क्तपुर, २२ मङ्सिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको स्थापना दिवसको अवसरमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग सोमबार एक अन्तरक्रियात्मक कार्यक्रम गरियो ।
नेक्राविसङ्घको २४ औँ भक्तपुर जिल्ला सम्मेलन तयारी समितिको आयोजनामा भएको उक्त कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले आफ्नो विद्यार्थी कालको समयको स्मरण गर्दै विद्यार्थीले पाठ्यपुस्तकको साथै राष्ट्रिय अन्तर्राष्ट्रिय ग्रन्थहरू पनि अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
हरेक विद्यार्थीले व्यक्तित्व विकासको निम्ति विभिन्न कार्यक्रममा सरिक हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले ज्ञानको घेरा बढाउन बरोबर पुस्तकालयमा गएर अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
आफ्नो दिमागलाई भार पर्ने गरी एकैपटक धेरै अध्ययन गर्नुको सट्टा अलि अलि पढ्ने बानी बसाले अध्ययन प्रभावकारी र स्मरणीय हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “विद्यार्थीले सदाचारको कुरा जानी राख्नुपर्छ । शिष्ट, सभ्य र अनुशासित हुनुपर्छ । हरेक विषयलाई आलोचनात्मक दृष्टिकोणबाट हेर्नुपर्छ ।
सामाजिक सञ्जालमा आएका हरेक कुरामा विश्वास गर्न नहुने, कुनै विषयमा अन्योल भए अग्रजसँग सहकार्य गर्नुपर्ने र राम्रो ज्ञानमात्र आर्जन गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष रोहितले विद्यार्थीहरू अराजक र उच्छृङ्खल गतिविधिमा सहभागी हुन नहुने बताउनुभयो ।
उहाँले प्रगतिशील साहित्य अध्ययन गर्न जोड दिनुभयो ।
भेलामा नरेश खत्री, स्यानोरिता सितिखु, निश्चल राजचल, नीशा थापा, श्रद्धा कोजु, मञ्जिला फाजु र सुजी ह्योंगोजुलगायतले बोल्नुभएको थियो ।