काठमाडौँ, ११ कार्तिक । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले कार्यकर्ताहरूले राजनीतिक र सांस्कृतिक स्तर माथि उठाउन पार्टी प्रकाशनको अध्ययनलाई जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।
पार्टी जिल्ला समिति काठमाडौँका कार्यकर्ताहरूसँगको छलफलमा मङ्गलबार सचिव सुवालले केही व्यक्तिको हित हुने पुँजीवादी विचारलाई त्यागेर व्यापक जनताको हित हुने समाजवादी विचारबाट जनतालाई सचेत र सङ्गठित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
राजनीतिक परिवर्तनको नेतृत्व उमेरले भन्दा पनि सिद्धान्त र विचारले गर्ने यथार्थ उल्लेख गर्दै सचिव सुवालले भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण हुने र ठुला भ्रष्टाचारीलाई मृत्युदण्डसमेत हुने कानुनी व्यवस्था जरुरी भएको औँल्याउनुभयो ।
सचिव सुवालले थप्नुभयो, “विदेशी रकमबाट सञ्चालित राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूबाट देश र जनताको हित हुने छैन । विदेशीको उक्साहतमा देशमा परिवर्तनभन्दा पनि विनाश हुन्छ ।”
संयुक्त राष्ट्र सङ्घका महासचिव गुटर्रेसले हतियार र युद्धमा बजेट खर्च नगरी शान्तिको लागि खर्च गर्नुपर्ने दोहो¥याएको उल्लेख गर्दै सचिव सुवालले साम्राज्यवादीहरूको भनाइ र व्यवहार फरक हुनेतर्फ सबै जनता सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
छलफलमा पार्टी जिल्ला समिति काठमाडौँका अध्यक्ष नारायण महर्जनले पार्टी विधान र कार्यक्रमबाट शिक्षित भएका कार्यकर्ताहरू भरपर्दाे हुने उल्लेख गर्नुभयो ।