दैलेख, मङ्सिर ६ । नेपाल मजदुर किसान पार्टी चामुण्डा बिन्द्रासैनीको तेस्रो नगर सम्मेलन चानपा–६, जम्बुकाँधमा शनिबार सुरु भएको छ । नगरपालिकाको केन्द्र जम्बुकाँध बजारमा आयोजित एक समारोहबिच नेमकिपाका केन्द्रीय सचिवालय सदस्य नन्दबहादुर शाहीले सम्मेलनको उद्घाटन गर्नुभएको हो ।
सांस्कृतिक झाँकी तथा नारासहितको जुलुस प्रदर्शनपछि आयोजित सभामा सम्बोधन गर्दै केन्द्रीय सदस्य नन्दबहादुर शाहीले जनतालाई धोका दिनेहरूले एकदिन जनतासँग माफी माग्नु पर्ने बताउनुभयो । उहाँले कर्णालीका धेरै गाउँ मन्त्रीले भरिएका छन् तर मन्त्रीले भरिँदैमा विकास हुने होइन भन्दै हामी लोभ–लालच, जात र क्षेत्रको पक्षमा लाग्नु गलत छ भन्नुभयो ।
केन्द्रीय सदस्य शाहीले भन्नुभयो, “देश जलिरहँदा शासक दल र तिनका कार्यकर्ता मूकदर्शक भएर बस्नु सत्तालिप्सा, अराजक र सिद्धान्तहीन राजनीतिको उपज हो । शासक दलका कार्यालय र नेताका घरहरू जल्दा कार्यकर्ताहरू कहाँ कुन दुलोमा लुकेका थिए ?”
नेमकिपा केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश संयोजक सरोजराज गोसाईले नेपालको सन्दर्भमा भारतीय विस्तारवाद तथा एकाधिकार पुँजी नै मख्य शत्रु भन्ने कुरा पुष्टि भएको धारणा राख्नुभयो । उहाँले नेपाललाई अस्थिर बनाएर धमिलो पानीमा माछा मार्ने विस्तारवादी तथा साम्राज्यवादी शक्तिकै कारण नेपाल अगाडि बढ्न नसकेको भन्दै नेमकिपाले विजय पाएका पालिकाहरुमा इमानदारीसाथ काम गरिरहेको विचार राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले अवसरवादी चरित्रले देश विकास हुन नसकेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य बखत थापाले देश जोगाउन देशभक्तिको भावना आवश्यक भएको बताउनुभयो । पुँजीवादले आफ्नो चिहान खन्ने र पुँजीवादका दलालहरू खाल्डोमा पर्ने थापाले बताउनुभयो ।
वैकल्पिक केन्द्रीय सदस्य प्रकाश गुरुङले नयाँ व्यक्तिले नेतृत्व गर्नु ठुलो कुरा होइन, उसले अँगाल्ने विचार देश र कामदार जनताको पक्षमा छ कि छैन भन्ने कुरा महत्वपूर्ण हुन्छ भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तुल्सी खड्काले राजनीति भनेको देश र जनताको निःस्वार्थरूपमा सेवा गर्नु हो भन्नुभयो । नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य विनोद विकले सर्वहारा जनता र देशको हितमा प्रगतिशील गीत प्रस्तुत गर्नुभयो ।
नेमकिपा दैलेखका संयोजक जगत ओलीले पुँजीवादी शासक दलका कारण जनताले दुःख पाएको बताउनुभयो ।
उद्घाटन समारोहमा धनकुमारी शाही, जयबहादुर बडुवाल, कृष्ण ढकाल, लवराज ढकाल, केशव खड्का (गणेश) ले पनि बोल्नुभएको थियो । समारोहपश्चात् देउडा गायक जयबहादुर थापा र गायिका सपना रावलले देउडा गीत र नाच प्रस्तुत गर्नुभएको थियो ।