जनताको समस्या समाधान नगर्ने पुँजीवादी व्यवस्थाको अन्त्य अवश्यम्भावी
काठमाडौँ, १८ जेठ । नेपाल मजदुर किसान पार्टीको केन्द्रीय समितिको बैठक पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा शुक्रबार सुरु भयो ।
बैठकमा प्रशिक्षण दिँदै अध्यक्ष बिजुक्छेँ (रोहित) ले बैठक र सम्मेलनलाई औपचारिकतामा सीमित गर्न नहुने, त्यसो गर्नु संशोधनवाद हुने र संशोधनवाद पुँजीवादी दृष्टिकोण हुने उल्लेख गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनामा पार्टीको दृष्टिकोण महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सहकारीको सिद्धान्तअनुसार सहकारी संस्थाहरूलाई सञ्चालन नगराइएको हुँदा अहिले सहकारीमा सङ्कट देखिएको हो† सहकारी संस्थाहरूमा सङ्कट आउनुमा शासक दलहरू नै दोषी छन् ।”
पार्टी अनुशासनलाई फितलो पार्न नहुने र कार्यकर्ताहरूलाई समयमै सचेत पार्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष बिजुक्छेँले नेपाल मजदुर किसान पार्टी नभए देशको हितमा काम गर्ने पार्टीसमेत नहुने बताउनुभयो ।
पुँजीवादी व्यवस्थामा समाज विकृत हुने भएकोले मजदुर र कम्युनिस्ट आन्दोलन जरुरी भएको उल्लेख गर्दै पार्टी अध्यक्ष बिजुक्छेँले कार्यकर्ताहरू जनताको बिचमा जाने भन्नु नै घर–घरमा पुगेर जनतालाई राजनीतिकरूपले शिक्षित र सचेत बनाउने हो भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “पार्टी सङ्गठन विस्तारको निम्ति कार्यकर्ताहरू जनताको सेवामा निरन्तर लाग्नुपर्छ† मजदुर आन्दोलनसामु पुँजीवादको पराजय निश्चित छ ।”
जनताका शत्रुहरू पार्टीभित्र घुसपैठ हुनेबारे सबै कार्यकर्ताहरू सचेत हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले जातजाति तथा भाषाभाषी मानव सभ्यताको विकासको सिलसिला भएकोले कार्यकर्ताले ती सबैलाई आफ्नै सम्झनुपर्ने र पार्टी कार्यकर्ताहरू अन्धविश्वासमा अलमल नभई क्रान्तिकारी बाटोमा अघि बढ्नुपर्ने आवश्यकता बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “विदेशी पुँजी र साम्राज्यवादीहरूबाट प्रतिगामीहरूलाई सहयोग हुने हुँदा उनीहरूको गतिविधि बढ्नु स्वाभाविक छ । यसतर्फ कार्यकर्ताहरू सचेत हुनु जरुरी छ ।”
पार्टीको योगदान कार्यकर्ताले जनतालाई बताउनुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष बिजुक्छेँले जनताको मत लिएर गएका शासक दलहरूले बहुदल र गणतन्त्रको ३५ वर्षसम्म देश र जनताको हितमा काम गर्न नसकेको विषयमा प्रश्न उठाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “पुँजीवादको विकासले सस्तो ज्यामी पूर्ति गर्न गाउँका मानिसहरूलाई सहरमा बसोबास गराइने यथार्थ हो । सामन्तवादको अन्त्य भएजस्तै जनताको समस्या समाधान नगर्ने पुँजीवादी व्यवस्थाको अन्त्य अवश्यम्भावी छ ।”
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “भारत प्रवासमा ‘बैङ्क डकैती’, ‘गुरिल्ला युद्ध’ लगायत अराजकतावादको विरोध गर्दा पार्टीभित्र घुसेका ‘आतङ्कवादी’ हरू गोली हानी ज्यान मार्ने उद्योगमा ओर्लेका थिए । पार्टी कार्यकर्ताहरू सिद्धान्तमा पोख्त र अनुशासित हुनुपर्छ ।”
बैठकमा पार्टी सचिव प्रेम सुवालले पार्टी केन्द्रीय समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सचिव सुवालले प्रस्तुत गरेको प्रतिवेदनबारे चार समूहमा छलफल भएको थियो । बैठक शनिबारसम्मको लागि स्थगित गरिएको छ ।