भक्तपुर, ४ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पश्चिम एसियामा इजरायलले बालबालिका, वृद्धवृद्धा र महिला नभनी फासीवादी तरिकाले नरसंहार भइरहेको हुँदा त्यसको विरोध र निन्दा गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले प्यालेस्टिनी र अरब मूलका जनतामाथि संरा अमेरिका र पश्चिमा साम्राज्यवादीहरूको समर्थन र सहायतामा दमन भइरहेकोले पश्चिमा शासकहरू पनि नरसंहारको उत्तिकै दोषी रहेका छन् भन्नुभयो ।
छोरी बुहारी समूह भनपा १० को आयोजनामा ललितपुरको कार्यविनायकमा बिहीबार सम्पन्न भक्तपुर काण्डको भत्र्सना कार्यक्रममा प्रमुख अतिथिको आसनबाट अध्यक्ष रोहितले देशको विभिन्न जिल्लामा अध्ययन भ्रमण गरी कार्यकर्ताहरूले देशको भूगोलबारे जानकारी पाउने र जनतासित सामिप्यता बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
साम्राज्यवाद र प्रतिक्रियावादीहरूले छिमेकी देश र जनतालाई एक आपसमा झगडा गर्न लगाई फूट गर र राज गरको नीति अपनाइरहेको चर्चा गर्दै उहाँले फास्टट्राय्क र सुख्खा बन्दरगाहको निर्माणले विदेशी हतियार र हत्याराहरूसमेत सजिलै नेपाल आउनसक्नेतर्फ सचेत हुनु जरुरी छ भन्नुभयो ।
विदेशी ऋण लगानीमा हुने त्यस्ता संरचना निर्माणले देशको अहित हुने अध्यक्ष बिजुक्छेँले स्पष्ट पार्नुभयो ।
“भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी जग्गा जनताबाट सस्तो मूल्यमा अधिग्रहण गरेकोले जनताको निम्ति विश्वविद्यालय खोल्न भक्तपुर नगरपालिकालाई दिनुपर्छ”, उहाँले भन्नुभयो ।
उहाँले भक्तपुर काण्डको षड्यन्त्रको निम्ति नगरकोटमा भोज आयोजना गरेको खुलासा भएको बताउँदै सम्पूर्ण घटनाक्रमले भक्तपुर काण्ड नेमकिपालाई समूल नष्ट गर्न राज्यस्तरबाट षड्यन्त्र पुष्टि भइसकेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले सांस्कृतिक सम्पदा मासिने गरी ललितपुरको खोकनामा ऐतिहासिक सिकाली जात्रा र त्योसँग जोडिएको सिकाली मन्दिर र तौदहसमेत नष्ट हुने फास्टट्राय्क सुख्खा बन्दरगाहलगायत १२ वटा योजना उक्त क्षेत्रमा ल्याएर त्यहाँका जनतालाई विस्थापित गर्न खोजेको बताउनुभयो ।
उहाँले भारतीय विस्तारवादले सीमा अतिक्रमण गरिरहेकोले यसको विरोध गर्नुपर्ने बताउनुभयो । उहाँले नेमकिपाले कम्युनिस्ट विचारअनुसार जनताको हितमा काम गरेकोले भक्तपुर काण्ड घटाएको बताउनुभयो ।
वाग्मती प्रदेश सांसद सृजना सैंजूले भक्तपुर काण्डमा राज्यले मात्र होइन आफन्तले समेत शत्रुको व्यवहार गरेको बताउँदै सङ्गठनको निर्देशनमा पर्चा छर्ने गरेको बताउनुभयो । प्रौढ कक्षाबाट राजनीति र नेतृत्वको विकास भएको उहाँले बताउनुभयो ।
उहाँले पुरुषहरूलाई भन्दा महिलाहरूलाई बढी रोग लाग्ने बताउँदै स्वच्छ र शुद्ध खानपानमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले स्वस्थ हुन खानपान, कसरत सबै सन्तुलन हुनुपर्ने बताउँदै महिला उत्थानको निम्ति चेतना, शिक्षा र सीप आवश्यक हुन्छ भन्नुभयो ।
छोरी बुहारी समूहका तारादेवी शाक्यको सभापतित्वमा भएको कार्यक्रममा राजवीर डंगोल, नरेश महर्जन, लक्ष्मीप्रसाद ह्यौँमिखा र लक्ष्मीप्रसाद चवालले पनि बोल्नुभएको थियो ।