भक्तपुर, २२ माघ । नापीको बेला भक्तपुर जिल्लामा रहेका सरकारी एवम् सार्वजनिक जग्गा, पर्ती र कमलपोखरी जनिएका ठाउँमा मालपोत, नापी र गुठी कार्यालयका केही कर्मचारीको बेइमानीको कारण व्यक्तिको नाममा राखिएको र बिक्रीसमेत गरिएको स्वतः खारेज गरी सार्वजनिक गराउन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सङ्घीय सांसद पे्रम सुवालसहितको टोलीले प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको ध्यानाकर्षण गरायो ।
२०२१ सालको नापीमा सरकारी जङ्गल, पर्ती र पोखरी उल्लेख गरिए पनि केही व्यक्ति र सरकारी अधिकारीको मिलेमतोमा व्यक्तिको नाममा लालपुर्जा बनाइएको भए पनि मालपोत, नापी र गुठी कार्यालयको ऐनअनुसार स्वतः सार्वजनिक हुने व्यवस्था छ । तर, सरकारी अधिकारीहरू नै सरकारी सम्पत्ति जोगाउन अग्रसर नहुँदा देशद्रोहीहरूलाई मौका भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी अर्यालले मालपोत तथा भूमिसुधार कार्यालय, नापी कार्यालय र गुठी संस्थानलगायत सम्बन्धित कार्यालयसँग बुझेर सरकारी सार्वजनिक जग्गा संरक्षण गर्नेतर्फ पाइला चाल्ने बताउनुभयो ।
टोलीमा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजु, दुवाकोटका स्थानीय जनता गौरीमान सिंह थापा, ईश्वर थापा, उमेश बस्नेत र श्यामकृष्ण अवालको उपस्थिति थियो ।
ईश्वर थापाका भाइले पनि दुवाकोटको व्यक्तिको नाममा दर्ता गरिएको १९ रोपनी सरकारी जग्गामध्ये ४ आना खरिद गरेकोमा पुनः सरकारी नै बनाउन स्थानीय जनतालाई कागज गरिदिएको खबर छ ।