भक्तपुर, २६ मङ्सिर । नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर नगर समितिको आयोजनामा देशको समसामयिक राजनीतिक विषयमा महिला भेला शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेमकिपाले जिल्ला–जिल्लामा कार्यकर्ता भेला गरी जनतालाई राजनीतिक रूपमा सचेत र सङ्गठित गर्ने काम गरिरहेको बताउनुभयो ।
विश्वमा युद्ध र आपराधिक घटना बढिरहनुमा अमेरिकी साम्राज्यवाद प्रमुखरूपमा दोषी रहेको उल्लेख गर्दै केन्द्रीय सदस्य गोसाईले महिलाहरू राजनीतिकरूपमा अझ बढी सचेत हुनु जरूरी छ भन्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजुले महिलाहरूको भूमिका समाज परिवर्तनको लागि महत्वपूर्ण हुने बताउनुभयो ।
नेमकिपाले पार्टी स्थापनाकालदेखि नै भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद, सीमा अतिक्रमण, भ्रष्टाचार र महँगीको विरोध गर्दै आएको उहाँले बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका गङ्गाराम ज्याख्वले पार्टीका भूमिकाबारे चर्चा गर्दै अग्रज पार्टी कार्यकर्ताहरूको योगदानले कहिल्यै बिर्सन नहुने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष रामेश्वरी कोजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा रञ्जना सुवाल र मञ्जु लाखाले पनि बोल्नुभएको थियो ।