काठमाडौँ, २५ पुस । दक्षिण अमेरिकी सार्वभौम र स्वतन्त्र मुलुक भेनेजुयलामाथि संरा अमेरिकी सेनाले गरेको कायरतापूर्ण एवम् बर्बर हमला गरी भेनेजुयलाका जननिर्वाचित राष्ट्रपति निकोलस मादुरो र प्रथम महिला सिलिया फ्लोरेसलाई राजधानी काराकासबाट बलजफ्ती अपहरण गरी संरा अमेरिका लगेर झूटा मुद्दा चलाएको विरोधमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घको आयोजनामा शुक्रबार विरोध प्रदर्शन भयो ।
काठमाडौँको रत्नपार्कमा भएको सभामा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भन्नुभयो, “संरा अमेरिकाको ट्रम्प प्रशासनले पुस १९ गते भेनेजुयलामा बम वर्षा गरी त्यहाँका राष्ट्रपति मादुरो र उहाँकी पत्नीलाई अपहरण गरेर अमेरिकी अदालतमा लागुपदार्थ तस्करीको आरोपमा मुद्दा चलायो । नेमकिपाले पुस २० गते भेनेजुयला र ल्याटिन अमेरिकामा ट्रम्प प्रशासनको विरोध गरी मादुरो दम्पतीको सकुशल फिर्ताको लागि आह्वान ग¥यो ।”
नेपाली कामदारवर्ग र अमेरिकी कामदारवर्ग मित्र भएको र नेपाली जनताको विरोध संरा अमेरिकी साम्राज्यवादको भएको स्पष्ट पार्दै सचिव सुवालले भन्नुभयो, “ट्रम्प प्रशासनको जङ्गली शासनको विरोधमा संरा अमेरिकी जनताले मिनियापोलिसमा झन्डा जलाए भने ग्रीसको एथेन्समा पनि संरा अमेरिकी झन्डा जलाइयो ।”
संयुक्त राष्ट्र सङ्घको बडापत्रमा संसारमा युद्ध रोक्ने, मानव अधिकारको प्रत्याभूत गर्ने, अन्तर्राष्ट्रिय कानुनको पालना गराउने, सामाजिक उन्नति र स्वतन्त्रतासहितको जीवन बनाउने, शान्ति सुरक्षा प्रत्याभूत गर्ने, अन्तर्राष्ट्रिय कानुनको पालना गराउने, हतियार र बल प्रयोग गर्न नदिने, साझा हित हेर्ने उल्लेख छ, सचिव सुवालले उल्लेख गर्नुभयो ।
“संरा अमेरिकाको ट्रम्प प्रशासनको भेनेजुयलामा आक्रमण र ल्याटिन अमेरिकामा धम्की संयुक्त राष्ट्र सङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन हो । अन्तर्राष्ट्रिय विवाद समाधान गर्ने संरा सङ्घअन्तर्गतको निकाय अन्तर्राष्ट्रिय अदालत हो, ट्रम्प प्रशासन होइन”, उहाँले स्पष्ट गर्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “संरा सङ्घको सुरक्षा परिषद्मा फ्रान्स, रूस र चीनले भेनेजुयलामाथि ट्रम्प प्रशासनको हमलाको निन्दा गर्दै राष्ट्रपति मादुरो दम्पतीको तत्काल रिहा गर्न जोड दिए । त्यही समयमा संरा अमेरिकी विदेशमन्त्री मार्को रूबियोले संरा सङ्घको निर्णयबारे आफूलाई चासो नभएमो अहङ्कार व्यक्त गरे ।”
उहाँले थप्नुभयो, “ट्रम्प प्रशासनको राष्ट्रिय सुरक्षा नीति २०२५ नोभेम्बरमा संसारमा संरा अमेरिका पहिलो हुने, नाटो देशहरूलाई कुल गार्हस्थ उत्पादन (जीडीपी) को ५ प्रतिशत बजेट राख्न लगाएको, संरा अमेरिकी डलरलाई विश्वमा आरक्षित मुद्रा बनाउने दाबी गरिएको छ । सो नीतिमा अन्य देशलाई आफूभन्दा बलियो हुन नदिने र सन् १९९० मा युरोपेली देशको विश्वव्यापी जीडीपीमा २५ प्रतिशत हिस्सा पुगेको तर अहिले १४ प्रतिशतमा झरेको उल्लेख छ ।”
सचिव सुवालले भन्नुभयो, “ट्रम्प प्रशासनले भेनेजुयलामा आक्रमण अघिबिजुली निभाएर अँध्यारो पारेको थियो । सार्क विद्युत् ग्रीड सम्झौताको नाममा शासक दलहरूले नेपालको बिजुली बाल्ने र निभाउने स्वीच दिल्लीमा राख्ने उल्लेख गरेको खारेज हुनुपर्छ ।”
सभामा नेमकिपाका नन्दबहादुर शाही, रवीन्द्र ज्याख्व, सिर्जना सैंजू, हरिसुन्दर बासी र रमेश डंगोलले पनि बोल्नुभएको थियो ।
सभामा केन्द्रीय सदस्य सरोजराज गोसाईले अमेरिकी राजदूतावासमा बुझाइएको विरोध पत्र वाचन गर्नुभएको थियो ।
नेक्राविसङ्घ काठमाडौँका अध्यक्ष रोजित महर्जनले भेनेजुयलामाथि संरा अमेरिकाले गरेको हस्तक्षेपको विरोधमा नेक्रायुसङ्घ र नेक्राविसङ्घले प्रकाशित गरेको अपिल वाचन गर्नुभएको थियो ।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईको नेतृत्वमा गएको टोलीले भेनेजुयलामाथि अमेरिकी साम्राज्यवादको बर्बरतापूर्ण हमलाको विरोधमा नेमकिपाको विरोधपत्र महाराजगञ्जस्थित संरा अमेरिकी राजदूतावासमा बुझाएको थियो ।
सभाअघि रत्नपार्कबाट सुरू भएको विरोध जुलुस, भोटाहिटी, असन, त्यौड, बाङ्गेमुडा, जुद्ध सालिक, न्युरोड हुँदै पुनः रत्नपार्कमा पुगी सभामा परिणत भएको थियो ।
जुलुस सुरू हुनुअघि नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले अमेरिकी दबाबमा एमसीसी सम्झौता गराएर नेपालको भूमिमा गुप्तचरहरूलाई चलखेल गर्ने अवसर दिएको उल्लेख गर्दै जेनजीका युवा विद्यार्थीहरू आमूल परिवर्तनको निम्ति समाजवादी आन्दोलनमा लाग्नुपर्ने बताउनुभयो ।