नेमकिपाको शासक दलहरूलाई सैद्धान्तिक आलोचना


भक्तपुर १२, साउन । नेपाल मजदुर किसान पार्टी चानपा ८, सुडालको आयोजनामा शनिबार ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा एक कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले सरकारमा गएर भ्रष्टाचार गर्ने गराउने सबैलाई कानुनबमोजिम कारबाही हुनुपर्नेमा जोड दिँदै भ्रष्टाचारीहरूलाई अहिलेको पुँजीवादी सरकारहरूले कारबाही नगरे क्रान्तिपछि गठन हुने जनताको सरकारले कारबाही गर्ने र त्यतिबेला अहिले प्रधानमन्त्री, मन्त्री र सचिव बनेका भनी छुट नपाउने उल्लेख गर्नुभयो ।
“सहकारी संस्थाहरूलाई सहकारी सिद्धान्तअनुसार सञ्चालन नगराएकोले जनताको बचत ठगी गर्नेहरूलाई अवसर मिलेको हो । जनताका बचत हिनामिना हुनुमा सरकारहरू पनि दोषमुक्त छैनन्”, सांसद सुवालले बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीले सरकारमा गएका पार्टीहरूलाई सैद्धान्तिकरूपमा आलोचना गरेको हो । एउटै सिद्धान्त बोकेकाहरूको फरक पार्टीको अस्तित्व जरुरी छैन । कम्युनिस्टको नाममा पुँजीवादी चुनाव जितेर सरकारमा जाने नीति लिने पहिलो संशोधनवादी नेता जर्मनीका बर्नस्टिन हुन् । एमालेका नेता मदन भण्डारीको ‘जनताको बहुदलीय जनवाद’ बर्नस्टिनको बाटो हो । माओवादी भारतको ‘ट्रोजन हर्स’ हो ।”
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भजिसका उपाध्यक्ष न्हुछेभक्त फोजुले भ्रष्टाचारविरोधी आन्दोलनबाट पाठ सिकेर पार्टीका कार्यकर्ताहरूले भ्रष्टाचारविरुद्ध खुलेर सङ्घर्ष गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले चाँगुनारायण नगरपालिकामा पनि भ्रष्टाचार मौलाउँदै गरेको बारे जनतालाई सचेत पार्नु जरुरी रहेको उल्लेख गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीको तर्फबाट वाग्मती प्रदेशसभाका सांसद गीता काफ्लेले शासक दलका नेताहरू प्रदेशमा पनि भागबन्डामा सीमित रहेको उल्लेख गर्दै नेपाल मजदुर किसान पार्टीले शासक दलहरूको गलत प्रवृत्तिविरुद्ध सङ्घर्ष गरिरहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुजी ह्योङ्गोले नयाँ पुस्तालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय साहित्य अध्ययन गराएर देश र जनताको सेवामा लाग्न उत्साहित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपा चानपा ८, सुडालका अध्यक्ष केशवप्रसाद तिमिल्सेनाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गणेशप्रसाद तिमिल्सेना र सीता कार्कीले पनि बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार