भक्तपुर, २६ असोज । “अन्तर्राष्ट्रिय एनजीओ र विदेशी पैसा खाएर विदेशीको इसारामा चलेका शासकहरू या राजनीतिक दलहरूले कहिले पनि नेपाल र नेपाली जनताको हित चाहँदैनन्† हितमा काम गर्दैनन् । पद र पैसाको निम्ति विदेशी मालिकको चाहना पूरा गर्न देश र जनतालाई विश्वासघात गर्ने दल र दलका नेताहरूलाई हामीले समयमै चिन्नुपर्छ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले नेमकिपा भक्तपुर नगर समितिद्वारा आइतबार आयोजित नगरस्तरीय कार्यकर्ता भेलामा व्यक्त गर्नुभएको हो ।
समसामयिक राजनीतिक विषयमा आयोजित उक्त भेलामा केन्द्रीय सदस्य प्रजापतिले निर्वाचनको निम्ति तयारी अवस्थामा रहन आग्रह गर्नुभयो ।
सर्वदलीय बैठकमा ठुला दलका नेताहरूले संसद् पुनःस्थापनाको माग गरिरहेको उल्लेख गर्दै उहाँले नयाँ जनादेशको लागि नयाँ निर्वाचनमा जानु नै राम्रो विकल्प भएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले नेपाल संवत् ११४६ को अवसरमा कार्तिक ४ गते बिहान ७ बजे सूर्यमढी र तौमढीबाट सुरू हुने न्हुदँ ¥यालीमा सांस्कृतिक टोली, बाजागाजा समूह, विद्यालय, सहकारी, वाचनालय, पुस्तकालय, खेलकुद समिति, युवा, विद्यार्थी, मजदुर, किसान, उद्योगी, व्यवसायी, बुद्धिजीवी, शिक्षक तथा सर्वसाधारण जनताको सहभागिताको निम्ति आग्रह गर्नुभयो ।
हरेक राजनीतिक दल र आन्दोलनकारी समूहको सैद्धान्तिक र वैचारिक पक्ष स्पष्ट हुनुपर्ने धारणा राख्दै उहाँले अमेरिकाको सहयोगमा इजरायलले प्यालेस्टिनमाथि आक्रमण गरेर धनजनको क्षति पु¥याएको कार्यको नेमकिपाले देशको विभिन्न ठाउँमा विरोध प्रदर्शन र सभाको आयोजना गरेको बताउनुभयो ।
अमेरिकी साम्राज्यवादले चीनलाई अप्ठेरोमा पार्न अनेक षड्यन्त्र गरिरहेको तर्फ सचेत हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले एमसीसीमा हस्ताक्षर गर्ने दलहरूको विरोध गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेमकिपा नगर समिति भक्तपुरका उपाध्यक्ष लक्ष्मीभक्त लासिवाले नेपालमा विदेशीहरूले वंशजको आधारमा नागरिकता लिन पाउने व्यवस्थाले देशलाई दूरगामी असर पर्ने बताउनुभयो ।
भेलामा भनपाका उपप्रमुख रजनी जोशीले असोज ३ देखि ८ गतेसम्म तिब्बतको सिन्च्याङ प्रान्तको शाननान नगरपालिका र भक्तपुर नगरपालिकाको भगिनी सम्बन्ध नवीकरणबारे जानकारी दिनुभयो ।
भेलामा पुरुषोत्तम तमखुले पनि बोल्नुभएको थियो ।