भक्तपुर, १० पुस । नेपाल क्रान्तिकारी युवा सङ्घ चाँगुनारायण नगर समितिको आयोजनामा बिहीबार अन्तरसंवाद एवम् प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा अध्यक्ष रोहितले भन्नुभयो, “प्रजग कोरियामा निजी सम्पत्ति कसैको छैन । सबै जनतालाई राज्यले हेरविचार गर्छ । जनता राज्यप्रति उत्तरदायी छन् । जनताको भरमा प्रजग कोरिया आफ्नै खुट्टामा उभिएको छ । सबै जनता सैनिकरूपले तयार छन् । साम्राज्यवादीहरूको धम्कीसामु उनीहरू फिटिक्कै झुक्दैनन् । उनीहरू देशलाई बलियो बनाउन प्रतिबद्ध छन् । नेपाली जनताले पनि प्रजग कोरियाबाट प्रेरणा लिनुपर्छ ।”
“शासक दलहरूले अमेरिकी नीति कानुन पालना गर्नुपर्ने एमसीसी सम्झौता पारित गरे । त्यसको परिणाम अहिले देखिँदै छ । नेपाली जनताले पनि विदेशीको सामु घुँडा टेक्ने राजनीतिक दलहरूलाई मत दिनुहुन्न । त्यस्ता दलहरूलाई दिएको मतले देश जान सक्छ† पछि पछुताएर हुन्न” उहाँले थप्नुभयो ।
नेपाल मजदुर किसान पार्टी पैसा र पदको मोलमोलाइमा कहिल्यै नलागेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले देश र जनताको हितबाहेक पार्टीको अरू कुनै स्वार्थ नरहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुयो, “कम्युनिस्ट कार्यकर्ताहरू देश र जनताको पक्षमा प्रतिबद्ध भएर समाज परिवर्तनको निम्ति लाग्नुपर्छ । विलासी जीवनमा नभुली क्रान्तिको निम्ति दुःखकष्ट सहन पनि तयार हुनुपर्छ । मनमा लोभ पाल्नुहुन्न । जस्तोसुकै सङ्कटको घडीमा पनि विचलित हुनुहुन्न । अनुशासनमा बस्नुपर्छ । खराब लतमा लाग्नुहुन्न ।”
बम बारूदभन्दा विचार ठुलो हुनेमा स्पष्ट हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले हातहतियार थुप्रो भएको कुनै देशले धम्काउँदैमा सार्वभौम सम्पन्न देशका जनता डराउनु जरुरी नभएको विचार राख्नुभयो ।
उहाँले सांस्कृतिकस्तर उच्च रहेका देशभक्त जनता कुनै साम्राज्यवादीसामु झुक्ने छैनन् भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “संसदीय व्यवस्थामा बहुमत हुनेले सरकार बनाउने हो, बहुमत नहुने राजनीतिक दल प्रतिपक्षमा बस्ने हो । शासक दलहरूले यो सिद्धान्तको पालना गरेनन् । नेपाल मजदुर किसान पार्टीले संसद्मा प्रखर प्रतिपक्षीको भूमिकामा रहेर आफ्ना कर्तव्य पूरा गरेको छ । नेपाली काङ्ग्रेस पुँजीवादी पार्टी हो, उसले पुँजीपतिहरूको पक्षमा काम गर्नु स्वाभाविक हो । कम्युनिस्ट नामधारी एमाले पनि भाइकाङ्ग्रेस बन्यो । कम्युनिस्ट कार्यकर्ताहरूले यस्ता संशोधनवादी पार्टीहरूको आलोचना गरेर जनतालाई सत्य बताउनुपर्छ ।”
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले पुँजीवादी पार्टी र सरकारहरूले युवाहरूलााई धूमपान, मदिरा र लागुपदार्थलगायत दुव्र्यसनमा फसाएको उल्लेख गर्दै युवा बिगार्ने सरकारहरूले देश पनि बिगार्ने बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीले युवाहरूलाई देश र जनताको निःस्वार्थ सेवा गर्न उत्साहित गरिरहेको छ । यसको लागि युवाहरूले संसारका योद्धाहरूको जीवनी र आन्दोलनबारे अध्ययन गर्नु जरुरी छ ।”
“रुसका बोल्सेभिक कम्युनिस्टहरू पुँजीवादी सरकारमा गएनन् । नेपालमा कम्युनिस्ट दाबी गरेका माले (अहिले एमाले), माओवादी (अहिले नेपाली कम्युनिस्ट पार्टी) लगायत दलहरू पुँजीवादी सरकारमा गएर देश र जनताको विरोधमा काम गरे” उहाँले बताउनुभयो ।
सचिव सुवालले पैँतीस वर्षयता सरकारमा गएका पार्टीहरूले देश र जनताको समस्या समाधान नगरेको हुँदा सर्वसाधारण जनतामा असन्तुष्टि चुलिएको बेला अमेरिकी र भारतीय सरकारले भदौ २३ र २४ गते विध्वंस मच्चाउन मलजल गरेको खुलिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीको प्रकाशन अध्ययन र अन्तरक्रिया गर्ने युवाहरूले देश र बाँकी संसारलाई बुझ्नेछन् । पुँजीवादी पार्टी र तिनका कार्यकर्ताहरूसँग वैचारिक सङ्घर्षमा विजय प्राप्त गर्नेछन् ।”
उहाँले आमूल परिवर्तनको निम्ति पुस्तौँ लाग्न सक्ने उल्लेख गर्दै युवाहरूको राजनीतिक चेतना माथि उठेमा आमूल परिवर्तन छिटो आउन सक्ने पनि चर्चा गर्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले गलत सूचना प्रवाह गर्ने सामाजिक सञ्जालहरूले समाजमा भ्रम छरेको उल्लेख गर्दै मानिसलाई एकसुरको बनाइदिने र कलिला बालबालिकाको मगजमा गलत विचार भरिदिने सामाजिक सञ्जालहरूको खण्डन गर्नु जरुरी रहेको बताउनुभयो ।
उहाँले साम्राज्यवादीहरूले चीनलाई वर्षौँसम्म अफिमको लतमा फसाएको र एनजीओ आइएनजीओमार्फत सोभियत रुसलाई टुक्र्याएको इतिहासबाट नयाँ पुस्ताले सिक्नु जरुरी रहेको औँल्याउँदै फासीवादीहरूले जात, भाषा, क्षेत्रको नाममा राजनीति गरेर समाजलाई छिन्नभिन्न पार्नसक्नेतर्फ पनि नयाँ पुस्ता सचेत हुनु जरुरी रहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ चाँगुनारायण नगर समितिका अध्यक्ष एलएन लिगलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेक्रायुसङ्घका उत्तम साखकर्मी र हरिसुन्दर छुकांले पनि बोल्नुभएको थियो ।