ललितपुर, २ चैत । “किसान आन्दोलनकै कारण भक्तपुरको आर्थिक, सामाजिक परिवर्तनमा टेवा पुगेको हो । त्यसबेलाका किसान कार्यकर्ताहरूको योगदान आजसम्म अविस्मरणीय छ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले शनिबार अग्रज किसान कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दा व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “सङ्गठनका लागि दुःख पाएका किसान कार्यकर्ताहरूकै सहयोगबाट नेपाल मजदुर किसान पार्टी यहाँसम्म अगाडि बढिरहेको हो । भ्रष्टाचार गरेर अरूलाई शोषण गरेर भएपनि पैसा कमाउने सोच राखेकाहरू कम्युनिस्ट नहुने हुँदा नामले भन्दा उसको काम र व्यवहारले चिन्नु जरुरी छ ।”
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “कम्युनिस्टहरूको काम गरिब जनताको सुख दुःखमा साथ दिने हुनुपर्नेमा नामका कम्युनिस्टहरू भारतीय विस्तारवादको सेवामा लाग्दा देश र जनताले दुःख पाएको हो । हाम्रो शासक दल शोषककै पक्षमा काम गर्दा कामदार जनताले दुःख पाएको हो । हाम्रो प्राकृतिक स्रोतसाधन देश र जनताको हितमा भन्दा भारतीय विस्तारवादको पोल्टामा पु¥याउँदा देश विकास नभएको तथ्य हामीले बुझेर व्यापक जनतालाई बुझाउन अग्रज किसान कार्यकर्ताहरूसमेत लाग्नु जरुरी छ ।”
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “भक्तपुरका जनताले शिक्षा, स्वास्थ्य सेवामा गरेको योगदानले नै आज देशका विभिन्न जिल्लाका जनप्रतिनिधिसमेत भक्तपुर हेर्न आएको चर्चा गर्दै इमानदारीपूर्वक देश र जनताको सेवा गर्नु हाम्रो कर्तव्य हो । हामीले नयाँ पुस्तालाई त्यही सिकाएका छौँ । नयाँ पुस्ताले पनि देशका विभिन्न जिल्लामा सोहीअनुसार सेवा गरिरहेको छ ।”
“पञ्चायती कालमा भक्तपुरको किसान आन्दोलनले दियोको रुपमा काम गरेजस्तै भक्तपुरको आजको काम देशकै लागि ‘नमुना’ बनिरहेको अग्रज किसान कार्यकर्ताहरूकै त्याग तपस्याको प्रतिफल हो । पार्टीले निःस्वार्थपूर्वक देश र जनताको सेवा गर्ने सिकाएकैले आज भक्तपुरको मुहार फेरेको हो” उहाँले भन्नुभयो ।
शिक्षाविरोधीहरू आज भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालय सञ्चालन गर्न दिनुहुन्न भनिरहेका छन् । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको दुई ओटा इन्जिनियरिङ कलेजबाट उत्पादन भएका इन्जिनियर देशैभरि इमानदारीपूर्वक सेवा गरेजस्तै ख्वप विश्वविद्यालय भएको भए सयौँ/हजारौँ चिकित्सकहरूले जनताको इमानदारीपूर्वक सेवा गर्ने थिए । नेमकिपाको इमानदारितादेखि अतालिएर शासक दलले ख्वप विश्वविद्यालय नदिएको स्पष्ट छ ।
भेला अग्रज किसान कार्यकर्ता विष्णुबहादुर मानन्धरको सभापतित्वमा सम्पन्न भएको थियो ।