स्थानीय महत्वका कागजातको पनि अभिलेख हुनुपर्ने


काठमाडौँ, २३ चैत । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा अभिलेख संरक्षण ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयकमा पेस भएका संशोधनबारे शुक्रबार छलफल भयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विधेयकमा संरक्षण गर्नुपर्ने अभिलेखमा हस्तलिखित ग्रन्थ, किताब, प्रतिवेदन, आर्थिक विवरण, ऐनसँगै नियम, निर्देशिका, परिपत्र, टिप्पणी सूचनासमेत थप्नुपर्ने प्रस्ताव गर्नुभयो । सो प्रस्तावलाई समितिले समर्थन ग¥यो ।
राष्ट्रिय अभिलेखालयलाई सुझाव दिने सल्लाहकारहरू समितिमा सरकारका सचिव, सहसचिव, महासचिव समावेश गर्ने राष्ट्रिय सभाबाट प्राप्त संशोधनबारे विचार राख्दै सांसद सुवालले कार्यकारी पदमा बसेकाहरू नै सल्लाहकार समितिलाई समावेशी बनाउन नसकिन हुँदा जात, जाति र भाषाभाषीका विज्ञहरू, महिला पचास प्रतिशत हुने गरी राख्नुपर्नेतर्फ समितिको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सुवालले राष्ट्रिय दृष्टिकोण र स्थानीय दृष्टिकोणले महत्वपूर्ण कागजातलाई अभिलेखको रूपमा व्यवस्थित एवं सुरक्षित गर्नुपर्ने विचार राख्नुभयो ।
समितिका सभापति एवं जसपाका सांसद राजकिशोर यादवको सभापतित्वमा भएको छलफलमा एमालेका सांसद हेमराज राईले राष्ट्रिय एवम् कानुनी महत्वका काजगातहरू सुरक्षित राख्नुपर्नेमा जोड दिनुभयो ।
एमालेका अर्का सांसद रघुजी पन्तले गणपूरक सङ्ख्या नपु¥याई बैठक सञ्चालन गर्न नहुनेतर्फ सभापतिको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरू नारायण खड्का, शिशिर खनाल, भीम अर्याल, धवलशमशेर राणा, माधव नेपालले पनि बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार