क्तपुर, २९ असोज । नेपाल मजदुर किसान पार्टीको केन्द्रीय सल्लाहकार समितिको बैठक मङ्गलबार भक्तपुरमा सम्पन्न भयो ।
नेमकिपाका अध्यक्ष तथा केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा बसेको सो बैठकमा वर्तमान राजनीतिक सङ्कट तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल भयो ।
बैठकमा अध्यक्ष रोहितले देशमा विकसित राजनीतिक घटनाक्रम एमसीसीसँग सम्बन्धित भएको प्रस्ट पार्दै विदेशीले तालिम दिएका मानिसहरू देशको मुख्य मुख्य ठाउँमा पुग्दा यो सङ्कटको घडी आएको बताउनुभयो ।
राज्य सत्ताको माथिल्लो तहका मानिसहरूको जानकारीमा सम्पूर्ण घटना घटेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हाम्रो सरकार सरकारजस्तो नै भएन । हाम्रो संसद् संसद्जस्तो नै भएन । यहाँ नीतिको विषयमा होइन नेतृत्वको विषयमा विवाद या झगडा भयो ।”
अध्यक्ष रोहितले भन्नुभयो, “पश्चिमाहरूले एमालेलाई कम्युनिस्ट ठान्नु नै गलत भयो । हामीले नेपाली जनता र विश्व जगतलाई एमाले कम्युनिस्ट होइन भनेर प्रस्ट पार्ने प्रयास ग¥यौँ । कसैलाई धोका नहोस् भनेर हामीले आफ्नो कर्तव्य पूरा गरेका हौँ ।”
उहाँले भन्नुभयो, “एमालेले पार्टीको नाउँ फेर्नु उपयुक्त हुनेछ । भोट बटुल्नमात्र किन कम्युनिस्ट नाउँ राख्ने ?”
उहाँले स्पष्ट शब्दमा भन्नुभयो, “कम्युनिस्ट विचार संसारकै नयाँ विचार हो । सच्चा कम्युनिस्टहरू सधैँ जवान नै हुन्छन् ।”
नेपाल ‘एक चीन नीति’ को पक्षमा सुरुदेखि नै भएको जगजाहेर छ भन्दै अध्यक्ष रोहितले भन्नुभयो, “दलाइ लामा तिब्बतका दास मालिकहरूको संस्था हो । राजतन्त्र जस्तै पूर्वेली सभ्यता र बौद्ध संस्कृतिबारे अध्ययन गर्नु आवश्यक छ ।”
अध्यक्ष रोहितले निर्वाचन भएमा नेमकिपाले उपयोग गर्ने स्पष्ट पार्नुभयो ।
बैठकमा जिल्ला–जिल्ला तथा ठाउँ–ठाउँमा साहित्यिक तथा सांस्कृतिक गतिविधिमार्फत नेपाली कामदारवर्गलाई शिक्षित गर्नुपर्ने, पार्टी कार्यकर्ताहरूबिच पार्टी विधानबारे कक्षा सञ्चालन गर्नुपर्ने आदि विषयमा छलफल भयो ।
बैठकमा केन्द्रीय सल्लाहकारहरूले आ–आफ्ना विचार व्यक्त गर्नुभयो । उहाँहरूले राख्नुभएको जिज्ञासाबारे अध्यक्ष रोहितले स्पष्ट पार्नुभयो ।