जनतालाई शिक्षित पार्नु जनताका कार्यकर्ताको कर्तव्य
भक्तपुर, २३ वैशाख । विश्व सर्वहारावर्गका महान् नेता कार्ल माक्र्सको २०६ औँ जन्म दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिको आयोजनामा आइतबार कार्यकर्ता प्रशिक्षण भयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले पार्टीको सिद्धान्त, विचार र कार्यक्रम जनताबिच पु¥याउने काम कार्यकर्ताको भएकोले आफूले सिके–जानेको ज्ञान जनतामाझ पु¥याउनु कार्यकर्ताको कर्तव्य हो भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “संसारका मजदुर, कम्युनिस्ट र प्रगतिशील जनताको सङ्घर्षलाई समर्थन गर्नु सर्वहारा अन्तर्राष्ट्रवादको कर्तव्य निर्वाह गर्नु हो । प्रजग कोरिया, क्युवा, चीनलगायत देशको साम्राज्यवादविरोधी सङ्घर्षलाई नेपाल मजदुर किसान पार्टीले समर्थन गर्दै आएको हो । युक्रेनमा रुसविरुद्ध छद्म युद्ध र प्यालेस्टिनमा इजरायली फासीवादको जातीय नरसंहार र भूमि कब्जाको संसारका न्यायप्रेमी जनता विरोध गर्दै छन् ।”
उहाँले अगाडि भन्नुभयो, “सामन्तवादविरुद्ध पुँजीपतिवर्गले हतियार उठाएको हो । पुँजीपतिवर्गले सन् १६४९ मा बेलायतका राजा चाल्र्स प्रथम र सन् १७८९ मा फ्रान्सका राजा लुई सो¥हौँलाई ज्यान सजाय दिएको थियो । मजदुरवर्गले कानुनी र गैरकानुनी दुवै उपायबाट आफ्नो मुक्ति खोज्नु स्वाभाविक हो ।”
“पुँजीवादी व्यवस्थामा ठुलो पुँजीले सानो पुँजीलाई समाप्त पार्छ । नेपालमा सरकारमा गएकाहरूले वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन आयोजना गरी साम्राज्यवादीहरूलाई पुँजी लगानी गर्न आग्रह गरे । विदेशी पुँजीले नेपाली पुँजीलाई समाप्त पार्नेछ र देश नवउपनिवेश बनाउनेछ । यसकारण, नेमकिपाले साम्राज्यवादीहरूको पुँजी लगानीको विरोध गरेको हो”, सचिव सुवालले स्पष्ट पार्नुभयो ।
जनताको सेवामा जस्तोसुकै गा¥हो काम गर्न पनि कार्यकर्ताहरू अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले नेपाल क्रान्तिकारी युवा सङ्घले प्रकाशित गरेको ‘रुसको डिसेम्बर विद्रोह (जारविरुद्ध षड्यन्त्र)’ पुस्तक अध्ययन गरी छलफल कार्यक्रम चलाउन सुझाव दिनुभयो ।
उक्त पुस्तकबारे चर्चा गर्दै उहाँले भन्नुभयो, “झन्डै २०० वर्षअघि विद्रोहबाट रुसमा परिवर्तन ल्याउन चाहने माथिल्लो वर्गका युवा जर्नेलहरूले आफ्नो देशलाई युरोपको हाराहारीमा ल्याउने जोश, जाँगर र उद्देश्यप्रतिको तिनीहरूको निःस्वार्थ प्रतिबद्धताबारे नेपाली पाठक र युवाहरूले शिक्षा लिनु जरुरी छ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले सर्वहारा वर्गको सङ्गठित शक्तिले समाजवादी क्रान्ति सफलतामा पुग्ने निश्चित छ भन्नुभयो ।
वैचारिक र राजनीतिकरूपमा सचेत शक्तिविना क्रान्ति सफल नहुने शिक्षा बेलायतको ‘लुडाइट आन्दोलन’ बाट लिन सकिने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “कार्यकर्ताहरूले अध्ययनलाई जोड दिनुपर्छ; पार्टी प्रकाशनहरू नियमितरूपमा अध्ययन गरी छलफल र अन्तरक्रिया कार्यक्रम चलाउनुपर्छ† पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र माओविचारधाराबारे पोख्त हुनुको साथै पार्टी कार्यक्रमबारे जानकार हुनैपर्छ ।”
क्रान्तिको अर्थ आमूल परिवर्तन भएको र क्रान्ति सफल भएपछि राज्यका पुराना संरचनाहरू सबै भङ्ग हुने चर्चा गर्दै केन्द्रीय सदस्य गोसाईले शान्तिपूर्वक र निर्वाचनको माध्यमबाट समाजवाद स्थापना नहुने स्पष्ट पार्नुभयो ।
क्रान्ति सफलतामा पु¥याउन राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति मिल्नु पनि जरुरी छ, उहाँले भन्नुभयो ।
“एमाले, माओवादी र एसले माक्र्सवादी विचार छोडिसकेका छन् । माक्र्सवाद–लेनिनवाद र माओविचारधाराबारे जनतालाई सङ्गठित गर्ने काम नेमकिपाले मात्र गरिरहेको छ” केन्द्रीय सदस्य गोसाईले भन्नुभयो ।
उक्त कार्यक्रममा एनबी दुवाल, लक्ष्मीभक्त लासिवा र कान्छा दुवालले पनि बोल्नुभएको थियो ।