भक्तपुर, १२ जेठ । नेपाल मजदुर किसान पार्टी प्रथम ८ वडा पार्टी सम्मेलन शनिबार एक समारोहबिच सम्पन्न भयो ।
सम्मेलनको बन्द सत्रमा प्रशिक्षण दिँदै पार्टीका सचिव प्रेम सुवालले भन्नुभयो, “भारतीय एकाधिकार पुँजीले नेपालका शासक दलहरूलाई आफ्नो प्रभावमा राख्दै आएको छ । यसकारण, भारतमा जनताको सरकार गठन नभएसम्म नेपालमा मौलिक परिवर्तन आउन सजिलो हुनेछैन । परिवर्तनको निम्ति घरेलु एवम् छिमेकी वा अन्तर्राष्ट्रिय परिस्थिति महत्वपूर्ण हुने भन्नु यही हो ।”
उहाँले भन्नुभयो, “निर्दलीय पञ्चायती व्यवस्थाले नेपाली काङ्ग्रेसलाई ‘अराष्ट्रिय तत्व’, ‘विदेशी दलाल’ को आरोप लगाएको थियो । २०४६ सालमा बहुदलीय व्यवस्थालगत्तै सरकारमा गएको नेपाली काङ्ग्रेसले तीन प्रतिशतको प्रावधान राखेर नेमकिपालाई ‘राष्ट्रिय मान्यता नभएको’ आरोप लगायो । यो प्रावधानलाई एमाले र माओवादीले पनि समर्थन गरे ।”
उहाँले भन्नुभयो, “साम्राज्यवादीहरूले संसारका गरिब देशको प्राकृतिक स्रोत र बजार कब्जा गर्न युद्ध गर्दै छन् । इराक, लिविया, युक्रेन, प्यालेस्टिनको तेल कब्जा गर्न नै साम्राज्यवादीहरूले आक्रमण गरेका, गराएका हुन् ।”
सचिव सुवालले भन्नुभयो, “कम्युनिस्ट घोषणापत्रमा माक्र्स–एङ्गेल्सले एक व्यक्तिबाट अर्को व्यक्तिमाथिको शोषण अन्त्य भए एक देशद्वारा अर्को देशमाथि हुने शोषण अन्त्य हुने बताउनुभएको छ । कम्युनिस्ट घोषणापत्रमा उल्लेख छ– साम्यवादी (कम्युनिस्ट) ले कसैलाई पनि सामाजिक वस्तुहरूको उपभोगबाट वञ्चित गर्दैन, मात्र एकले अर्कोलाई शोषण गर्न दिँदैन ।”
उहाँले भन्नुभयो, “राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे जानकारीमा राखी कार्यकर्ताहरूले नयाँ पुस्तालाई तालिम दिनु जरुरी छ । अहिलेदेखि नयाँ पुस्तालाई साम्राज्यवादी युद्धको विरोध गर्न सिकाउनु आवश्यक छ ।”
त्यस्तै प्रशिक्षण भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले पनि दिनुभएको थियो ।
उक्त सम्मेलनको उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले जगाती भीमसेन बाजा खलःको धिमाय्को धुनमा गर्नुभएको हो ।
कार्यक्रममा केन्द्रीय सदस्य गोसाईले समाजमा परिवर्तन गर्न राजनीतिक सङ्गठन र आन्दोलन आवश्यक भएको हुँदा कार्यकर्ताहरूले जनतालाई आन्दोलन र सङ्घर्ष गर्नेतर्फ प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
जनतालाई सचेत, सङ्गठित र परिचालन गर्न कार्यकर्ताहरू जनतामाझ निरन्तर खटिरहनुपर्ने खाँचो औँल्याउँदै उहाँले पार्टीमा रहेर काम नगर्ने, देश र जनताको आन्दोलनमा सरिक नहुने तर पार्टीको विरोध गर्ने प्रवृत्ति गलत भएको बताउनुभयो ।
कार्यकर्ताहरूमा व्यापक दृष्टिकोण हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “पार्टी सदस्य बन्न योग्य बनाएर देश र जनताको हितमा लाग्ने सङ्घर्षशील कार्यकर्ता तयार गर्नुपर्छ । भित्री हृदयदेखि नै देश र जनताको सेवा गर्ने असल कार्यकर्ता तयार गर्नुपर्छ । नेमकिपालाई अगाडि बढेको सङ्गठनको रूपमा विकास गर्नुपर्छ । पार्टी सङ्गठन विस्तार गर्न कार्यकर्ताहरू जिल्ला जिल्लामा जानुपर्छ ।”
