त्याग, तपस्या र बलिदानको राजनीतिले मात्र आदर्श समाजको निर्माण हुन्छ


भक्तपुर, १६ जेठ । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नेपाल मजदुर किसान पार्टीको प्रथम २ वडा सम्मेलन बुधबार एक समारोहबिच उद्घाटन गर्नुभयो ।
कार्यक्रममा उहाँले भन्नुभयो, “नेमकिपाको तत्कालीन लक्ष्य जनताको प्रजातन्त्र र दीर्घकालीन लक्ष्य समाजवाद र साम्यवाद हो । जनताको प्रजातन्त्रमा राष्ट्रिय अर्थतन्त्रको विकास गरिन्छ, विदेशी पुँजीलाई ठाउँ दिँदैन । समाजवादमा उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण हुन्छ । पुँजीवादको विकृति चरणबद्ध हटाइन्छ । साम्यवादमा शारीरिक श्रम र बौद्धिक श्रम, गाउँ र सहर, मजदुर र किसानको भेद हट्छ । समाज बुद्धिजीवीकरण हुन्छ । विज्ञान, प्रविधि, साहित्य, कलाको विकास हुन्छ । डबाउनुपर्ने वर्ग नहुने वर्गविहीन, शोषणविहीन र राज्यविहीन समाज हुनेछ । यो समाज ल्याउन एक ऐतिहासिक युग लाग्नेछ ।”
उहाँले भन्नुभयो, “त्याग, तपस्या र बलिदानको राजनीतिले मात्र आदर्श समाजको निर्माण हुन्छ । यस्तो समाज निर्माण गर्न देशको घरेलु अवस्थासँगै छिमेकी र अन्तर्राष्ट्रिय अवस्था अनुकूल हुनु जरुरी छ । नेपालमा मौलिक परिवर्तनको निम्ति भारतमा पनि प्रगतिशील र क्रान्तिकारी सरकार आवश्यक हुन्छ ।”
“जर्मनीका हिटलर गरिब परिवारका थिए । ‘राष्ट्रिय समाजवाद’ को नारा दिएर हिटलर सन् १९३३ मा प्रधानमन्त्री भए । आफ्नै गुप्तचरमार्फत संसद् भवनमा आगो लगाउन दिने हिटलरले त्यही निहुँमा कम्युनिस्टहरूलाई दमन गरे”, उहाँले भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “इटालीको मुसोलिनी साधारण मजदुर थिए । सन् १९१७ मा फासीवादी दल स्थापना गरेका मुसोलिनी सन १९२२ मा प्रम भए । रोमको गौरव पुनः स्थापना गर्ने भनी मुसोलिनीले सन् १९३५–३६ मा अफ्रिकाको अनिसियामा आक्रमण गरे भने सन् १९४० मा ग्रीसमा आक्रमण गरे ।”
“नेपालका शासक दलहरू नेपाली काङ्ग्रेस राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नारा दिन्छ, व्यवहारमा निजीकरणमार्फत विदेशी पुँजीको सेवा गर्छ । एमाले संसद्बाट समाजवाद ल्याउने जर्मनीका संशोधनवादी वर्नस्टिनको बाटोमा छ । माओवादी व्यवहारले भारतीय ‘ट्रोजन हर्स’ साबित हुन्छ”, उहाँले स्पष्ट पार्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “पुँजीपतिवर्गले हतियारकै उपायबाट सामन्तवादको अन्त्य गरेको थियो । माक्र्स–एङ्गेल्सले कम्युनिस्ट घोषणापत्रमा पुँजीपतिवर्गको उपायबाटै मजदुरवर्गले पुँजीपतिवर्गलाई समाप्त गर्ने उल्लेख गर्नुभएको छ ।”
उहाँले भन्नुभयो, “एउटा देशको विकासको लागि वित्त, व्यापार, सञ्चार, प्रविधि, राजनीतिक नेता, सेना, कृषि, प्राकृतिक स्रोतको व्यवस्थापन अब्बल हुनु जरुरी छ । नेपालमा शासक दलका नेतादेखि अन्य व्यवस्थापन नहुँदा देश र जनतालाई दुःख भएको हो ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभाका सदस्य सृजना सैंजूले भनपा वडा २ अग्रजहरूको जन्मथलो भएको उल्लेख गर्दै सङ्गठन बलियो नभएसम्म क्रान्ति सफल नहुने चर्चा गर्नुभयो ।
संसारबाट साम्राज्यवाद अन्त्य गरी समाजवादी व्यवस्था स्थापना गर्न सैद्धान्तिक र वैचारिक लडाइँ निरन्तर गरिरहनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले चीन गरिबी उन्मूलन गर्ने विश्वकै पहिलो देश हो भन्नुभयो ।
विश्वका विकासशील देशहरूले साम्राज्यवादी शक्तिलाई परास्त गर्न सक्ने चिनियाँ नेता माओ त्सेतुङको भनाइ स्मरण गर्दै उहाँले अहिलेका विश्वका स्वाधीनताप्रेमी र देशभक्त जनताले साम्राज्यवादी नीतिको विरोध गरिरहेको बताउनुभयो ।
अबको १० वर्षपछि चीन संसारकै बलियो अर्थतन्त्रको देश बन्ने आकलन गरिरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले चीन र अमेरिकाबिच आर्थिक लडाइँमात्र होइन वैचारिक लडाइँ भइरहेको बताउनुभयो ।
नेमकिपा नगर समिति भक्तपुरका अध्यक्ष नारायणबहादुर दुवालले समाज, देश र पार्टीको लागि काम गर्न कार्यकर्ताहरूलाई उत्प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याउँदै कार्यकर्तामा सांस्कृतिक स्तरको विकास गर्दै सन्तानहरूलाई पनि सङ्गठित गर्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपा नगर समिति भक्तपुरका पूर्वअध्यक्ष रवीन्द्र खर्बुजाले प्रतिक्रियावादी सङ्घ संस्थाभित्र पसेर देश र जनताको सेवा गर्ने लेनिनवादी नीतिअनुसार नेमकिपाले निर्वाचनलाई उपयोग गरिरहेको चर्चा गर्नुभयो ।
भनपा वडा न. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले नेमकिपा माक्र्सवाद लेनिनवाद र माओ त्सेतुङ विचारलाई पथप्रदर्शक मानी सिद्धान्त र विचारको राजनीति गरी जनतालाई सचेत र सङ्गठित गरिरहेको विचार व्यक्त गर्नुभयो ।
रत्नकाजी नातरीको सभापतित्वमा भएको सो उद्घाटन सत्रमा मुना बासुकला, गणेशप्रसाद सुवाल, सूर्यबहादुर फाँजू र श्यामसुन्दर मातांले पनि बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार