अध्यक्ष बिजुक्छेँसँग शाननानका उपमेयरको भेट


अध्यक्ष बिजुक्छेँसँग शाननानका उपमेयरको भेट

भक्तपुर, ९ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग नेपालको उत्तरी छिमेकी देश जनवादी गणतन्त्र चीनको सिचाङ (तिब्बत) को शाननान नगरपालिकाका उपमयेर मु योङ वनको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले बुधबार भेटघाट ग¥यो ।
अध्यक्ष बिजुक्छेँले उतिबेला काठमाडौँ उपत्यकावासीलाई तिब्बती भाषा अहिलेका पुस्तालाई अङ्ग्रेजी भाषाजस्तै आउने प्रसङ्ग उल्लेख गर्दै नेपालमा सरकारहरूको परिवर्तन, बरोबरको भूकम्प, भक्तपुरको साफू कोठामा आगलागीलगायत घटनाबाट अभिलेख नष्ट भएको बताउनुभयो ।
चीनका यात्री ह्वेङ साङको यात्रा विवरणको आधारमा लुम्बिनी उत्खनन भएको, युरोपेली आउनुअघि संस्कृत र तिब्बती भाषामा नेपालको अभिलेख भएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले नेपाली विद्यार्थीलाई तिब्बती भाषा र तिब्बतीलाई नेपाली भाषा पढाउने कार्यक्रमले अभिलेख खोज्न मद्दत गर्ने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले नेपाली छोरी भृकुटीको तत्कालीन तिब्बतका राजा स्रङचनगम्पोसँग विवाहको बेलाका ठाउँहरू नेवारी नाममा रहेको बताउनुभयो ।
पहिले काठमाडौँ उपत्यकाका किसानका छोरीहरूलाई घरबाटै कपडा बुन्न सिकाइन्थ्यो, अहिले कपडा कारखानाहरूको विकाससँगै त्यस्तो सिकाइने काम हराएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले कठिन परिस्थितिमा तिब्बतको विकासको अनुभव नेपालीलाई उपयोगी हुने बताउनुयो ।
शाननान नगरपालिकाका उपमेयर योङ वनले आफू १२ वर्षपछि पुनः नेपाल आउन पाएको उल्लेख गर्दै नेपालको संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
चीनका १५ सयदेखि २ हजार रेल दैनिक युरोपलगायत देशमा गुड्ने उल्लेख गर्दै उपमेयर योङ वनले बीआरआईको मर्म दक्षिणपूर्वी एसियालाई केन्द्र बनाई पूर्वाधार विकास गर्ने रहेको बताउनुभयो ।
पछाडि पारिएको तिब्बतमा अहिले विकासमा अगाडि बढेको चर्चा गर्दै शाननानका उपमेयरले सन् १९९४ सम्म तिब्बतमा हवाईजहाज र गाडीको यात्रा कठिन भएको र अहिले रेलको यात्रा सजिलो भएको बताउनुभयो ।
चीनको ४० प्रतिशत कुल गार्हस्थ उत्पादन इन्टरनेटबाट भएको उल्लेख गर्दै शाननानका उपमेयरले भौतिक विकाससँगै इन्टरनेटको विकास जरूरी रहेको बताउनुभयो ।
काठमाडौँ उपत्यका र तिब्बतको इतिहासको अध्ययनसँगै सांस्कृतिक आदानप्रदान जरूरी भएको उल्लेख गर्दै उपमेयर वनले ४–५ वर्षभित्र नतिजा आउने गरी यस क्षेत्रमा काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भृकुटीको विवाहको बेला तिब्बतको केन्द्र शाननान भएको उल्लेख गर्दै उहाँले भृकुटीको विवाहबारे नाटक तयार गर्नुपर्ने बताउनुभयो ।
उपमेयर वनले भन्नुभयो, “भृकुटीको नाताले नेपाल–तिब्बत आफन्त पर्छ ।”
पार्टी अध्यक्ष बिजुक्छेँले पार्टीका प्रकाशनहरू प्रदान गर्दै नेपाल र चीन आफन्त पर्ने दुई परिवार भएको उल्लेख गर्नुभयो ।
शाननानका उपमेयर वनले पार्टी अध्यक्ष बिजुक्छेँलाई शाननानको नक्सा र तस्बिर पुस्तक उपहार प्रदान गर्नुभयो ।
भेटघाटमा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल र केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको उपस्थिति थियो ।
शाननान नगरपालिकाको तर्फबाट लि हाओ लु, नियन चा, ऊचीन छ्युचन, लुओ शाङ छ्रेन, ची चोङको सहभागिता थियो ।

पार्टी गतिविधिहरु
समाचार