नेमकिपाको उद्देश्य र विचार जो जहाँ बसे पनि रहे पनि जनतामाझ पु¥याउनुपर्ने उल्लेख गर्दै उहाँले जनताको मनमा छाप पार्ने गरी सेवा गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कुनै कार्यकर्ताले पार्टी आदेश, नीति र निर्णयअनुसार कति काम गरिरहेको छ भन्ने कुरामा स्वमूल्याङ्कन गर्नुपर्ने खाँचो औँल्याउँदै उहाँले कमी कमजोरी हटाउन आलोचना गर्नुपर्छ भन्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य सृजना सैजूले देश र जनताको हितमा राजनीति गर्नु नै नेमकिपाको लक्ष्य रहेको स्पष्ट पार्नुभयो ।
समाजमा व्याप्त रहेको कुरीति, अन्धविश्वास हटाएर आदर्शोन्मुख समाज स्थापना गर्न राजनीतिक क्रान्तिपछि पनि क्रान्तिभित्र क्रान्ति गर्नुपर्ने विचार व्यक्त गर्दै उहाँले विश्वको अर्थतन्त्रबारे चर्चा गर्नुभयो ।
आर्थिक लडाइँ मात्र होइन वैचारिक लडाइँ पनि भइरहेको उल्लेख गर्दै उहाँले संयुक्त राज्य अमेरिकाले संसारमा ध्वंस र युद्ध गरेर आतङ्क मच्चाइरहेको बताउनुभयो ।
संयुक्त राज्य अमेरिकाले भेनेजुयलामा उत्पादन र बजार कब्जा गरेजस्तै नेपालमा भारतले देशको जलस्रोत, कलकारखाना कब्जा गरिरहेको बताउनुभयो ।
अमेरिकाले विश्वमा अरु देशलाई जुधाएर हतियार बेची आयआर्जन गरिरहेको चर्चा गर्दै उहाँले युक्रेन र रुसबिचको युद्ध र इजरायल र प्यालेस्टिनबिचको युद्ध अमेरिकाकै कारण भइरहेको बताउनुभयो ।
साम्राज्यवादी देशहरूको विरोधमा विकासोन्मुख देशहरू एकगठ भइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यो एक्काइसौँ शताब्दी साम्राज्यवादको पतन र समाजवादको युग भएको नेमकिपा अध्यक्ष रोहितको भनाइ स्मरण गर्नुभयो ।”
नेमकिपा नगर समिति भक्तपुरका अध्यक्ष नारायणबहादुर दुवालले पार्टीको सिद्धान्त र विचार जनतामाझ पु¥याउन, सङ्गठन विस्तार गर्न, नयाँ पुस्तालाई सङ्गठनप्रति अभिप्रेरित बनाउन र जनवर्गीय सङ्गठन परिचालन गर्न वडा सम्मेलन भइरहेको बताउनुभयो ।
कामदारवर्गको सरकार नआएसम्म सङ्घर्ष भइरहने विचार व्यक्त गर्दै उहाँले कुन दल सही या गलत हो भन्ने थाहा पाउन दलको नाम होइन काम हेर्नुपर्छ† भनाइ होइन व्यवहार हेर्नुपर्छ भन्नुभयो ।
क्रान्तिको परिस्थिति तयार नभएको बेला कामदार जनतालाई राजनीतिक चेतना दिन उनीहरूको हितमा काम र विकास गर्न निर्वाचनलाई उपयोग गरिरहेको चर्चा गर्दै उहाँले देशघाती, जनविरोधी सन्धि सम्झौता गर्ने दललाई मतदान गरे आफू पनि जनविरोधी हुने हुँदा देश र जनताप्रति समर्पित दलका उम्मेदवारलाई मतदान गर्नुपर्नेमा जोड दिनुभयो ।
कम्युनिस्टले सम्पत्तिको होइन सीप र योगदानको कदर गर्ने स्पष्ट पार्दै उहाँले कम्युनिस्टको सिद्धान्त र विचार जनताको बस्ती बस्तीमा पु¥याउने काम कार्यकर्ताको हो भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष लक्ष्मीनारायण दुवालको सभापतित्वमा भएको सो उद्घाटन सत्रमा भेगीय सेल समितिका इन्चार्जहरू तुल्सीराम ग्वाछा, बलराम प्रजापति र सचिव जितेन्द्र खायमलीले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
जेँला भेगीय इन्चार्ज महेन्द्र खायमलीले धन्यवादज्ञापन गर्नुभयो ।
सम्मेलनमा पार्टी सदस्य संगिता दुवाल र रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।
सम्मेलनले लक्ष्मीनारायण दुवालको अध्यक्षमा १७ सदस्यीय ८ नं. वडा समिति गठन गरेको थियो ।