काठमाडौँमा क्रान्तिकारी किसान भेला


काठमाडौँ, १६ वैशाख । नेपाल क्रान्तिकारी किसान सङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनामा किसान कार्यकर्ता भेला शुक्रबार टोखामा सम्पन्न भयो । भेलामा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले किसानहरूको हक–अधिकार प्राप्त गर्न किसान साथीहरू सक्रिय भई सचेत र सङ्गठित हुनुपर्ने बताउनुभयो । उहाँले देशमा क्रान्तिकारी भूमिसुधार, रासायनिक मल कारखाना, बीउबिजनको राम्रो व्यवस्थापनको खाँचो छ भन्नुभयो । नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले किसान कार्यकर्ताहरू हरेक विषयमा प्रशिक्षित हुनुपर्ने आवश्यकता औँल्याउँदै कृषिप्रधान देशमा किसानको समस्या झन्झन् विकराल बन्दै आएको छ भन्नुभयो । सरकारले किसानको समस्या समाधान गर्न नखोजेकोले किसान सङ्घर्ष आवश्यक छ, उहाँले भन्नुभयो । नेक्राकिसङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई नेमकिपाले सही ढङ्गले कार्यान्वयन गरेको बताउनुभयो । उहाँले किसान सङ्घले किसानको समस्या समाधान गर्न, मोहियानी हक प्राप्त गर्न विभिन्न आन्दोलन गरेको स्मरण गर्नुभयो । उहाँले नेमकिपाको निर्देशनमा किसान सङ्घ क्रियाशील रहेको र समाजवादी आन्दोलन अगाडि बढेको बताउनुभयो । नेक्राकिसङ्घ काठमाडौँ जिल्ला समितिका अध्यक्ष हरिशरण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा सानुकाजी महर्जन, रवीन्द्र डंगोल, मदन श्रेष्ठ, कुलनारायण डंगोल र विष्णुबहादुर खत्रीले पनि किसान आन्दोलनको आवश्यकताबारे बोल्नुभएको थियो ।
पार्टी गतिविधिहरु
समाचार