प्रम, मन्त्री, सांसद र उच्च अधिकारीहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा नबस्दा भ्रष्टाचार बढ्यो


भक्तपुर, २३ वैशाख । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शनिबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च अधिकारीहरू आ–आफ्नो निर्वाचन क्षेत्र छाडेर काठमाडौँ उपत्यकामा घर–जग्गा किन थालेको हुँदा भ्रष्टाचार बढेको जनगुनासो रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनी करोडौँ–अर्बौँ रूपैयाँ ठगीमा नेका र एमालेका पूर्वगृहमन्त्रीहरूसमेतको नाम जोडिएको समाचार प्रकाशित भइरहेको छ । भ्रष्टाचारीहरूलाई कडा कारबाही गर्नु आवश्यक छ ।”
“३३ वर्षयता मन्त्री भएकाले आफ्नो संस्मरणमा मन्त्री पद अर्बौँ रूपैयाँ भ्रष्टाचार हुने पद भएको उल्लेख गरे । यसकारण, शासक दलहरूबिच मन्त्री खानको लागि हानथाप भइरहेको छ”, सचिव सुवालले भन्नुभयो ।
मे १ को आन्दोलनले मजदुरहरूको आठ घण्टाको समय र ज्याला बढाउने माग पूरा ग¥यो । यो आन्दोलनले नागरिक पोशाकका सरकारी मानिस मजदुर आन्दोलनमा घुसेर प्रहरीलाई ढुङ्गा हान्ने र त्यही निहुँमा मजदुर आन्दोलनमाथि दमन गरिने शिक्षा दियो, उहाँले सचेत गराउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “नौ महिनाको राजस्व ७ खर्ब रूपैयाँ र खर्च १० खर्ब भयो । सरकारहरूले सार्वजनिक ऋण २० खर्ब र व्यापारघाटा पनि २० खर्ब नै पु¥याए । देशको अर्थतन्त्र सङ्कटमा परेको छ ।”
देशको जेठो सरकारी वीर अस्पताल र शिक्षण अस्पताल महाराजगञ्जमा भन्दा व्यक्तिको मेडिसिटी अस्पतालमा बिरामीको राम्रो उपचार हुने समाचारले सरकारमा गएकाहरूको अयोग्यता र असक्षमता प्रस्ट झल्किने उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “सरकारमा गएकाहरूले जानाजान सरकारी विद्यालयलाई समाप्त पार्ने र निजी विद्यालयहरूलाई प्रवद्र्धन गर्दै छन् । यो गलत हो । पाँच खर्ब रूपैयाँ लगानी गरी काठमाडौँ जोड्ने द्रुतमार्ग निर्माण उपयुक्त होइन । यति धेरै बजेटले नयाँ पुस्तालाई शिक्षा र स्वास्थ्यको लागि खर्च गरिएको भए देशको छिटो विकास हुने थियो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सचिव हरिराम सुवालले भन्नुभयो, “औद्योगिक क्रान्तिसँगै मजदुरवर्गको उदय भएको थियो । सन् १८७० भन्दा अघि मजदुरहरूले १८ घण्टासम्म काम गर्नुपथ्र्यो । बालबच्चा र बुढाबुढीहरूले समेत दुःख गर्दा पनि पेटभरि खान पुग्ने ज्याला पाउँदैनथे । आज नेपाली श्रमिकहरू पनि विदेशमा गएर १४–१५ घण्टा काम गर्न बाध्य छन् । देशका युवाहरू विदेश पठाएर देशको कृषि उत्पादन घटेर भारतबाट अन्न, तरकारी, फलफुल आयात गर्न बाध्य छ । शासक दलहरूको अकर्मण्यताले उद्योग–कलकारखाना पुँजीपतिवर्गलाई कौडीको मूल्यमा बिक्री गर्दा उद्योगधन्दा धराशायी भएको हो । यसमा शासक दलहरू नै दोषी छन् ।”
नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष उपेन्द्र सुवालले नेक्रामजदुर सङ्घ नरहेको भए वास्तविक मजदुरवर्गको समस्याबारे सङ्घर्ष गर्ने सङ्गठन नै नहुने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष गोविन्द दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वाती, नेक्राकिसङ्घ जिल्ला समितिका सदस्यद्वय नारायणभक्त न्हेमाफुकी र प्रेम तामाङले पनि बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार