काठमाडौँ, ७ फागुन । १८ औँ नेपालभाषा साहित्य तःमुंज्या बुधबार टोखामा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले सरकारमा गएका दलका नेताहरूले २००७ सालको परिवर्तन आएको दिन फागुन ७ लाई ‘प्रजातन्त्र दिवस’ को रूपमा मनाउँदै गरेको र पञ्चायती शासनले पनि ‘प्रजातन्त्र दिवस’ भनेको यो दिनलाई ‘गणतन्त्र’ का सरकारहरूले पनि प्रजातन्त्र दिवस भन्दै गरेको बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “करोड नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाउने र दाल, चामल, तरकारी, फलफूलसमेत भारतसँग महँगोमा किन्नुपर्ने वर्तमान अवस्थाले शासक दलहरूको ‘प्रजातन्त्र दिवस’ लाई जनताले व्यङ्ग्यको रूपमा लिइरहेका छन् । भारतीय एकाधिकार पुँजीले तत्कालीन राजा, काङ्ग्रेस र राणा शासकहरूलाई दिल्ली बोलाएर दिएको ‘प्रजातन्त्र दिवस’ देश र जनताको हितमा हुनसकेन । त्यतिबेलै ‘प्रजातन्त्र’ धोका भएको जनआवाज उठेको हो ।
भारतीय एकाधिकार पुँजीको गोटीको रूपमा शासक दलका नेताहरू २००७, २०४६ र २०६३ सालमा सरकारमा गएको हुँदा जनताको अवस्था परिवर्तन नभएको स्पष्ट पार्दै सांसद सुवालले शासक दलहरूले सर्वसाधारण जनताका छोराछोरीलाई उच्च शिक्षा दिने ख्वप विश्वविद्यालयको विधेयक पारित नगरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “लेनिन र स्तालिन निःस्वार्थरूपले देश र जनताको सेवा गर्ने नेताहरू भएको हुँदा सन् १९१७ को अक्टोबर क्रान्तिपछि १८–२० वर्षमै रुस संसारको दोस्रो अर्थतन्त्रमा उकासियो ।”
“सरकारमा गएका नेताहरू आ–आफ्नो थातथलो छाडेर सङ्घीय र प्रदेश राजधानीमा घर–जग्गा जोड्दै बसाइँसराइ गर्दै छन्, देशको समानुपातिक विकास नगर्नेहरू कसरी प्रजातन्त्रवादी हुन्छन् ?” उहाँले प्रश्न गर्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “अहिले प्रजातन्त्र दिवसलाई ‘जनक्रान्तिले ल्याएको परिवर्तन’ र ‘उज्यालो ढोका उध्रेको दिन’ दाबी गर्दै छन् । विदेशीको गोटी बनेर सरकारमा पुग्नेहरूको प्रजातन्त्रमा नेपाली जनताले शिक्षा–स्वास्थ्य–रोजगारी नपाउने पुष्टि भएको छ ।”
अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालमा सङ्घीयताको विकासको लागि, जैविक विविधताको लागि, धर्म परिवर्तनको लागि पठाएको करोडौँ डलर भ्रष्टाचार भएको बताएकोले यसको छानबिन हुनु जरूरी भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अमेरिकी पूर्वराष्ट्रपति बाइडेनले जस्तै अहिलेका अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेन र इजरायललाई हतियार बिक्री गरी युद्ध गराएको मानवताविरोधी अपराध हो । युद्धविरामको बेला पनि इजरायलले गाजामा बमबारी गरिरहेका छन् ।”
सचिव सुवालले भन्नुभयो, “विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैङ्कले धनी देशहरूको हित हेरेका छन्† बीआरआई र ब्रिक्सले मानव जातिको साझा हितलाई हेरेका छन् । एमसीसी अमेरिकी नीति र कानुन पालना गर्नुपर्ने सम्झौता भएको हुँदा खारेज हुनु जरूरी छ ।”
उहाँले भन्नुभयो, “मोरिससका प्रमलाई सम्पत्ति शुद्धीकरणमा कारबाही गरियो । सिङ्गापुरका प्रमुख विपक्षी दलका नेतालाई झूटो बोलेकोमा जरिबाना तिराइयो । नेपालमा समाजवादी भन्दै सरकारी उद्योगहरू बेच्ने, पश्चिमबाट सूर्य उडाउँछ भन्दै नेपालको नदी–नाला भारतको साझा बनाउने, भारतबाटै हतियार ल्याएर सशस्त्र द्वन्द्वको नाउँमा लडाकुलाई बोकाउँदै अर्बौँ रुपैयाँ राज्य कोष हिनामिना गर्नेलाई कारबाही किन गरिएन ?”
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नयाँ विचार सिकेर सङ्गठन गर्न सके, सङ्घर्ष गर्न सके र जनता बाँचेमात्र भाषा–कला संस्कृति बच्ने बताउनुभयो ।
समाजवाद र जनताको प्रजातन्त्रको लागि कविता लेख्ने, साहित्य लेख्ने, सांस्कृतिक कार्यक्रम गर्ने जनताले मात्र देश बचाउन सक्ने धारणा राख्दै उहाँले भन्नुभयो, “अहिले नेका, एमाले, माओवादीलगायत शासक दलहरूले पुँजीपतिहरूको प्रतिनिधित्व गरिरहेकाले कामदार जनतालाई सुख भएन ।”
नेमकिपाका अर्का केन्द्रीय सदस्य नारायण महर्जनले जातिभित्र पनि वर्ग हुने भएकोले शोषक र शोषित वर्ग कहिल्यै एक हुन नसक्ने बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य राजवीर डंगोलले नयाँ पुस्तालाई सिकाउन नेपालभाषा साहित्य तःमुंज्याले भूमिका खेलिरहेको बताउनुभयो ।
तःमुंज्याका अध्यक्ष काशिलाल डंगोलको सभापतित्वमा सम्पन्न कार्यक्रममा अतिथिहरू टोखा नपा वडा नं. ३ का वडाध्यक्ष रमेश डंगोल, टोखा नेवाःगुठीका अध्यक्ष रमेश नापित, वरिष्ठ साहित्यकार तथा वरिष्ठ शिक्षक शिवप्रसाद सापकोटा, टोखा सांस्कृतिक संरक्षित विकास समितिका अध्यक्ष गणेशभक्त श्रेष्ठ, टोखा साहित्य दबुका अध्यक्ष बाबुलाल डंगोललगायत अतिथिहरूले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा गणेशमाया श्रेष्ठले स्वागत गर्नुभएको थियो । नेपालभाषा, तामाङ भाषा र अन्य भाषामा कविता, लेख र रचनाहरू वाचन गरिएको कार्यक्रममा प्रगतिशील सांस्कृतिक प्रस्तुतिहरू पनि प्रदर्शन गरिएको थियो ।