“पटक–पटक सरकारको नेतृत्व गरेका कम्युनिस्ट नामका पार्टीहरूले देश र जनताको हितमा काम गर्न सकेनन्”


अछाम,४ कार्तिक । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालको आतिथ्यमा आइतबार कमलबजार नगरपालिका वडा नंं ६ गैरीडाँडामा कार्यकर्ता भेला भयो ।
भेलामा सचिव सुवालले सोभियत सङ्घमा लेनिन र स्तालिनको नेतृत्वमा कम्युनिस्ट पार्टीको सरकारले १८ वर्षमा रूसलाई संसारको दोस्रो ठुलो अर्थतन्त्रमा पु¥याएको तर नेपालमा बहुदलको ३५ वर्षमा पटक पटक सरकारको नेतृत्व गरेका कम्युनिस्ट नामका पार्टीहरूले देश र जनताको हितमा काम गर्न नसकेको बताउनुभयो ।
“बहुदलीय व्यवस्था पुनःस्थापनायता सरकारमा गएका नेका, एमाले, माओवादी सडक, पुल, विद्यालय, अस्पताल निर्माण गरेको दाबी गर्छन् तर ती सबै २६ खर्ब वैदेशिक ऋण ल्याएर गरेका हुन्”, उहाँले स्पष्ट पार्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “धान, चामल, दाल, तरकारी, फलफूलसमेत भारतबाट आयात गर्दै छन् । अछामको सुन्तला पनि मीठो हो तर, सुन्तला विशेषज्ञ र अन्य कृषि विशेषज्ञहरूलाई सरकारले वैदेशिक रोजगारीमा पठायो र देशलाई मरूभूमिजस्तै बनायो ।”
माथिल्लो कर्णाली जलविद्युत् भारतको जीएमआर कम्पनीलाई दिएका सरकारहरूले जीएमआरलाई माथिल्लो कर्णाली भारतको सतलज र इरेडा कम्पनीलाई बेच्न लगाई देशघाती काम गरेको उहाँले बताउनुभयो ।
नेमकिपा अछामका अध्यक्ष झङ्करबहादुर शाहीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू सरोजराज गोसाई र सृजना सैजु तथा नेपाल क्रान्तिकारी महिला सङ्घका रोशनमैया सुवालले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा विनोद शाही र वीरेन्द्र शाहीले पनि बोल्नुभएको थियो ।
भेलामा स्थानीय जनताले सांसद सुवाललाई जङ्गली जनावरबाट कृषिबाली विनाश, माओवादी विद्रोहको बेला हटाइएको खाद्य डिपो पुनःस्थापना, शीतभण्डार निर्माण र स्थायी प्रहरी चौकी स्थापनाको विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउन आग्रह गर्नुभयो ।

दैलेखको सातलामा कार्यकर्ता भेला
त्यस्तै नेमकिपाका सचिव प्रेम सुवालको आतिथ्यमा आइतबार दैलेखको सातलामा कार्यकर्ता भेला भयो ।
भेलामा सचिव सुवालले कम्युनिस्टको काम कामदारवर्गको सेवा र देशको सार्वभौमिकता रक्षा गर्नु हो तर, नेपालमा बहुदलीय व्यवस्था पुनःस्थापनायता कम्युनिस्टको नाममा सरकारमा गएका कुनै दलले देश र जनताको हितमा काम नगरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कम्युनिस्टहरूको सरकारले विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गर्ने हो । कम्युनिस्टको नाममा सरकारमा गएका एमाले, माओवादी, एसलगायत कसैले पनि यो काम गरेनन् ।”
नेमकिपाका सदस्यहरू निर्वाचित भक्तपुर नगरपालिकाले २०५६ सालयता ख्वप कलेजहरू सञ्चालन गरी ७७ वटै जिल्लाका सर्वसाधारण जनताका छोराछोरीलाई उच्च शिक्षा प्रदान गर्दै आएको सचिव सुवालले उल्लेख गर्नुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू सरोजराज गोसाई र सृजना सैंजूले पनि बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार