महिला राजनीतिकरूपमा सचेत भए समाज सही मार्गमा डोरिने


कञ्चनपुर, २८ फागुन । नेपाल मजदुर किसान पार्टी कञ्चनपुर जिल्ला समितिको आयोजनामा ‘केटीहरू’ बुलेटिनबारे सोमबार अध्ययन गोष्ठी भयो ।
उक्त गोष्ठीमा नेमकिपाका केन्द्रीय सदस्य एवं नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले महिला राजनीतिकरूपमा सचेत भए समाज सही मार्गमा डोरिने र हाम्रा आधा समस्या समाधान हुने बताउनुभयो । उहाँले भन्नुभयो, “गोरू ब्याउँछ भन्नु र सरकार अनि शासक दलहरूले जनताको सेवा गर्छ भनी पत्याउनु उस्तै हो ।”
“बोली र व्यवहार एउटै गर्ने राजनीतिक पार्टीलाई हामी आफ्नो मित्र ठान्छौँ”, उहाँले भन्नुभयो ।
केन्द्रीय अध्यक्ष थापामगरले नेक्रामसङ्घले बलात्कारी, भ्रष्टाचारी, मानव तस्करहरूलाई फासीको माग गरिरहेको तर अरू महिला सङ्गठनहरूले बलात्कारीलाई जोगाउने कुरा गरिरहेका छन् भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले समाज परिवर्तनको लागि महिलाको भूमिका धेरै भएको धारणा राख्दै समस्या समाधानको लागि सङ्घर्ष आवश्यक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “शारीरिक श्रम र बौद्धिक श्रम गरेर खानेहरू मजदुर नै हुन्, शारीरिक र बौद्धिक श्रमबिचको विभेद अन्त्य गर्नुपर्छ ।”

महिला राजनीतिकरूपमा सचेत भए समाज सही मार्गमा डोरिने
नेमकिपा कञ्चनपुरका रमेशकुमार रावलले पुँजीवादी व्यवस्थाविरूद्ध सङ्घर्ष नगरेसम्म जनताले सुख नपाउने उल्लेख गर्दै समाजवादी क्रान्ति स्थापना नभएसम्म परिवर्तन सम्भव छैन भन्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरूङले हाम्रो भविष्य उज्ज्वल बनाउन हामी आफै सङ्घर्षमा होमिनु जरूरी रहेको बताउनुभयो ।
विश्वका क्रान्तिकारी महिलाहरूको योगदानलाई बिर्सन नहुने चर्चा गर्दै उहाँले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपादेयताबारे जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “नेक्राविसङ्घ निःशुल्क र अनिवार्य वैज्ञानिक शिक्षाको लागि सङ्घर्षरत छ ।”
ख्वप बहुप्राविधिक अध्ययन संस्थानका उपप्राध्यापक रविना सुवालले स्वास्थ्यबारे ख्याल राख्नुपर्ने र नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने बताउनुभयो ।
दलबहादुर बोहराको सभापतित्वमा भएको उक्त कार्यक्रममा बलदेव पनेरू, मिनु गिरी, लक्ष्मण रोकाया, सीताराम राना, तारा भट्ट, ज्योति बडुवाल, परमानन्द भट्ट, विन्दु बोहोरालगायतले बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार