भक्तपुर, २५ पुस । नेपाल मजदुर किसान पार्टी भ.न.पा.४ बोलाछेँ एकाइ समितिको आयोजनामा बिहीबार सार्वभौम देश भेनेजुयलामाथि अमेरिकी आक्रमण विषयक अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् कोसी प्रदेशका संयोजक उकेश कवांले पार्टीको केन्द्रीय परिषद्को सन्देशबारे बताउँदै अमेरिकी साम्राज्यवादले मुनरो नीतिअनुसार ल्याटिन अमेरिकी देशहरूको सार्वभौमसत्ता अस्वीकार गर्दै अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरी जननिर्वाचित राष्ट्रपति मादुरोलाई उनको श्रीमतीसहित सैन्य कारबाहीमार्फत अपहरण गर्नु निन्दनीय तथा अक्षम्य अपराध गरेको बताउनुभयो ।
उहाँले अमेरिकी तेल कम्पनीहरू हटाउन लगाई चीन, रुसलगायत अन्य देशहरूलाई तेल निर्यात गर्दै आएको भेनेजुयलालगायतका ल्याटिन अमेरिकी देशहरूमा उत्तर अमेरिकाको मात्रै नियन्त्रण रहने नीतिविरुद्ध भेनेजुयाली जनता र विश्वका कम्युनिस्ट विचार राख्ने सारा जनताले राष्ट्रपति मादुरोको स–सम्मान रिहाइको माग गरिरहेको चर्चा गर्नुभयो ।
उहाँले नेपालको स्रोत साधनमाथि वैदशिक हस्तक्षेपविरुद्ध जनता एकजुट भई लड्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो ।
नेपाल पत्रकार समाजका केन्द्रीय उपाध्यक्ष उद्धव सुजखूले अमेरिकाको नाकैमुनि रहेको समाजवादी देश क्युवाका नेता फिडेल क्यास्ट्रोले अमेरिकी नाकाबन्दीका बाबजुद पनि देश र जनताको निम्ति कठोर सङ्घर्ष गरेको स्मरण गराउँदै वर्गशत्रुविरुद्ध व्यापक जनता एकजुट भई लड्न नसकुञ्जेल आमूल परिवर्तन नहुने विचार व्यक्त गर्नुभयो ।
नेमकिपा भजिसका सदस्य उपेन्द्र सुवालले वर्षौँदेखि स्पेनको उपनिवेश रहेको भेनेजुयला १९९९ मा चाभेजको नेतृत्वमा क्रान्ति भएपछि भेनेजुयलाको तेल भेनेजुयलाका जनताको निम्ति हुनु पर्छ भन्दै विदेशी तेल कम्पनीहरू राष्ट्रियकरण गरिएको हुनाले अमेरिकाले खाद्य पदार्थ, औषधिमा प्रतिबन्ध लगाउँदै आएको र चाभेजलाई जस्तै मादुरोलाई पनि कैयौँपटक हत्या प्रयास भएको तर अमेरिका सफल नभएको बताउनुभयो ।
अमेरिकाकै इसारामा काम गर्ने दक्षिणपन्थी विपक्षी दलकी नेतृ मारिया कोरिना माचाडोलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको उहाँले चर्चा गर्नुभयो ।
नेमकिपा भनसका कृष्णगोविन्द लाखाजूले नयाँ पार्टीहरूप्रति युवा पुस्ताको आकर्षण केबल क्षणिक लाभको लागि भएको उल्लेख गर्दै सिद्धान्त र नैतिकतामा बस्ने युवाहरूले सहकारी ठग, सिंहदरबार जलाउने र एमसीसीका मतियारहरूलाई साथ दिन नहुने विचार व्यक्त गर्नुभयो ।
नेमकिपा बोलाछेँ एकाइ समितिका अध्यक्ष हरि सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा भ.न.पा. ४ वडा पार्टी उपाध्यक्ष कृष्णलक्ष्मी दुवाल, पञ्चरत्न सैंजूलगायतले अमेरिकी हस्तक्षेपको विरोधमा बोल्नुभयो ।