ठुला पार्टीहरूद्वारा आफ्नो स्वार्थको निम्ति राष्ट्रघाती सम्झौता
भक्तपुर, २० साउन । नेपाल मजदुर किसान पार्टी भ.न.पा. वडा नं ७, इनाचो चोर्चा एकाइ समितिको आयोजनामा गाईजात्राको तयारीसम्बन्धी छलफल कार्यक्रम चोर्चामा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले नेपालमा बहुदलपश्चात् ठुला पार्टी भनाउँदाहरूले देशको सेवाभाव नराखी दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्न लागिरहेको बताउनुभयो ।
ठुला पार्टीहरूले आफ्नो स्वार्थको निम्ति भारतको दबाबमा राष्ट्रघाती सन्धि सम्झौता गर्दै आएको उहाँले बताउनुभयो ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशमा घटेका साम्राज्यवादविरोधी आन्दोलन र इजरायलले प्यालेस्टिनमाथि भएको नरसंहारकारी आक्रमणको निन्दा गर्दै उहाँले त्यस्ता घटनाबारे पनि गाईजात्रामा व्यङ्ग्य गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “नेका र एमालेबिच संयुक्त सरकार गठनको सहमति र मजदुर किसानको पक्षमा नभएको हुँदा उक्त सहमतिलाई देश र जनताको हितमा भएको भन्न मिल्दैन ।”
नेमकिपाले कार्यकर्ताहरुको राजनीतिकस्तर उठाउन अध्ययनलाई जोड दिँदै आएको चर्चा गर्दै उहाँले भन्नुभयो, “राजनीतिक परिवर्तन गर्न एक युग लाग्न सक्छ, हतार मानेर हुँदैन । कार्यकर्ताहरु धैर्यवान हुनुपर्छ ।” आयोजक एकाइ समितिका अध्यक्ष कृष्णगोविन्द खाइजुले गाईजात्रा तयारीका लागि एक व्यक्तिको मात्र प्रयासले सफल नहुने बताउनुभयो ।
स्थानीय विष्णुराम दुमरुले विगतका वर्षमा भएका त्रुटिहरू सुल्झाउँदै अगाडि बढ्नुपर्छ भन्नुभयो ।
कृष्णगोविन्द लाखाजुले परम्परागतबाहेक आधुनिक विधाका ख्यालहरू पनि देखाउनुपर्ने बताउनुभयो ।
भेलामा चन्द्रप्रसाद दुमरु, रामचन्द्र दुमरु, जसतारा कोजु, राजेश लाखा, कृष्ण दुमरु र श्रृजन लवजुले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभयो ।