कैलाली, १० पुस । नेपाल क्रान्तिकारी महिला सङ्घ जिल्ला समिति कैलालीको आयोजनामा स्तालिनको १४७ औँ र माओ त्सेतुङको १३२ औँ जन्म दिवसको अवसरमा बिहीबार प्रशिक्षण कार्यक्रम लम्किचुहा न.पा.५ तिलकपुरमा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा सुदूरपश्चिम प्रदेश सदस्य तथा कैलाली सचिव गगनबहादुर थापा मगरले स्तालिन र माओ त्सेतुङ विश्व सर्वहारावर्गका महान् गुरु भएकाले उहाँँहरूको जन्म दिवस संसारका कम्युनिस्टहरूले मनाउने गरेको बताउनुभयो ।
उहाँँले महान् व्यक्तिहरूमध्ये माओ त्सेतुङ पनि विश्व चर्चामा आउने व्यक्ति हुनुहुन्थ्यो भन्दै उहाँँकै कारण चीन स्वतन्त्र भएको उल्लेख गर्नुभयो । उहाँँले चीन आर्थिक रूपले अघि बढ्नु चीनको समाजवादी व्यवस्थाका कारण भएको बताउनुभयो । उहाँँले असल नेता र नेतृत्वले गर्दा देशले कति छिटो प्रगति गर्छ भन्ने कुरा चीनबाट प्रमाणित भएको छ भन्नुभयो ।
उहाँँले नेमकिपाको लक्ष्य भनेको समाजवादी व्यवस्था हुँदै वैज्ञानिक साम्यवादसम्म पुग्ने रहेको बताउँदै सम्पूर्ण कार्यकर्ताहरूले पार्टीको लक्ष्यअनुरूप काम गरी गाउँगाउँमा मजदुर र किसानलाई राजनीतिक रूपमा सचेत पार्नुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ कैलाली अध्यक्ष लक्ष्मी पुनले कम्युनिस्टका गुरु स्तालिन र माओ त्सेतुङको जन्म दिवस संसारका मजदुर र किसानले मनाइरहेको बताउँदै देश जोगाउन हामी नै सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले कम्युनिस्टहरूले निःस्वार्थ रूपले विश्वका सर्वहारावर्गको हितको निम्ति काम गर्ने उल्लेख गर्दै नेमकिपा एक सच्चा कम्युनिस्ट पार्टी रहेको बताउनुभयो ।
नेक्राशिसङ्घ कैलाली अध्यक्ष जीएसले माओ त्सेतुङको जीवनीबारे प्रशिक्षणा दिँदै माओ त्सेतुङ एक गरिब परिवारमा हुर्कनुभएको बताउनुभयो । उहाँले चीनमा माओले स्कूलमा सङ्गठन बनाउने गरेको चर्चा गर्दै चीनलाई मुक्ति बनाउने काम गर्नुभयो । उहाँले गाउँगाउँका किसानहरूलाई सङ्गठित गरी समाजवाद लागु गर्ने काम गर्नुभयो । उहाँले देशप्रेमी पुँजीपतिहरूलाई साथमा लिएर दलाल पुँजीवादीहरूसँग लडी चीनमा समाजवादी व्यवस्था ल्याउनुभएको बताउनुभयो ।
उहाँले जोसेफ स्तालिनको जीवनीबारे चर्चा गर्दै लेनिनलाई साथ र समर्थन गर्ने र माक्र्सवादी सिद्धान्तलाई लागू गरी समाजवादी व्यवस्था लागु गर्न स्तालिनले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
कार्यक्रममा नेक्रायुसङ्घ कैलालीका अध्यक्ष प्रेम सिजापती, नेमकिपा कैलाली सदस्य तारा तिरुवा, नेक्राविसङ्घ कैलाली अध्यक्ष एचवी र नेक्रामसङ्घ कैली सचिव जानकी सिजापतीले पनि बोल्नुभएको थियो ।