काठमाडौँ, २२ फागुन । देश र जनताका केही महत्वपूर्ण विषयमा संसद् र सरकारको ध्यानाकर्षण गराउन चाहन्छु :
पालैपालो सरकार र प्रतिपक्षमा बसेका संसद्वादी दलहरूलाई प्रतिपक्ष दलको साझा नेता बनाउन समस्या नहोला । नेपाल मजदुर किसान पार्टी प्रमुख प्रखर प्रतिपक्षको भूमिकामा रहेर सत्ता र प्रतिपक्ष दलहरूलाई सचेत गराइरहने छ ।
सहिदहरू वर्गसङ्घर्षमा होमिनु भएको दाबी गर्नेहरू अहिले सत्तामा गएर शोषक वर्गको चास्नी पोतेको गोलीमा रमाउँदै छन् । सहिदको तस्बिर अङ्कित हुलाक टिकटमा टाँचा लगाउनु, सहिदको पूर्णकदको सालिक स्थापना गर्नुमात्र सहिदको सपना होइन । न त ‘जय नेपाल’ र ‘लालसलाम’ भन्नु नै सहिदको सपना हो ।
विद्यालय शिक्षा निःशुल्क र अनिवार्य, विश्वविद्यालय शिक्षा निःशुल्क, स्वदेशमा रोजगारी, उत्पादनका मुख्य–मुख्य साधन सामाजिकीकरण, स्वास्थ्य उपचार निःशुल्क सहिदको सपना हो । सिद्धान्तहीन चुनावी गठबन्धन र सत्ताको भागबन्डा सहिदको सपना होइन । यो त सहिदको अपमान हो ।
ब्यालेट (मतपत्र) बाट सुधार सम्भव होला, क्रान्ति सम्भव हुँदैन । क्रान्तिपछि २०–३० वर्षमा हुने काम सुधारले २–३ सय वर्ष लाग्दछ । सोभियत सङ्घमा क्रान्तिका १८–२० वर्षपछि नै त्यहाँको नेतृत्वले देशलाई संसारको दोस्रो अर्थतन्त्रमा पु¥याएको हो ।
व्यवस्था परिवर्तनसँगै अवस्था परिवर्तन भएको भए सरकारले करोड हाराहारीको सङ्ख्यामा युवालाई वैदेशिक रोजगारीमा किन पठाएको ? नेपालमा रोजगारीको अवस्था किन भएन ? विद्यार्थी अभावमा नेपालका ५ सय वटा कलेज बन्द हुन लागेको के अवस्था परिवर्तन हो र ?
महिला बलात्कारपछि हत्या गर्नेलगायत मानव अधिकारको गम्भीर उल्लङ्घन गर्ने र ठुल्ठुला भ्रष्टाचारीसँग सरकारले मित लगाउनु के मानव अधिकारको संरक्षण हो र ? सहिदको सपना हो र ?
काठमाडौँ उपत्यकाको ललितपुर महालक्ष्मी नगरपालिकाअन्तर्गत शान्ति टोलमा ४५ वर्षअगाडि नै ग्यास रहेको पहिचान भए पनि थप अध्ययन गरिएन । त्यो ठाउँ अहिले घर–बस्ती भरिएको छ । ललितपुरको टीकाथलीमा पानीको बोरिङ गर्दा आगोको लप्का निस्कियो । काठमाडौँको जोरपाटी लोसेटारमा बोरिङ गर्दा ग्यास निस्केको सार्वजनिक भयो । विज्ञहरूले यो प्राकृतिक ग्यासको उचित प्रयोग गर्नुपर्ने सुझाव दिएको धेरै भयो । यसबारे कुनै पनि प्रधानमन्त्रीहरू सचेत भएनन् ।
रौतहटका चन्द्रपुर, वृन्दावन, गढीमाई, गुजरा, फटुवा आदि स्थानमा लालबकैया नदीको गिट्टी, बालुवा उत्खनन् गैरकानुनी रूपमा भइरहेको समाचार छ । भक्तपुर चाँगुको बालुवा गैरकानुनी उत्खननमा नगर प्रमुख र वडा सदस्यहरूबिच विवाद छ । ती विषयमा सरकारको कुनै ध्यान गएको छैन ।
(नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले २०८१ फागुन २२ गते प्रतिनिधिसभाको आकस्मिक समयमा राख्नुभएको मन्तव्यको सार – सं)