भक्तपुर, २३ असोज । दसैँ बिदाको अवसर पारेर नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, सूर्यविनायक नगरपालिका वडा नं ७ एकाइ समितिले साहित्य गोष्ठी तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
सांस्कृतिक पर्व दसैँको शुभकामना दिन गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूले नाटक, गीत तथा नृत्यहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले विद्यार्थीले देशको परिवर्तनको निम्ति आह्वान गरिएका साहित्यको अध्ययन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले विद्यार्थीले क्रान्तिकारी साहित्यकारका साहित्यको अध्ययन गर्नुपर्ने भन्दै प्रगतिशील गीतको धुनमा नाच्न विद्यार्थीलाई उत्साहित गर्नुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तकारी महिला सङ्घका अध्यक्ष अनुराधा थापामगरले ‘सरकारसँग संवाद’ शीर्षकको कविता प्रस्तुत गर्दै देशका व्यथितिहरूको अन्त्यको निम्ति सङ्घर्षका गतिविधि अगाडि बढाउन आह्वान गर्नुभयो ।
नेक्राविसङ्घका केन्द्रीय उपाध्यक्ष सुरेश परियारले नेक्राविसङ्घले कामदारवर्गका विद्यार्थीको हकहितको निम्ति सङ्घर्ष गरिरहेको धारणा राख्नुभयो ।
कार्यक्रममा राधा थापाले सपना शीर्षकको कविता प्रस्तुत गरेर अन्यायविरुद्ध लड्न आह्वान गर्नुभएको थियो ।
कार्यक्रममा काजीबहादुर पञ्चले जनताको साहित्यबारे आफ्नो धारणा राख्नुभएको थियो भने सूर्यबहादुर पञ्च र शिवबहादुर खुलिमुलीले लघुकथा प्रस्तुत गर्नुभएको थियो ।
आयोजक समितिका अध्यक्ष विमल खुलिमुलीको सभापतित्वमा भएको उक्त कार्यक्रममा मन्दिरा खुलिमुलीले स्वागत मन्तव्य राख्नुभएको थियो ।