखाना निजीकरण गरी नेपालमा बेरोजगारी समस्या सृजना गरेको छ । ८० लाख युवा १७१ वटा देशमा सस्तो ज्यामी बन्न बाध्य छन् ।”
उहाँले रुसको डिसेम्बर विद्रोह गर्ने खानदानी परिवारका युवा सैनिकहरूले आफ्नो देशको उन्नति र प्रगतिका साथै भूदासप्रथा अन्त्यको लागि सैनिक विद्रोह गरेको चर्चा गर्दै क्रान्तिकारी रुसी महिलाहरूले साइबेरियामा आफ्ना परिवार र अन्य बन्दीहरूलाई सहयोग गरेको स्मरण गराउनुभयो ।
नेमकिपा ललितपुर जिल्ला समितिका सचिव नरेश महर्जनले माक्र्सवादी सिद्धान्तअनुसार अतिरिक्त मूल्य भनेको शोषण हो† पुँजीपतिको सम्पत्ति भनेको श्रमिकको शोषणको अंश हो; त्यो सम्पति सम्पूर्ण कामदारवर्गको साझा सम्पत्ति हो भन्नुभयो ।
नेमकिपा ललितपुर जिल्लाका सदस्य महन्त महर्जनले भन्नुभयो, “कम्युनिस्टहरूको सरकारले उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण, योग्यताअनुसारको काम र कामअनुसारको ज्याला, शोषणको समाप्ति, शिक्षा र स्वास्थ्य निःशुल्क, स्वदेशमा रोजगारीको व्यवस्था गर्ने हो । तर, कम्युनिस्ट नामधारी पार्टीले भाइकाङ्ग्रेस भएर पुँजीवादी नीतिअनुसार निजीकरण, भारतीय एकाधिकार पुँजी र अमेरिकी साम्राज्यवादको पक्षमा कार्य गरेर जनतालाई ढोका दिइरहेको छ ।”
नेपाल क्रान्तिकारी मजदुर सङ्घ ललितपुर जिल्ला समितिका अध्यक्ष अशोक महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा सुजिना महर्जन, विष्णुभक्त महर्जनलगायतले कामदार जनतालाई राजनैतिकरूपले सचेत र सङ्गठित गर्न नसकेसम्म समाज परिवर्तन गर्न सकिँदैन भन्नुभयो ।

पार्टी गतिविधिहरु
समाचार