कम्युनिस्ट नामले होइन कामले हुनुपर्छ


कम्युनिस्ट नामले होइन कामले हुनुपर्छ

भक्तपुर, २९ वैशाख । “क्रान्तिबिना कामदार जनताको राज्य सत्ता नआउने मानव समाजको इतिहासको अध्ययनबाट थाहा हुन्छ । श्रमिकको राज्य सत्ता अर्थात् समाजवादी व्यवस्थामा मात्र श्रमको कदर हुन्छ । यसको लागि मजदुर र किसानहरू सङ्गठित भएर क्रान्तिको परिस्थिति तयार गर्नुपर्ने हुन्छ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले विश्व सर्वहारावर्गका महान् गुरु कार्ल माक्र्सको २०६ औँ जन्म दिवसको अवसरमा आयोजित प्रवचन कार्यक्रममा राख्नुभएको हो । उहाँले देशका उद्योग कलकारखानाहरू निजीकरण गरी ध्वस्त बनाएको उल्लेख गर्दै स्वदेशमा नै उत्पादनमा ध्यान दिनुको सट्टा कमिसनको लोभमा परी भारतबाट आयात गरिरहेकोले देश परनिर्भर भइरहेको हो भन्नुभयो ।
स्वदेशी जनताको पुँजी परिचालन नगरी विदेशी पुँजी लगानी गर्ने, नेपाली युवाहरूलाई विदेशीको दास र नोकर बनाउनुले सरकार विदेशी दलाल साबित भएको उल्लेख गर्दै सचिव सुवालले कर्मचारीहरूलाई तलब खुवाउन नसक्नु आर्थिक सङ्कटको लक्षण हो भन्नुभयो । सरकारले सन् १९५० को असमान सन्धि खारेज गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सीमा अतिक्रमणको विरोध नगर्नु र भारतीय एकाधिकार पुँजीमा फस्नु भनेको सरकार भारतीय दलाल साबित हुनु हो भन्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवं भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले कार्ल माक्र्सको जीवनीको चर्चा गर्दै असल र इमानदार कार्यकर्ताहरूले सङ्कटको समयमा पनि विचलित नभई साथ दिइरहनुपर्नेमा जोड दिनुभयो ।
नेपाल मजदुर किसान पार्टी २ वडा समितिका अध्यक्ष रत्नकाजी नातरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका लक्ष्मीभक्त लासिवाले कम्युनिस्टहरू अन्धविश्वासी नहुने उल्लेख गर्दै देश र जनताको सेवालाई आफ्नो धर्म ठान्छन् भन्नुभयो ।
प्रवचन कार्यक्रममा जीपी लासिवाले विश्वका घटनाहरूलाई द्वन्द्ववादी दृष्टिले हेर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

 

पार्टी गतिविधिहरु
समाचार