“देश र जनताको सेवा नै राजनीति हो”


काठमाडौँ, ३ साउन । “राजनीति इमानदारीपूर्वक देश र जनताको सेवाको लागि हो । नेपाल मजदुर किसान पार्टीका नेता कार्यकर्ताहरूले त्यही भावनाअनुसार काम गर्दै छन् ।”
उक्त विचार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेमकिपाको साताँै काठमाडौँ जिल्ला सम्मेलन तयारी समितिको आयोजनामा चन्द्रागिरी नगरपालिका वडा नं. १२ बलम्बुमा शनिबार भएको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
उहाँले देशमा निर्वाचन नतिजाको आधारमा कम्युनिस्टहरूले धेरै मत पाएको देखाइए पनि कम्युनिस्ट नामधारी पार्टीहरूले बाटो बिराएकोले कम्युनिस्ट आन्दोलन अगाडि बढ्न नसकेको बताउनुभयो ।
केन्द्रीय सदस्य प्रजापतिले भन्नुभयो, “सत्तामा पुगेर देश र जनताको सेवा नगर्ने पार्टी अवसरवादी, संशोधनवादी र जनविरोधी हुन् । सिद्धान्त त्याग्ने अवसरवादीहरू जनताबाट टाढिँदै जाने निश्चित छ ।”
नेमकिपाले कामगरी खाने वर्गलाई राजनीतिकरूपले सचेत र सङ्गठित गर्दै सांस्कृतिकस्तर उँचो बनाउन जोड दिँदै आएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “युक्रेन–रूसबिच युद्ध र इजरायलले प्यालेस्टिनी भूमिमाथि गरेको बर्बर आक्रमणमा संरा अमेरिकाको प्रमुख हात छ । अमेरिकी साम्राज्यवाद संसारकै ठूलो आतङ्कवादी देश हो ।”
उहाँले शासक दलहरूले भ्रष्टाचारीहरूको संरक्षण गरिरहेका बताउँदै पैसा लिनु मात्र भ्रष्टाचार नभएको बताउँदै भ्रष्टाचारीहरूबाट कुनै सम्पत्ति दान दातव्य लिनु पनि भ्रष्टाचार निवारण ऐनअनुसार भ्रष्टाचारीको मतियार बन्नु हो भन्नुभयो ।
देशको अर्थतन्त्र तहसनहस हुँदै जानुमा शासक दलहरू दोषी रहेको बताउँदै उहाँले भन्नुभयो, “नेपालको विकास बजेटभन्दा बढी ऋण तिर्नुपर्ने अवस्था छ । ऋण तिर्न पनि ऋण लिनुपर्ने अवस्थाले देश विकासको सम्भावना छैन ।”
नेमकिपा काठमाडौँ जिल्ला सम्मेलन तयारी समितिका संयोजक नारायण महर्जनले नेपालको राजनीतिमा शासक दलहरू भ्रष्टाचारका काण्डै काण्डमा फसेकोले ती दलहरू जनविरोधी भएको स्पष्ट पार्दै नेमकिपाको दीर्घकालीन लक्ष्य समाजवाद र साम्यवाद स्थापना गर्नु हो भन्नुभयो ।
पुस २६ र २७ गते हुन गइरहेको सम्मेलन सफल पार्न सबै कार्यकताहरू सक्रियतापूर्वक लाग्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा श्यामकुमार महर्जन, विश्वक डंगोल, रमेश डंगोल, हरिशरण श्रेष्ठ, वन्दना श्रेष्ठ, बिन्द्रा महर्जन, अनिल श्रेष्ठ, राजवीर डंगोल, चमेली महर्जन, शान्त महर्जन, लक्ष्मीप्रसाद रञ्जितलगायतले बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार