पुँजीवादी पार्टीहरूको राजनीति फोहोर नै हुने हुँदा यसको खण्डन जरुरी
भक्तपुर, ५ जेठ । नेपाल मजदुर किसान पार्टी ९ वडा समितिको प्रथम सम्मेलन शनिबार सम्पन्न भयो । सम्मेलनबाट कृष्णभक्त लवजुको अध्यक्षतामा १७ सदस्यीय ९ वडा समिति गठन भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले नयाँ नेतृत्वले नयाँ पुस्तालाई बाटो देखाउनुपर्नेमा जोड दिनुभयो । उहाँले आलोचना, आत्मालोचना, समीक्षा, सिंहावलोकन कम्युनिस्ट पार्टीको हतियार हुने धारणा राख्दै कमीकमजोरीसँग कहिल्यै डराउन नहुने बताउनुभयो ।
उहाँले कामदारवर्गको हकहितमा पार्टी स्थापना गर्नु निकै चुनौतीपूर्ण भए पनि बहुसङ्ख्यक जनताको पक्षमा निरन्तर सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले संसारका देशमा अमेरिकाले आतङ्क मच्चाएको चर्चा गर्दै अमेरिकाले शान्ति नचाहेको बताउनुभयो ।
उहाँले नेपालमा सत्तासीन पार्टीहरूले गलत कार्यलाई उत्साहित गरिरहेको बताउनुभयो ।
पार्टी केन्द्रीय सदस्य एवं ९ वडा अध्यक्ष रवीन्द्र ज्याख्वले दिमागलाई बलियो, धारिलो र अब्बल बनाउन सम्मेलनको महत्व हुने बताउँदै पार्टीले विगतमा किसान र मजदुरको जीवनस्तर उकास्न गरेको कार्यको मूल्याङ्कन गर्दै पार्टी अगाडि बढेको स्पष्ट पार्नुभयो ।
उहाँले अहिलेको पुस्तालाई विगतका पार्टी कार्यकर्ताको योगदानबारे जानकारी दिनुपर्ने र उनीहरूको जीवनस्तर उकास्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । पार्टीले राम्रो संस्कार सिकाएकै कारण पार्टी राम्रो बनेको चर्चा गर्दै उहाँले अबको नयाँ पुस्तालाई राम्रै संस्कार आवश्यक भएको बताउनुभयो ।
केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सृजना सैँजुले चीन र अमेरिकाबिच व्यापार युद्धलगायतका क्रियाकलाप गरे पनि चीनको विकासलाई पछि पार्न नसकेको बताउनुभयो । चीनले विचारको राजनीति गरेकै कारण अगाडि बढेको उहाँले बताउनुभयो । उहाँले अमेरिकी साम्राज्यवाद पतनको सङ्घारमा पुगेको धारणा राख्दै उहाँले चीनले लिएको विचारको कारण विश्वमै अघि बढेको बताउनुभयो ।
पार्टी नगर समिति भक्तपुरका अध्यक्ष नारायणबहादुर दुवालले साङ्गठनिक संरचनाबारे स्पष्ट पार्दै जनताको सेवा गर्दा व्यक्तिगतरूपमा नोक्सान हुनसक्ने बताउनुभयो । उहाँले माक्र्सवाद, लेनिनवाद र माओत्सेतुङ विचारधाराअनुसार पार्टी अगाडि बढ्ने भएकोले नियमित अध्ययनको आवश्यकता रहेको बताउनुभयो ।
भक्तपुरका हरेक क्षेत्रको विकास राजनीतिक चेतनास्तरकै कारण भएको बताउँदै उहाँले पार्टीले लिएको विचार र सिद्धान्त सबैबिच पु¥याउनुपर्ने बताउनुभयो ।
नेक्रामहिला सङ्घका प्रतिनिधि एवं भक्तपुर नगरपालिकाका कार्यपालिका सदस्य छोरीमैया सुजखुले नेमकिपाले गरेको कामहरूबारे जानकारी दिँदै कामदारवर्गको हकहितमा सधैँ समर्पित रहेको बताउनुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष एवं ९ वडा पार्टी समितिका उपाध्यक्ष ज्ञानसागर प्रजापतिले पार्टीको विधान, सिद्धान्त र विचारमा अडान कायम गर्न सके मात्र पार्टी रहने बताउनुभयो । उहाँले जनतालाई राजनीतिक चेतना दिएर मात्रै भोट मागेको बताउँदै देशलाई स्पष्ट बाटो देखाउने काम नेमकिपाले गरेको स्पष्ट पार्नुभयो ।
आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा रामेश्वरी कोजु, अन्जु ग्वाछा, नातिभाइ ह्योम्बालगायतले बोल्नुभएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा प्रशिक्षण दिँदै पार्टी सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले सडक र सदनमा पार्टीले गरेको सङ्घर्षबारे स्पष्ट पार्दै देशैभर युवा विद्यार्थी पुग्नुपर्ने र वास्तविक सन्देश पु¥याएर पार्टीको विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “सरकारमा गएका दलहरूको काम कारबाही देखेर कतिपय मानिसहरू ‘राजनीति फोहोर खेल’ भएको दाबी गर्छन् । राजनीति कहिल्यै फोहर हुँदैन । हो, पुँजीवादी राजनीति फोहर हुन्छ । पुँजीवादी पार्टीहरू सिद्धान्तहीन निर्वाचन र सत्ता गठबन्धन गर्छन् । यसकारण, राजनीतिको नाममा फोहरी खेल हुनु आश्चर्यको विषय होइन । एक जना सचिवले सिंहदरबार भ्रष्टाचारको अखडा भनेका थिए । यसको दोषी शासक दलहरू नै हुन् ।”
सचिव सुवालले भन्नुभयो, “नेपालमा २००७ सालको पुँजीवादी क्रान्ति, २०१७ सालको राजा महेन्द्रको निर्दलीय कदम भारतीय एकाधिकार पुँजीको सहयोगमा भएको थियो । २०४६ सालको बहुदलीय व्यवस्था पुनःस्थापना र २०६२ सालको गणतान्त्रिक आन्दोलनपछि शासक दलहरूले देशमा आर्थिक विकास गर्नुको सट्टा देशको अर्थतन्त्र भारतीय एकाधिकार पुँजीको कब्जा गर्न दिए ।”
नेमकिपाले देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने राजनीतिलाई अगाडि बढाउँदै आएको चर्चा गर्दै उहाँले भन्नुभयो, “नेमकिपा नभएको भए देश विदेशी पुँजीको प्रभाव अझै बढ्ने थियो । काठमाडौँमा मात्र सीमित आन्दोलनले व्यापक जनताको हित गर्दैन । यसकारण, नेमकिपाले अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता र युक्रेनमा रुसविरुद्धको छद्मयुद्ध तथा प्यालेस्टिनमा इजरायली फासीवादको जातीय नरसंहार र भूमि कब्जाको विरोधमा ४० भन्दा बढी जिल्लामा विरोध जुलुस र सभा गरी जनताको राजनीतिक चेतनास्तर माथि उठाउने काम ग¥यो ।”
सचिव सुवालले भन्नुभयो, “समाजवादमा उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण हुने हुँदा ८ घण्टाको काम, ८ घण्टाको व्यायाम र मनोरञ्जन तथा ८ घण्टाको आराम (सुत्ने) व्यवस्था हुन्छ । पुँजीवादमा यस्तो व्यवस्था सम्भव छैन ।”
“औद्योगिक विकासपछि पुँजीपतिवर्ग र मजदुरवर्ग अस्तित्वमा आयो । पुँजीपतिवर्गले आफ्नो सेनाको बलमा सामन्तवाद समाप्त पा¥यो । यसकारण, माक्र्स एङ्गेल्सले पुँजीपतिवर्गले जुन हतियारबाट सामन्तवादको अन्त्य ग¥यो त्यही वर्गलाई समाप्त पार्ने निष्कर्ष दिनुभयो । यसकारण, पुँजीपतिवर्गले माक्र्स–एङ्गेल्सलाई आँखाको धुलोजस्तै ठानेको छ”, उहाँले स्पष्ट पार्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “पार्टीले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे जानकार योग्य नयाँ पुस्ता तयार गर्नु जरुरी छ । यो काममा पार्टीका सदस्यहरू समर्पित भएर राख्नु जरुरी छ । जनताका छोराछोरीहरूको सेवा नै अन्तिम कर्तव्य ठान्नुपर्दछ ।”
संसद्मा शासक दलहरूबिच सत्ताको लुछाचुँडीको सङ्घर्ष भइरहेको छ । यो संसद्ले व्यापक जनताको हित हुनेछैन । चुनाव नयाँ जनमत लिने एक प्रजातान्त्रिक उपाय हो । यसलाई प्रजातन्त्रवादीहरूले अस्वीकार गर्न मिल्दैन । पुँजीपतिवर्गले आईपीओ सेयर निष्काशनमा आम जनतालाई ठगिरहेकोतर्फ सबै सचेत हुनु आवश्यक छ । सहकारी ठग सबैलाई कारबाही हुनु जरुरी छ, उहाँले भन्नुभयो ।
केन्द्रीय समितिका सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कम्युनिस्टका गुणहरूको बारेमा स्पष्ट पार्दै पार्टी अनुशासनमा सबै पार्टी सदस्य बस्नुपर्ने बताउनुभयो ।
व्यक्तिगत स्वार्थ र साम्प्रदायिकताभन्दा माथि उठेर देश र जनताका कुरामा पहिलो प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । राजनीतिकरूपमा सचेत र अध्ययनशील व्यक्ति कहिल्यै विचलित नहुने बताउँदै उहाँले अन्य पार्टीमा विचलन आइरहेको बताउनुभयो ।