भक्तपुर, ९ पुस । नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा विश्व सर्वहारावर्गका महान गुरूहरू जोसेफ स्तालिनको १४७ औँ र माओ त्सेतुङको १३२ औँ जन्म दिवसको अवसरमा मङ्गलबार मजदुर भेला भयो ।
उक्त भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले विभिन्न समुदायका मजदुर र किसानहरू राजनीतिकरूपले सचेत र सङ्गठित भइसकेको अवस्थामा राज्य सत्तामात्रै होइन व्यवस्था नै परिवर्तन हुनेछ भन्नुभयो ।
नेपालमा अशान्ति मच्चाउन भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादले चलखेल गरिरहेको सन्दर्भ जोड्दै उहाँले २००७ सालमा भारतीय विस्तारवादको सल्लाहमा राणाहरूलाई हटाएको उल्लेख गर्दै उहाँले माओवादीहरूमात्र होइन हाल देखापरेका नयाँ दलहरू पनि विदेशी शक्ति राष्ट्रहरूको इसारामा चलिरहेको बताउनुभयो ।
बहुसङ्ख्यक जनतामा राजनीतिक सचेतता नभएकै कारण शासकहरूले जनतालाई भ्रम फैलाइरहेको उल्लेख गर्दै उहाँले जनतालाई सचेत र सङ्गठित नगरिकन परिवर्तन सम्भव छैन भन्नुभयो ।
‘नेपालमा जेन–जीको नाउँमा अमेरिकाको सत्तापलटः एक खुलासा’ भन्ने अमेरिकी पत्रकारको लेख र ‘साम्राज्यवादीहरूको छद्मयुद्ध नेपालमा भएको’ भन्ने लेख युवा, विद्यार्थी, मजदुर, किसान र शिक्षकहरूले अध्ययन गरी नयाँ पुस्तालाई बताउनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
सोभियत रूसमा लेनिन र स्तालिनले सत्ता सम्हालेपछि साम्राज्यवादी देश अमेरिकाले ३ सय वर्ष लगाएर गरेको विकास ३०–४० वर्षमा गरेर देखाएको स्पष्ट पार्दै सचिव सुवालले हाल त्यस देशमा नगरपालिकाको काम भनेको ठुलठुला चौडा सडकहरूमा हिउँ सफा गर्नेमात्र भएको, अरू सबै काम सोभियत सरकारले गरिसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले हरेक असल र समाज परिवर्तनमा योगदान गर्ने क्रान्तिकारी व्यक्तित्वहरूको जीवनी पढ्ने बानी बसाल्नुपर्छ । मजदुरहरूले हरेक पलपलको घटनाक्रमबारे जानकारी लिइरहनुपर्छ; त्यसको निम्ति पार्टी प्रकाशनहरू निरन्तर अध्ययन गरिरहनुपर्छ ।”
सचिव सुवालले थप्नुभयो, “हाम्रो देशका ठुला पार्टीहरूले दोहोरो चरित्र देखाइरहेका छन्† जनतालाई धोखा दिइरहेका छन् ।”
आयोजक समितिका अध्यक्ष उपेन्द्र सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष गङ्गाराम ज्याख्व, सिकर्मी सङ्घका अध्यक्ष बिक्रम ढुकुछु, मजदुर सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष गणेशप्रसाद सुवाल र रमेश दुमरूले पनि बोल्नुभएको थियो ।