विदेशी पुँजीसँग सेना आउने हुँदा देश उपनिवेश बन्ने
भक्तपुर, ११ जेठ । नेपाल मजदुर किसान पार्टी वडा नं. ४ एकाइ समितिको प्रथम वडा सम्मेलन शुक्रबार एक समारोहबिच सम्पन्न भयो ।
सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले प्रशिक्षण दिँदै भन्नुभयो, “ राजनीति देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने मूल नीति हो । राजनीतिमा लागेकाहरू त्याग, तपस्या र बलिदानको लागि समर्पित हुनु आवश्यक छ । सबैको हितमा लाग्नु जरूरी छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले राजनीतिमा लागेकाहरू बिचलित हुन नहुने विषय चालीस वर्ष अगाडि नै एउटा पुस्तक लेख्नुभएको थियो । पार्टीका सदस्य र शुभेच्छुकहरूले पार्टी प्रकाशनहरू अध्ययन गर्नुपर्छ । पार्टी प्रकाशन अध्ययनले कार्यकर्ताहरू सिद्धान्तप्रति स्पष्ट हुन मद्दत गर्छ ।”
उहाँले भन्नुभयो, “सरकारमा गएका दलहरू सिद्धान्तहीन निर्वाचन गठबन्धन र सत्ता गठबन्धनमा लागेको हुँदा राजनीति फोहोर देखिएको हो । आमसञ्चारमा दैनिकरूपमै भ्रष्टाचारका समाचार प्रकाशित भइरहेको छ । नेकाले गृहमन्त्री रवि लामिछानेविरूद्ध सहकारी संस्थाको रकम अपचलनको आरोप लगाई संसद् अवरूद्ध पार्दै छ । यसको जवाफमा गृहमन्त्री लामिछानेले नेकालाई देशको सूचना विदेशीलाई दिने, टीकापुरको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउने, रातो राहदानी दुरूपयोग गर्नेलगायत आरोप लगाउँदै छन् । सरकारले आरोप लगाउने होइन दोषीविरूद्ध फौजदारी अपराधको मुद्दा सुरू गर्ने हो ।”
२०४६ सालपछि आर्थिक उदारीकरणको नाममा नेकाको सरकारले सार्वजनिक संस्थान निजीकरण ग¥यो । व्यापक जनताको हितको निम्ति सामाजिकीकरण नै जरूरी छ । समाजवादउन्मुख अर्थतन्त्रको अर्थ सार्वजनिक संस्थान कौडीको मोलमा बिक्री गर्ने र विदेशी पुँजी ल्याउने होइन । विदेशी पुँजीसँगै विदेशी सेना आउने र देश उपनिवेश हुनेछ, देशभक्तहरूको पुँजीलाई विदेशी पुँजीले निल्नेछ, उहाँले स्पष्ट पार्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “पुँजीवादीहरूले ३–४ सय वर्षअगाडि नै हतियारसहितको सेना लिएर सामन्तवर्गलाई समाप्त पारेका थिए । त्यतिबेला साथ दिएका मजदुरवर्गलाई पुँजीपतिवर्गले सशस्त्र दमन ग¥यो । यसकारण, पुँजीपतिवर्गले जुन उपायबाट सामन्तवर्गलाई समाप्त पा¥यो त्यही उपायद्वारा मजदुरवर्गले पुँजीपतिवर्गलाई जित्ने स्वाभाविक हो ।”
नयाँ पुस्तालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा जानकार बनाई राजनीतिमा उत्साहित गर्नु जरूरी भएको आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “जो राजनीतिमा लाग्दैन त्यसको हातमा केही नहुने अवस्था आउँछ । यसकारण, नयाँ पुस्तालाई विद्यालय तहदेखि विषयवस्तु र राजनीतिबारे पोख्त बनाउनु जरूरी छ ।”
उहाँले भन्नुभयो, “युवा र कच्चा सामान निर्यात गर्ने देश विकास हुँदैन । यसकारण, नेपाली युवालाई स्वदेशमा रोजगारी दिएर देशलाई आत्मनिर्भर बनाउनु जरूरी छ । यहाँको उर्वर जग्गा बाँझो राखेर दाल, चामल, तरकारी भारतबाट आयात गर्नु देशघाती काम हो ।”
सांसद सुवालले भन्नुभयो, “नेपाल सरकारले संयुक्त राष्ट्र सङ्घमा युक्रेनको पक्षमा मत दिनु युद्धको समर्थन गर्नु हो । अमेरिकी सरकारको प्रतिरक्षा मन्त्रीले युक्रेनलाई हतियार बेचेर अमेरिकी हतियार उद्योगीहरूलाई नाफा भएको सार्वजनिक गरे । अमेरिकी सरकारले इजरायली फासीवादलाई हतियार सहयोग दिएर प्यालेस्टिनीहरूको जातीय संहार भूमि कब्जा गराएको हो । यसकारण, विश्वका न्यायप्रेमी जनताले प्यालेस्टिनको पक्षमा आवाज उठाइरहेका हुन् ।”
यसअघि नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले स्थानीय भैरव बाजा खलः समूहका कलाकारहरूको मालिं बाजाको धुनमा उक्त सम्मेलनको उद्घाटन गर्नुभएको हो ।
सम्मेलनमा अतिथि गोसाईले देश र जनताको निम्ति अग्रज नेता कार्यकर्ताले गरेको योगदान सदा स्मरणीय रहने चर्चा गर्दै देशको स्वाधीनता र समाज परिवर्तनमा अग्रजहरूले गरेको योगदानबारे चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, “शासक दलका नेता कार्यकर्ताहरूले प्रजातान्त्रिक अभ्यास गरेका भए देश अहिलेको राजनीतिक अस्थिरताबाट गुज्रनुपर्ने थिएन । शासक दलको अकर्मण्यताको कारण वैदेशिक ऋण २३ खर्ब ९७ अर्ब पुगेको छ र देश टाटपल्टिने अवस्थामा पुगेको छ । सिंहदरबारमा गएर पालैपालो शासन गर्ने शासक दलहरूले कम्युनिस्टको खोल ओढेर जनताको आँखामा धुलो छ्याप्ने काम गरिरहेको हुनाले कामगरी खाने जनता एकजुट भई पुँजीवादविरुद्धको सङ्घर्षलाई निरन्तरता दिनुपर्छ ।”
पँुजीवादी व्यवस्थाको विकल्प समाजवाद भएको उल्लेख गर्दै उहाँले शासक दलका नेता, मन्त्रीहरू भ्रष्टाचार र कमिसनमा डुबेको हुनाले देश भ्रष्टाचारमा बदनाम भइरहेको बताउनुभयो ।
समाजवादी देश चीन आज अर्थतन्त्रमा विश्वको पहिलो स्थानमा उक्लिरहेको कारण साम्राज्यवादी देशहरूको स्थिति नाजुक बन्दै जाने आकलन गर्दै उहाँले पार्टी प्रकाशन ‘श्रमिक’ र ‘मजदुर’ को नियमित अध्ययन गरी नयाँ पुस्तालाई राजनीतिकरूपमा सचेत र सङ्गठित गर्न कार्यकर्ताहरू क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेश सांसद सृजना सैँजूले विगतमा प्रौढ कक्षा हुँदै हाल विश्वविद्यालय तहसम्मको कक्षा सञ्चालन गर्ने कुरा आफैमा सकारात्मक पक्ष हो भन्नुभयो ।
अतिथि सैँजूले पश्चिमा साम्राज्यवादी देशहरूसित नझुकीकन देशको स्वतन्त्रताको निम्ति लड्दै आएका इरानी राष्ट्रपति इब्राहिम रइसीको हेलिकप्टर दुर्घटनामा इजरायली षड्यन्त्रको आशङ्का रहेको बताउँदै पँुजीवादी अर्थतन्त्र र समाजवादी अर्थतन्त्रबिच लडाइँ जारी रहेको उल्लेख गर्नुभयो ।
नेमकिपा भनसका अध्यक्ष नारायणबहादुर दुवालले देशका नगरपालिकाहरूमध्ये भक्तपुर नगरपालिका देशकै उत्कृष्ट नगरपालिका हुनुमा नेमकिपाका अग्रजहरूकै योगदानको कारण सम्भव भएको बताउँदै कामदारवर्गका जनताको सांस्कृतिक स्तर उकास्न पार्टीले उल्लेखनीय भूमिका निर्वाह गर्दै आइरहेको चर्चा गर्नुभयो । उहाँले प्यालेस्टिनी जनतामाथि इजरायली हमलाको निन्दा एवम् विरोध संसारभर भइरहेको चर्चा गर्दै नेपालमा नेमकिपाबाहेक अरू कसैले नबोलेको स्पष्ट पार्नुभयो ।
नेमकिपा भनसका सदस्य एवम् भ.न.पा. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले किसान र मजदुरहरूको समस्या समाधानका लागि नेमकिपा अनवरतरूपमा लागिरहेको बताउँदै शोषितपीडित जनतालाई अन्याय अत्याचारबाट मुक्ति दिलाउन कामदार जनता एक हुनुपर्ने, पार्टीको आह्वानमा हुने आन्दोलन र सङ्घर्षहरूमा निरन्तर लाग्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
नेमकिपा ४ वडा पार्टी समिति अध्यक्ष पशुपति प्रजापतिको सभापतित्वमा सम्पन्न भएको सम्मेलनको उद्घाटन सत्रमा नेमकिपा ४ वडा समितिका न्हुछेँराम भेले, कृष्णसुन्दर प्रजापति र कृष्णलक्ष्मी दुवाललगायतले बोल्नुभयो ।