स्वदेशमै जनशक्ति तयार गर्न सके देश आत्मनिर्भर हुने


स्वदेशमै जनशक्ति तयार गर्न सके देश आत्मनिर्भर हुने

भक्तपुर, २५ साउन । नेपाल क्रान्तिकारी महिला सङ्घको सातौँ भक्तपुर नगर सम्मेलनको उद्घाटन कार्यक्रम शुक्रबार एक समारोहबिच सम्पन भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले समाज विकासमा महिलाहरू सक्रियरूपमा लाग्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “ंसङ्गठनमा आबद्ध कार्यकर्ताहरूले सैद्धान्तिक र व्यवहारिकरूपमा समाजका लागि सकारात्मक कार्यहरू गर्दै जानुपर्छ । व्यक्तिगतभन्दा पार्टी सङ्गठनको सिद्धान्तलाई आत्मसात गर्नुपर्दछ । विदेशीले सहयोग ग¥यो भन्दैमा उनीहरूको पछि लाग्नु हुँदैन । देशलाई आवश्यक जनशक्तिको उत्पादन आफ्नै देशमा गर्न सके मात्र देश आत्मनिर्भर बन्दछ । यो विषयमा पार्टी सङ्गठनमा लागेका कार्यकर्ता साथीहरूले विशेष ध्यान दिनु पर्दछ । घर बनाउँदा विभिन्न कुरामा ध्यान दिएजस्तै समाजको विकासमा विशेष ध्यान दिन जरूरी छ ।”
“स्थानीय तहहरूले पनि शिक्षा, स्वास्थ्यको क्षेत्रमा विभिन्न कार्यहरू गरिरहेका छन् । स्थानीयहरूले स्थानीय सरकारका काममा सहयोग गर्नुपर्दछ । हाल विभिन्न ठाउँमा घर बनाउने मानिसहरूले बाटो बाटोमा ढुङ्गा, बालुवा, इँटा थुपारेर बटुवाहरूलाई अप्ठ्यारो पारेका छन् । यसतर्फ पनि स्थानीयहरूले पहल गर्नुपर्दछ । समाजको समग्र विकास गर्न हामी सबै लागिपर्नुपर्दछ । सङ्गठनमा लागेका कार्यकर्ताहरूले आफ्नो व्यक्तिगत स्वार्थभन्दा सामूहिक हितको लागि काम गर्नुपर्दछ । अगुवा कार्यकर्ताहरूले युवा कायकर्ताहरूलाई सङ्गठनबारे मार्ग निर्देशन गर्नुपर्दछ । यसो गरेमा मात्र सङ्गठन बलियो र सङ्गठित हुनेछ”,अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशका सभासद् सृजना सैजुले ४० वर्ष अगाडि भक्तपुर शिक्षा, स्वास्थ्यको क्षेत्रमा निकै पछाडि परेको तर हाल धेरै विकासका काम भइरहेको बताउनुभयो ।
सम्मेलनले समग्रमा महिलाको क्षमता विकासमा सहयोग गर्ने धारणा राख्दै पँुजीवादी तथा सामन्तवादी व्यवस्थाले गर्दा महिलाहरू पछाडि परेको बताउनुभयो ।
सिङ्गो समाज निर्माणको लागि महिलाहरूलाई बिस्तारै अगाडि बढाई महिलालाई नेतृत्व तहमा पु¥याउनुपर्छ, उहाँले भन्नुभयो ।
केन्द्रीय सदस्य सैंजूले भन्नुभयो, “समाज परिवर्तनमा सङ्गठनको महत्वपूर्ण भूमिका हुन्छ । महिला सहभागिताबिना विश्वमा कुनै पनि क्रान्ति सफल भएको छैन । महिलाको सहभागिताले समाजमा विकासको उज्यालो प्रकाश ल्याउने गर्दछ । हल्लाको राजनीति पछाडि लाग्नुहुँदैन ।”
भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले कार्ल माक्र्सको जीवन साथी जेनी माक्र्सको योगदानबारे चर्चा गर्दै जेनी माक्र्सको जीवन सङ्घर्ष र समर्पणबाट शिक्षा लिनुपर्ने बताउनुभयो ।
“आज विश्वले चिनेको कार्ल माक्र्सलाई सफल बनाउन जेनी माक्र्सको योगदान अतुलनीय रहेको छ”, उहाँले भन्नुभयो ।
नेमकिपा नगर समिति भक्तपुरका अध्यक्ष नारायणबहादुर दुवालले साम्यवादी समाजको स्वरूप र विशेषताबारे जानकारी गराउँदै उक्त व्यवस्थामा सरकारले जनतालाई आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य उपचार सुविधा निःशुल्क गर्ने बताउनुभयो ।
ख्वप अस्पतालका निर्देशक डा. मजेशप्रताप मल्लले महिला स्वास्थ्यबारे चर्चा गर्दै महिलाहरूमा विशेषगरी मधुमेह, हाडजोर्नी, मुटु, थाइराइड, मानसिक, कुपोषण, उच्च रक्तचापको रोगबाट प्रभावित हुने बताउनुभयो ।
कार्यक्रममा सम्मेलन तयारी समितिका संयोजक रामेश्वरी कोजु, सम्मेलन तयारी समितिका कोषाध्यक्ष बिकुलक्ष्मी कोजु र मन्जुमैया लाखाजुले पनि बोल्नुभएको थियो ।

 

पार्टी गतिविधिहरु
समाचार