बाँके, ३० असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले निर्वाचन जनताको ताजा आदेश लिने अवसर हो; तोकिएको मितिमा निर्वाचन हुननसके देशको स्थिति झन् खराब हुने बताउनुभयो ।
पार्टी जिल्ला समिति बाँकेले कोहलपुरमा आयोजना गरेको लुम्बिनी प्रदेश समितिका सदस्य तथा जिल्ला समिति सदस्यहरूको कक्षामा बोल्दै उहाँले भन्नुभयो,“ तर, निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनुपर्छ । निर्वाचनमा जनतालाई पैसा बाँड्ने शासक दलका उम्मेदवारहरूको उम्मेदवारी खारेज गर्नु आवश्यक छ ।”
अध्यक्ष रोहितले स्थानीय तहमा स्वायत्तता र विकन्द्रीकरणको व्यवस्था भएको भए प्रदेश संरचना आवश्यक नहुने विषय सुरुदेखि राख्दै आएकोमा जोेड दिँदै सङ्घीयता बाँदरको पुच्छर लौरो न हतियारजस्तो भएको जनप्रतिक्रियातर्पm सरकारहरू सचेत नभएको बताउनुभयो ।
प्रदेशका प्रमुख र मुख्यमन्त्रीहरूको सरकारी निवास काठमाडौँमा बनाउने र सङ्घ तथा प्रदेशका मन्त्री र सांसदहरू सबै काठमाडौँमै घर बनाउने भए प्रदेशको औचित्य नभएको स्पष्ट हुने उहाँले बताउनुभयो ।
अध्यक्ष रोहितले नेमकिपाका कार्यकर्ताहरू अन्य शासक पार्टीहरूभन्दा शिक्षित तथा इमानदार हुनुपर्नेमा जोड दिँदै विदेशी पैसाबाट सञ्चालित गैरसरकारी संस्थाहरूमा लागेकाहरूबाट स्वदेशको सेवा हुन सक्दैन भन्नुभयो । युवाहरूले विदेशमा सिकेर देश र जनताको सेवा गर्ने भावना राख्न जरुरी छ, उहाँले उल्लेख गर्नुभयो ।
पार्टी बाँके जिल्ला समितिका सदस्यहरूले पार्टीको विकासको निम्ति आफ्ना सुझावहरू राख्नुभएको थियो ।
यसैबिच नेमकिपा लुम्बिनी प्रदेश समितिको बैठक कोहलपुरमा बस्यो ।
बैठकमा पार्टीका सचिव प्रेम सुवालले उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण हुने समाजवादी व्यवस्थामा मात्र सबै जनताको निम्ति शिक्षा र स्वास्थ्य निःशुल्क तथा देशभित्र रोजगारीको बन्दोबस्त हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपा कामदारवर्गको पार्टी हो । सरकारमा गएका पुँजीवादी पार्टी र तिनका नेताहरूले देश र जनताको निःस्वार्थरूपमा सेवा नगरेको हुँदा आजको सङ्कट आएको हो ।”
उहाँले शासक दलहरू सबै मिलेर नेमकिपाविरुद्ध मोर्चा बनाएको सर्वसाधारण जनतालाई थाहा भएको विषय हो भन्नुभयो ।
“देश र जनताको निः स्वार्थ रूपमा सेवा नगर्नेहरू नेमकिपा छोडेर पुँजीवादी पार्टीमा लाग्नु आश्चर्यको विषय होइन । जस्तोसुकै विपत्तिमा पनि क्रान्तिकारीहरूले मजदुरवर्गको सङ्गठन गर्न लागिपरेको यथार्थबाट नेमकिपाका कार्यकर्ताहरूले प्रेरणा लिनु आवश्यक छ ।” उहाँले प्रस्ट्याउनुभयो ।
बैठकमा पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाई, कर्णाली प्रदेश समिति सदस्य शिवलाल डाँगीलगायत प्रदेश समिति सदस्यहरूले आ–आफ्नो विचार राख्नुभएको थियो ।
उहाँहरूले पार्टीका नेता तथा कार्यकर्ताहरूले देश र जनताको इमानदारीपूर्वक र निःस्वार्थपूर्वक सेवा गरिरहेको बताउनुभयो । पुँजीवादी व्यवस्थामा श्रमजीवी जनताको हित नहुने हुँदा समाजवादी व्यवस्थाको निम्ति सङ्घर्षबाहेक अर्काे विकल्प नभएको उहाँहरूको भनाइ थियो ।