भक्तपुर, १४ पुस । नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालको आयोजनामा विश्व सर्वहारावर्गका महान गुरुहरू स्तालिनको १४७ औँ र माओ त्सेतुङको जन्म दिवस कार्यक्रम स्थानीय राय टोलमा सोमबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला उपाध्यक्ष एवम् चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजुले सन् १९१७ को अक्टोबर समाजवादी क्रान्ति सफल पार्नको लागि लेनिन र स्तालिनले खेलेको भूमिका तथा सन् १९४९ को चिनियाँ समाजवादी क्रान्ति सफल पार्नको लागि माओ त्सेतुङले खेलेको भूमिकामाथि प्रकाश पार्दै नेपालमा पनि समाजवादी क्रान्ति सफल पार्न कामदारवर्गका जनता सचेत, सङ्गठित र सङ्घर्षशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले नेमकिपाका कार्यकर्ताहरू त्यागी, निडर, समाजसेवी भई जनताको सेवामा समर्पित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले चानपामा व्यापक बेथिति, विकृति–विसङ्गति, अनियमितता, पक्षपात र भ्रष्टाचार भएका समाचारहरू बरोबर बाहिरिएकोले सो विषयमा पनि कार्यकर्ताहरूले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
नेमकिपा चानपा उपाध्यक्ष कुशबहादुर कार्कीको सभापतित्वमा भएको उक्त कार्यक्रममा सन्तराम दुलालले पनि बोल्नुभएको थियो ।