जनताको सरकार आएमात्र गरिब जनताको सेवा हुने


भक्तपुर, ३ चैत । नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी किसान सङ्घको सातौँ भक्तपुर नगर सम्मेलनको शनिबार उद्घाटन भयो ।
उक्त कार्यक्रमको उद्घाटन गर्दै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देशका कलकारखाना तथा उद्योगहरू ध्वस्त पारेर, भारतसँग महँगोमा किन्न बाध्य पार्ने नेपाली शोषक र भारतीय शोषकहरूको विरोध गर्नुपर्नेमा जोड दिनुभयो ।
उत्पादन घट्दा देशलाई पनि घाटा हुने विचार व्यक्त गर्दै उहाँले नेपालीलाई बाहिर पठाएर भारतीय नागरिकहरू नेपालमा भित्याएर स्वदेशी पैसा विदेश पु¥याएर नेपालको अर्थतन्त्रलाई कमजोर पार्ने काम शासकहरूले गरिरहेको बताउनुभयो ।
पुँजीवादी सरकारले गरिब जनताको सेवा नगर्ने स्पष्ट पार्दै अध्यक्ष रोहितले भन्नुभयो, “जनताको सरकार आएमात्र गरिब जनताको सेवा हुन्छ ।”
ज्येष्ठ नागरिकहरूको लागि आदर निकेतन र बालबालिकाहरूको निम्ति शिशु स्याहार केन्द्र खोल्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले पुराना अग्रज किसान कार्यकर्ताहरूलाई किसान सङ्घले सम्झनुपर्ने र उनीहरूको अनुभव नयाँ पुस्तासमक्ष पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
सम्पत्तिले ज्येष्ठ नागरिकहरूको आदर र सम्मान नहुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामीले आफूमात्र जोग्ने होइन अरूलाई पनि जोगाउनुपर्छ, सङ्गठन नभएको ठाउँ र देशमा आचरण, शिष्टता हुँदैन, कसैलाई कसैको मतलब हुँदैन । पुराना र नयाँ कार्यकर्ताहरूको बरोबर भेटघाट गरेर देश विदेशको विषयमा प्रशिक्षित पार्नुपर्छ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य सृजना सैँजुले देशको राजनीति भद्रगोल, अस्थिर र अर्थतन्त्रको स्थिति दयनीय हुनुमा शासकहरू नै जिम्मेवार छन् भन्नुभयो ।
कृषिप्रधान देशमा कृषकको आर्थिक र सामाजिक स्थिति कमजोर रहेको स्पष्ट पार्दै उहाँले मल कारखाना नखोली कमिसनको चक्करमा फसेको र कल कारखाना ध्वस्त गरेर देशमा बेरोजगारी समस्या निम्त्याएको बताउनुभयो ।
भारतबाट भन्सार नतिरी नेपालमा सामान भित्याउँदा नेपाली सामान महँगो भएर नबिकेको र राज्यले किसानलाई प्राथमिकता नदिँदा देशको अर्थतन्त्र कमजोर भएको स्पष्ट पार्दै उहाँले भारतसँग महँगोमा किन्ने नेपालको सस्तोमा बेच्ने देशको अर्थतन्त्र कस्तो भनी प्रश्न गर्नुभयो ।
नेपालमा कृषिमा सुधार नभएसम्म देश नबन्ने विचार व्यक्त गर्दै उहाँले देशको ऋण रु. २४ खरब पुगेको छ भन्नुभयो ।
देशमा भारतीय विस्तारवाद र भारतीय एकाधिकार पुँजीको प्रभाव बढिरहेकोमा चिन्ता व्यक्त गर्दै सांसद सैँजुले तिब्बतको नाका सरकारले खोलेको भए मललगायत अन्य दैनिक जनजीवनसित सम्बन्धित सामान भित्रिएर नेपाली जनताको जीवन सहज हुने बताउनुभयो ।
चीन विश्वमा आयात निर्यात गर्ने, ऋण नभएको देश भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “चीन आफैँ उत्पादन र उपभोग गर्छ । चीनले १० करोड जनतालाई गरिबीबाट मुक्त ग¥यो । ३३ वर्षको अवधिमा नेपाल ध्वस्त भयो तर चीन समृद्ध भयो । यसको कारण सिद्धान्त, विचार र त्यहाँको व्यवस्थापन नै हो ।”
अन्धविश्वास, कुरीति र विकृतिबाट जोगाउन महिलामाझ पनि राजनीतिक शिक्षा दिनुपर्छ, आ–आफ्ना सन्तानलाई आफ्नो अनुभव बताउन र सङ्गठनमा गएर काम गर्न उत्प्रेरित गर्नुपर्छ, उहाँले भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष गोविन्द दुवालले पार्टीको नीति निर्देशनमा किसान सङ्घर्ष अघि बढेको उल्लेख गर्दै किसान सङ्घ नै नेमकिपाको जग हो भन्नुभयो ।
पार्टीको मार्गनिर्देशक सिद्धान्तअनुसार बहुमत जनता किसान र मजदुरको पक्षमा राजनीति गर्नुपर्ने उल्लेख गर्दै उहाँले नेमकिपाको सिद्धान्त र विचार कामदारवर्गको हितको निम्ति हो भन्नुभयो ।
किसान सङ्घको आन्दोलनले नै जनजीवनमा सहज भएको कुरा नयाँ पुस्तामाझ पु¥याउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले नेमकिपाले भ्रष्टाचारको विरोध, सुस्ता बचाउ आन्दोलनलगायत देशभक्ति आन्दोलन गरिरहेको चर्चा गर्नुभयो ।
जमिनदार र पुँजीपतिवर्गले गरिब जनताको सेवा नगर्ने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “जनताको निम्ति लड्ने कार्यकर्ताहरू शत्रुसामु झुक्दैनन्† ठुला दलका नेताहरूमा राजनीतिक इमानदारिता र नैतिकता छैन ।”
वर्गीय सङ्गठनहरू पार्टीको हात खुट्टा भएको हँुदा जहिल्यै क्रियाशील भइरहनुपर्ने उल्लेख गर्दै उहाँले विदेशी दलाल र देशघाती कदमको विरोध गरी धनी र गरिबको भेद हटाउन आन्दोलन गर्नुपर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष गङ्गाराम ज्याख्वको सभापतित्वमा भएको उक्त उद्घाटन समारोहमा नेमकिपा नगर समिति भक्तपुरका प्रतिनिधि विष्णुराम दुमरु, नेक्राशिसङ्घ नगर समिति भक्तपुरका अध्यक्ष गणेशराम थुसा, नेक्रामजदुरसङ्घ नगर समितिका प्रतिनिधि गणेशप्रसाद सुवालले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।
उद्घाटन समारोहमा नेक्रायुसङ्घ नगर समितिका अध्यक्ष जगतराम धुख्वा, नेक्रामसङ्घ नगर समितिका प्रतिनिधि मीरा दुगुजु र नेक्राविसङ्घ नगर समितिका प्रतिनिधि उज्ज्वल ह्योंगोजुले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।
सहिदप्रति १ मिनेट मौनधारण गरिएको सो कार्यक्रममा आयोजक समितिका सदस्य राम प्रजापतिले स्वागत मन्तव्य दिनुभएको थियो ।
उक्त भेलामा पुराना अग्रज किसान कार्यकर्ता र जनआन्दोलनका योद्धाहरूको पनि उपस्थिति थियो ।

पार्टी गतिविधिहरु
समाचार