nwpp@ntc.net.np +1 6610026
‘विदेशी पुँजीसँगै विदेशी सेना पनि आउँछ’

भक्तपुर, १२ जेठ । नेपाल मजदुर किसान पार्टी भनपा १ नं. वडा समितिको आयोजनामा शनिबार प्रथम वडा सम्मेलन सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभा सांसद प्रेम सुवालले भन्नुभयो, “विदेशी पुँजीका समर्थक शासक दलहरू नेपाली जनताको हितका निम्ति होइनन् । अहिलेको यो पुँजीवादी प्रजातन्त्रले विदेशी पुँजीलाई ल्याउनु अस्वाभाविक होइन । नेपाल मजदुर किसान पार्टीले यो पँुजीवादी प्रजातन्त्रको नाउँमा जनताको प्रजातन्त्र जरुरी भएको विषय राख्दै छ । जनताको प्रजातन्त्रमा राष्ट्रिय अर्थतन्त्रको विकास गरिन्छ, विदेशी पुँजीलाई रोक लगाइन्छ । विदेशी पुँजीले नेपालीलाई शोषण गरी नाफा विदेश लैजान्छ । विदेशी पुँजीसँगै विदेशी सेना पनि आउँछ र देश उपनिवेश बन्छ । यसकारण, विदेशी पुँजीको विरोध गर्नु जरुरी छ । सर्त नभएको विदेशीको मानवीय सहयोगलाई स्वागत गर्न आपत्ति हुँदैन ।”
नेमकिपाले कोरेको समाजवादमा उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण हुनेछ, योग्यताअनुसारको काम र कामअनुसारको ज्याला हुनेछ, देशभक्त र इमानदार पुँजीपतिवर्गको समस्या समाधान गरिनेछ, पुँजीवादको विकृतिलाई चरणबद्ध हटाइनेछ, उहाँले स्पष्ट पार्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “नेमकिपाले उठाएको साम्यवादमा वर्गविहीन र शोषणविहीन हुने, समाज बुद्धिजीवीकरण हुने, शारीरिक र बौद्धिक श्रम, मजदुर र किसान, गाउँ र सहरबिच भेद नहुने, दबाउनुपर्ने वर्ग नहुँदा राज्यविहीन हुने, ज्ञान, विज्ञान, प्रविधि, साहित्य, कलाको विकास हुनेछ । यस्तो समाजवाद ल्याउन एक ऐतिहासिक युग लाग्नेछ । कसैको मनोगत इच्छाले मात्र समाजमा परिवर्तन आउँदैन । परिवर्तनको निम्ति घरेलु एवम् छिमेकी वा अन्तर्राष्ट्रिय परिस्थिति महत्वपूर्ण हुन्छ । यसकारण, सम्पूर्ण कार्यकर्ताहरू जनताको राजनीतिक र सांस्कृतिकस्तर माथि उठाउन लागिपर्नु आवश्यक छ ।”
उहाँले भन्नुभयो, “नेका, एमाले, माओवादीले समाजवादको नाममा जनतालाई धोका दिइरहेका छन् । शासक दलहरूको नाम फरक छ तर, काम एउटै पुँजीपतिवर्गलाई रिझाउने नै भइरहेको छ । २०४६ सालपछि नेकाको सरकारले राज्यले उद्योग–व्यापार गर्न नहुने भनी उदारीकरणको नाममा सार्वजनिक संस्थानहरू कौडीको मोलमा बिक्री ग¥यो । नेका सामन्ती र पुँजीवादी दृष्टिकोण भएको विदेशी पुँजीको सेवा गर्ने पार्टी साबित भइरहेको छ । संसदीय बाटोबाट समाजवादको नारा दिने एमालेको जनताको बहुदलीय जनवाद बर्नस्टिनको संशोधनवादी बाटो हो । माओवादी अराजकतावादले नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर पारेको छ । माओवादीको कामले यो भारतीय विस्तारवादको ट्रोजन हर्स साबित हुन्छ । एमाले र माओवादी दुवैको व्यवहार ‘भाइ काङ्ग्रेस’ भइरहेको छ ।”
“सचिव सुवालले भन्नुभयो, “इटालीका मजदुर हुँदै प्रधानमन्त्री भएका मुसोलिनीले पनि समाजवादको नारा दिएका थिए । सामन्त र पुँजीपतिवर्गको सहयोगमा ‘इटालीको गौरव पुनःस्थापना’ अफ्रिकी देश लिवियामा आक्रमण गरे र सोभियत सङ्घको समाजवादको विरोध गरे ।”
उहाँले भन्नुभयो, “एक गरिब परिवारमा जन्मेका जर्मनीका हिटलर मजदुर हुँदै सेनामा भर्ना भई पुँजीपतिवर्गको सहयोगमा राष्ट्रिय समाजवादी जर्मन श्रमिक पार्टी स्थापना गरे । सोभियत सङ्घको समाजवादको विरोध गरेका हिटलरले सन् १९२३ मा प्रधानमन्त्री भएर जर्मनियाली शुद्ध आर्यलाई संसारमा शासन गर्ने अधिकार भएको दाबी गरी कम्युनिस्ट र यहुदीविरुद्ध लागे । हिटलरले आफ्नै गुप्तचरलाई जर्मनीको संसद् भवन राइखस्टागमा आगो लगाउन पठाई कम्युनिस्टहरूलाई दमन गरेका थिए ।”
उहाँले भन्नुभयो, “जनताको राजनीति गर्दा अनेक दुःख, कष्ट र हन्डर सामना गर्नुपर्ने हुन्छ । यी सबैबारे पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले चालीस वर्ष अगाडि नै ‘राजनीतिक कार्यकर्ता बन्ने भाइबहिनीलाई चिठी’ पुस्तकमा उल्लेख गर्नुभएको छ । कार्यकर्ताहरू अप्ठ्याराहरूलाई सामना गरी उत्साहका साथ देश र जनताको सेवामा लाग्नु आवश्यक छ । दुई सय वर्षअगाडि युरोपको बेलायत, जर्मनी, फ्रान्समा अध्ययन गरी फर्केका सेनाका जर्नेल, कर्नेल र खान्दानीवर्गका छोराछोरीहरू साइबेरियाको निर्वासनलाई सामना गरी सामन्तवादविरुद्ध दृढताका साथ लडेका थिए । संसारको मजदुर र कम्युनिस्ट आन्दोलनबाट सिकेर सबै कार्यकर्ताहरू पार्टीको सिद्धान्तअनुसार जनताको सेवामा लाग्नु आवश्यक छ ।” नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पार्टी भनेको विचार र सिद्धान्तको आधारमा राजनीति गर्ने सङ्गठन हो भन्नुभयो । पुँजीपति वर्गका नेताका छोराछोरीहरूले पनि क्रान्तिकारी शिक्षा पाएको खण्डमा कम्युनिस्ट हुनसक्ने विचार उहाँले राख्नुभयो ।
भक्तपुर नगर आजको अवस्थासम्म आइपुग्नुको मुख्य आधार नेपाल मजदुर किसान पार्टीले अँगालेको समाजवादी विचार भएको जानकारी दिनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गासाईले कुनै पनि सङ्गठनमा सदस्यता प्राप्त गरेपछि झूटो बोल्न नहुने, असल र अनुशासित हुनुपर्ने बताउनुभयो । उहाँले आफूले आम्दानी गरेको केही प्रतिशत पार्टीलाई लेभीको रूपमा बुझाउनुपर्ने बताउनुभयो । असल कार्यकता कुनै पनि स्थानमा जाँदा पार्टीको विचार प्रसार गर्नुपर्ने र गलत कुराको खण्डन गर्नुपर्ने उहाँले बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशका सांसद सृजना सैजूले बहुदलको स्थापना भएपछि सरकारमा गएका विभिन्न राजनीतिक दलले भ्रष्टाचार र आफ्नो दुनो सोझ्याउँदा आज हरेक नेपाली नागरिकको काँधमा रु. ८० हजार ऋण भएको जानकारी दिनुभयो । उहाँले अमेरिकीले साम्राज्यवादी नीतिले गर्दा विश्वका मुलुकहरू अनावश्यक युद्धको चपेटामा फसिरहेको बताउनुभयो ।
उहाँले इजरायलले प्यालेस्टिनमाथि गरेको हमला नरसंहार भएको बताउनुभयो ।
उक्त कार्यक्रममा नेमकिपा भनसका अध्यक्ष नारायणबहादुर दुवाल, भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, भनपा वडा नं. १० का वडा सदस्य जितेन्द्र मुनंकर्मी र भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले पनि बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार