भक्तपुर, २६ साउन । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको प्रकाशन विभाग जनप्रकाशन गृहद्वारा प्रकाशित ‘इजरायली फासीवादविरूद्ध प्यालेस्टिनी प्रतिरोध’ नामक पुस्तक सार्वजनिकीकरण एवम् प्रवचन कार्यक्रम शनिबार सम्पन्न भयो ।
पुस्तक विमोचन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भन्नुभयो, “इजरायल र प्यालेस्टिनलाई हेर्दा हामीले नेपाललाई पनि हेर्नुपर्छ ।”
नेपालमा पनि जातिवादी एवम् फासीवादी सोच राख्ने, अन्य जाति वा धर्मका मानिसलाई हेलाहोचो गर्ने प्रवृत्ति शासक दलका नेता–कार्यकर्तामा पाइने उहाँले चर्चा गर्नुभयो ।
विभिन्न धार्मिक प्रसङ्गहरूबारे चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले धर्म र सम्पत्तिको नाममा संसारभर लडाइँ हुने हुनाले समाजवादी समाजको निम्ति आन्दोलनलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
बहुमत जनताले आफूलाई समाज र संसारप्रति आफूलाई समर्पित गरेमा मात्र आदर्श समाजको निर्माण हुने धारणा उहाँले व्यक्त गर्नुभयो ।
पुस्तक प्रकाशन सम्बन्धमा प्रकाश पार्दै उहाँले शोषकवर्गले कम्युनिस्ट र मजदुर–किसानहरूलाई अनपढ भनी हेलाहोचो गर्ने हुनाले देश–विदेशका सङ्घर्षहरूको अध्ययन गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सडक सङ्घर्षजस्तै सैद्धान्तिक तथा साहित्यिक क्षेत्र पनि सङ्घर्षको अर्को मोर्चा हो ।”
आफ्नो जेल जीवनको भोगाइ सुनाउँदै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “नेपाली काङ्ग्रेसभित्र पनि वर्ग छ । धनी नेता–कार्यकर्ताले राम्रा–राम्रा किताब पढ्छन् तर गरिबलाई देखाउँदैनन् ।” सशस्त्र सङ्घर्षमा भाग लिएका नेपाली काङ्ग्रेसका गरिब कार्यकर्ताले जेलमा आएपछि काङ्ग्रेस–कम्युनिस्ट स्पष्ट छुट्टिएको बताएको उहाँले स्मरण गर्नुभयो ।
वाग्मती प्रदेशसभा सदस्य सृजना सैँजूले प्यालेस्टिनमा जारी इतिहासकै विभत्स नरसंहार तथा युद्ध आतङ्कबारे निरन्तर छलफल चलाइरहनुपर्नेमा जोड दिनुभयो ।
प्यालेस्टिनी जातिलाई नै नस्ट गर्ने फासीवादी इजरायलको बदनियत कसैबाट नलुकेको हुनाले प्यालेस्टिनी जनताको सङ्घर्षप्रतिको ऐक्यबद्धता बढाउनुपर्ने र विमोचित पुस्तक सोही ऐक्यबद्धताको सिलसिला भएको उहाँले प्रस्ट पार्नुभयो ।
विशेषतः महिला तथा बालबालिकालाई ताकीताकी मार्नु इजरायली फासीवादको सबैभन्दा निकृष्ट कार्य भएको उहाँले चर्चा गर्नुभयो ।
पत्रकार समाज नेपालका अध्यक्ष लक्ष्मणराज जोशीले ‘डेरामा बस्न आएको व्यक्तिले घरधनीलाई लखेटी घर नै हडपेको’ स्थितिलाई समग्र प्यालेस्टिनी समस्यासँग तुलना गर्न मिल्ने बताउनुभयो ।
इजरायली शासकहरूमा हिटलरकै जस्तो जातिवादी सोच हाबी भएको हुनाले युद्धविरामको कुरै नसुनी नरसंहार जारी राखेको उहाँले जिकिर गर्नुभयो ।
प्रधानमन्त्री नेतन्याहुको युद्ध अपराधले सीमा नाघिसकेको उल्लेख गर्दै उहाँले नेतन्याहु कालगतिले नमर्ने बताउनुभयो ।
अध्येता योगेन्द्रमान बिजुक्छेँले भन्नुभयो, “एक इन्च जग्गा छिमेकीले मिच्दा त मानिसले विरोध जनाउँछ भने यहाँ त देशकै कुरा छ । त्यसैले प्यालेस्टिनी जनताले प्रतिरोध गर्नु स्वाभाविक छ ।”
पुस्तकका विभिन्न लेखबारे चर्चा गर्दै उहाँले इजरायली समाजभित्रै पनि वर्गीय विभेद रहेको बताउनुभयो । युरोपमा जातीय थिचोमिचो भोगेर आएको जातिले नै प्यालेस्टिनी जनतामाथि कसरी बर्बरता अपनाउन सक्यो भनी अध्ययन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष प्रकाश गुरूङ तथा नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुरका सदस्य रमेश वैद्यले प्यालेस्टिनी भूमि समस्याको नालीबेलीबारे स्ल्याड शो गर्नुभएको थियो । जनप्रकाशन गृहका संयोजक दिनेश खड्गी र नेक्राविसङ्घ केन्द्रीय समितिका उपाध्यक्ष सुरेश परियारले पनि बोल्नुभएको थियो ।