भक्तपुर, २८ मङ्सिर । भक्तपुर नगरपालिकाको आयोजनामा मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुने भक्तपुर महोत्सव २०८१ शुक्रबारबाट सुरु भएको छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् नेपालका वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले पाँचदिने भक्तपुर महोत्सवको शुक्रबार एक भव्य समारोहबिच उद्घाटन गर्नुभयो । महोत्सव उद्घाटन कार्यक्रम विश्व सम्पदा सूचीमा सूचिकृत भक्तपुरको दरबार क्षेत्रमा भएको थियो । सोही कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाले महोत्सवको अवसरमा प्रकाशन गरेको ‘स्मारिका’ र सांस्कृतिक नगरी भक्तपुरको ‘फोटो पुस्तक’ पनि विमोचन गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले पानसमा दीप प्रज्ज्वलन गरी महोत्सवको उद्घाटन गर्दै भक्तपुरको कला संस्कृति तथा सम्पदाहरू संरक्षण र प्रवद्र्धन गर्ने कामलाई नयाँ पुस्ताले आफ्नो कर्तव्यको रूपमा बोध गर्दै आएको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “कला र संस्कृतिको मर्मत, सम्भार, पुनःनिर्माण र प्रवद्र्धन कार्यमा भक्तपुर नगरका जनता श्रमदान र आ–आफ्नो गच्छेअनुसार चन्दासमेत प्रदान गरी दिनरात सक्रिय छन् । यी कार्य गर्ने प्रेरणाको स्रोत ऐन–कानुन, नाफा र लोभलालच होइन बरु ‘देश र जनताको निःस्वार्थरूपले सेवा गर्ने’ कर्तव्यबाट घच्घच्याइएको मानवीय भावना हो ।”
उहाँले भन्नुभयो, “सिद्धान्ततः, स्थानीय पालिकाहरू प्रजातन्त्रका आधार हुन् । स्थानीय पालिकाका जनता र जनप्रतिनिधिहरू ‘देश र जनताको निःस्वार्थरूपले सेवा गर्ने’ भावनाबाट प्रेरित नभएका गाउँ, नगर, जिल्ला, प्रदेश र केन्द्रका अनेक निकाय, कार्यालय, विभाग र मन्त्रालयहरूमा भ्रष्टाचार, अनियमितता र अख्तियार दुरूपयोगका अनेक कानुनी र नैतिक प्रश्नहरू उठ्दै छन् । नेपाली जनताका आफ्ना अनुभवहरूले नै बताउँछन्– राजनैतिक दलहरू र नेताहरूजस्तै शिक्षालय र शिक्षकहरू जहिलेसम्म सङ्कीर्ण स्वार्थहरूबाट निर्लिप्त हुँदैनन् तबसम्म देश र जनताको इच्छा र आकाङ्क्षालाई मूर्तरूप दिन सक्ने छैन ।”
मित्र राष्ट्रहरूले नेपाल र नेपाली जनतालाई प्रदान गरेका दर्जनौँ आधुनिक कल–कारखाना, उद्योग र सेवाका साधन एक एक गरेर बेच्दै र दुरूपयोग गर्दै निजीकरण गर्दा नेपाली जनतालाई पछुताउनुपर्ने स्थितिमा पु¥याएको ताजा उदाहरण दिँदै अध्यक्ष बिजुक्छेँले गाउँ, नगर, जिल्ला, प्रदेश र केन्द्रले समेत नेपाल र नेपाली जनतालाई आफ्नो देशलाई आत्मनिर्भर बनाउने भावनाबाट प्रेरित नगरी विदेशीको भर र भनाइमा काम ग¥यौं भने ८० लाख युवाहरू मात्रै विदेसिनुपर्ने होइन बरु योभन्दा अझ बढी दुर्दशा भोग्नुपर्ने अवस्था आउने सम्भावना छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “मानव सभ्यताको अध्ययनको निम्ति विश्वविद्यालयका प्राध्यापकहरू म्युजियम वा सङ्ग्रहालयमा कक्षा सञ्चालन गर्छन् । जीवशास्त्रको अध्ययनको निम्ति चिडियाघर पुग्छन् । चित्रकला, वास्तुकला र संस्कृतिको अध्ययनको निम्ति ‘सांस्कृतिक नगर’ मा अध्ययन भ्रमण गर्ने गर्दछन् । तारा मण्डल, ग्रह र आकाशगङ्गाको अध्ययनको निम्ति हरेक नगरमा प्लानेटोरियम वा नक्षत्र अध्ययनशालाको निर्माण आवश्यक हुन्छ ।”
नेमकिपाका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले नेमकिपाले स्थानीय तह निर्वाचन घोषणापत्रमार्फत जनतालाई वाचा गरेअनुसार भक्तपुर नपाले शिशुस्याहार केन्द्रदेखि कलेजसम्म सञ्चालन गरिरहेको बताउँदै ख्वप विश्वविद्यालय सञ्चालन गरी जनतालाई सुलभरूपमा चिकित्सा शिक्षा अध्यापन गराउने पनि उद्देश्य लिएको बताउनुभयो ।
देशको सन्तुलित विकास गरी उपत्यकामा बढिरहेको बसाइँसराइलाई रोक्ने विषयमा सरकारले ढिलाइ गर्न नहुने उल्लेख गर्दै उहाँले भक्तपुर नपाले पर्यटकहरूबाट उठाएको पर्यटन शुल्कबाट भक्तपुरको विकास गरिरहेको बताउनुभयो ।
भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गरी नमुना नगरको रूपमा अगाडि बढाउनेतर्फ सरकारले जोड दिनुपर्ने उहाँको धारणा थियो ।
भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालय सञ्चालनको लागि माग गरिरहेको उल्लेख गर्दै उहाँले सरकारले ख्वप विश्वविद्यालय सञ्चालनको लागि छिट्टै स्वीकृति दिनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
भक्तपुर महोत्सव मूल समारोह समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महोत्सव अवधिभर भक्तपुर पुरै महोत्सवमय हुने उल्लेख गर्दै अध्ययन अनुसन्धान गर्नेहरूको लागि भक्तपुर महोत्सव एक महत्वपूर्ण अवसरको रूपमा रहने बताउनुभयो ।
महोत्सवमा नगरपालिकाले तोकेका विभिन्न ३२ वटा स्थलहरूमा महत्वपूर्ण गतिविधि सञ्चालन हुने स्पष्ट पार्दै उहाँले भक्तपुरका चोक र गल्लीहरूमा पनि स्थानीयवासीहरूले विभिन्न आकर्षक गतिविधिहरू सञ्चालन गरिरहने बताउनुभयो ।
विदेशी पर्यटकहरूसँगै आन्तरिक पर्यटकहरूको पनि प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुर महोत्सवको आयोजना भएको बताउँदै उहाँले महोत्सवमा भक्तपुरका जीवनशैली, खानपान, शैक्षिक गतिविधि, सांस्कृतिक गतिविधि, परम्परागत सीप र खेलकुदलगायत विभिन्न गतिविधिहरू प्रदर्शन गरिने जानकारी गराउनुभयो ।
महोत्सवलाई थप आकर्षण गर्न महोत्सवकै बेला भक्तपुर नपा वडा नं. १० क्वाठण्डौमा मङ्सिर २९ गते खुला बाँसुरी बाजा प्रतियोगिताको आयोजना गरिएको बताउँदै उहाँले महोत्सव भव्यरूपमा सफल पार्न सबैको साथ र सहयोग प्राप्त हुने अपेक्षा गर्नुभयो ।
ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्यले भक्तपुर महोत्सव उपत्यकाको लागि सिकाइको विषय भएको बताउँदै भक्तपुरलाई देशकै पर्यटकीय केन्द्रको रूपमा लिन सकिने र मौलिक वस्तुहरूलाई विज्ञानसँग जोडेर अन्तर्राष्ट्रिकरण गर्नु आवश्यक भएको बताउनुभयो ।
सांस्कृतिक नगर भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने भक्तपुरको उद्देश्य प्रशंसनीय भएको चर्चा गर्दै उहाँले भक्तपुरका सम्पदा जनताको अपनत्व, साथ र सहयोगमा पुनःनिर्माण सिकाइयोग्य विषय भएको बताउनुभयो ।
७५३ वटा स्थानीय तहको लागि भक्तपुर नमुनाको रूपमा प्रस्तुत भइरहेको उल्लेख गर्दै उहाँले उपत्यकाका सांस्कृतिक सम्पदा संरक्षणको दायित्व सबै जनता एकजुट भएर गर्नुपर्ने बताउनुभयो ।
नेमकिपा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले भक्तपुर महोत्सवलाई भक्तपुरको शैक्षिक, सामाजिक, राजनीतिक प्रगतिको आयामको रूपमा व्याख्या गर्न सकिने बताउनुभयो । भक्तपुरको प्रगति र उन्नतिमा महोत्सव दरिलो पाइला साबित हुने उल्लेख गर्दै उहाँले भक्तपुर विभिन्न क्षेत्रमा अग्रदूत बनिरहेको बताउनुभयो ।
भक्तपुरमा अनुकरण गर्न लायक धेरै विषय भएको बताउँदै उहाँले महोत्सव सबैको लागि अविस्मरणीय हुने बताउनुभयो । भक्तपुर कलाकार, कलाकर्मी र सम्पदाप्रेमीहरूको सहर भएको बताउँदै उहाँले भक्तपुरमा श्रमवीरहरूको सम्मान निरन्तर चलिरहने विश्वास व्यक्त गर्नुभयो ।
हरेक सम्पदाको जगमा असङ्ख्य कालिगडहरूको पसिना लुकेको विषय नयाँ पुस्तालाई अध्ययन अध्यापन गराउन जरुरी रहेको बताउँदै सांसद गोसाईले जीवन्त सहर निर्माणमा अग्रजहरूको भूमिका र भक्तपुर नपाले खेलेको भूमिका महत्वपूर्ण रहेको स्पष्ट पार्नुभयो ।
भक्तपुरले देशकै शान बढाउन मद्दत पु¥याइरहेको बताउँदै उहाँले भक्तपुरप्रतिको आस्था र विश्वास विश्वसामु बढ्दै गएको यथार्थ चित्रण गर्नुभयो ।
सांस्कृतिक र पुरातात्विक आधारमा मात्र नभई राजनैतिक आधारमा पनि भक्तपुरले छुट्टै गौरव बोकेको बताउँदै उहाँले भक्तपुरले विश्वसामु इज्जत र विश्वास एकैसाथ कमाइरहेको छ भन्नुभयो ।
नेमकिपा वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजुले भक्तपुर सभ्यताको सहर, प्राचीन कला संस्कृतिको नगर, इतिहास जीवन्त बाँचेको सहर भएको बताउँदै पर्यटन अर्थतन्त्रमार्फत भक्तपुर अगाडि बढ्ने प्रयत्न गरिरहेको बताउनुभयो ।
उत्पादनसँग नजोडिएको पर्यटन दिगो नहुने चर्चा गर्दै उहाँले भक्तपुर एकै रातमा बनेको सहर होइन, यहाँका जनताले वैभवशाली भक्तपुरको निर्माण र पुनःनिर्माण गरेको सहर भएको बताउनुभयो ।
जनताको जीवनस्तर उठाउने महत्वपूर्ण पाइला भक्तपुर महोत्सवले दिने विश्वास व्यक्त गर्दै उहाँले सम्पदा पुनःनिर्माण र सभ्यता पुनर्जागरणको अनुपम नमुनाको रूपमा भक्तपुर अगाडि बढिरहेको बताउनुभयो ।
‘१०० वर्षपछिको भक्तपुर’ लाई नजिक ल्याउने माध्यम बन्ने महोत्सवले प्रदान गर्ने बताउँदै उहाँले महोत्सव आयोजनाको लागि भक्तपुर नगरपालिकाप्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले उत्सवै उत्सवको नगरमा भक्तपुर नपाले भक्तपुर महोत्सव आयोजना गरी यहाँको मौलिक कला, संस्कृति र सम्पदा विश्वसामु प्रदर्शन गर्ने अवसर मिलेको बताउनुभयो ।
उहाँले शिक्षामा भक्तपुर नपाले खेलेको महत्वपूर्ण भूमिकाले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउन मद्दत पु¥याएको स्पष्ट पार्दै ख्वप विश्वविद्यालय सञ्चालनको लागि पनि नगरपालिकाले पहल गरिरहेको बताउनुभयो ।
पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्गले महोत्सव पूर्ण सफलताको कामना गर्दै भक्तपुरको मूर्त तथा अमूर्त सम्पदाहरू विश्वभर परिचित भएको बताउँदै उत्सवमार्फत भक्तपुरको शैक्षिक र सांस्कृतिक पुनःजागरणको माध्यम पनि बन्ने विश्वास व्यक्त गर्नुभयो ।
महोत्सवले मनोरञ्जनको लागि मात्र नभई समाजको दिगो विकासको लागि बाटो खोल्ने महत्वपूर्ण आधार तयार गर्ने उहाँले बताउनुभयो । उहाँले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनःनिर्माणमा नेपाल सरकार, मन्त्रालय, पुरातत्व विभाग, स्थानीय तह तथा विभिन्न सङ्घसंस्थासँग सहकार्य गरी ८२० वटा सम्पदा मौलिक शैलीमा पुनःनिर्माण सम्पन्न गरिसकेको बताउनुभयो ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले भक्तपुरको गौरवलाई देशीविदेशी पर्यटकमाझ प्रदर्शन गर्ने राम्रो अवसर महोत्सवले दिने उल्लेख गर्दै देशको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो भने भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
उद्घाटन कार्यक्रमपश्चात् प्रमुख अतिथि तथा अतिथिहरूले भक्तपुर महोत्सवको अवसरमा प्रदर्शित विभिन्न प्रदर्शनीस्थलहरूको स्थलगत अवलोकन गर्नुभएको थियो ।
भक्तपुर महोत्सवकै अवसर पारेर नगरपालिकाले वडा नं. १० क्वाठण्डौमा मङ्सिर २९ गते खुला बाँसुरी बाजा प्रतियोगिताको आयोजना गर्दै छ ।
सांस्कृतिक कार्यक्रम, नगरा वादन, पौभा र तस्बिर प्रदर्शनी, चित्रकला, छ्वालीकला र तस्बिर प्रदर्शनी, परम्परागत पोशाक प्रदर्शनी, खाना महोत्सव, हलिमलि, परम्परागत वाद्यवादन सामग्री प्रदर्शनी, परम्परागत धागो रङ्गाउने, कुमारी (जीवित देवी) प्रदर्शनी, दीपङ्कर बुद्ध प्रदर्शनी, नवदुर्गा प्रदर्शनी, शैक्षिक प्रदर्शनी, नौका बिहार, मृत्तिका कलाको परम्परागत र नयाँ उत्पादनको जीवन्त प्रदर्शनी महोत्सवका प्रमुख आकर्षणहरू हुन् । त्यस्तै परम्परागत खेलकुद प्रदर्शनी र प्रतियोगिता, नेवार जीवनशैलीको गतिविधि प्रदर्शनी, नौ बाजा प्रदर्शनी, दही महोत्सव, दीपावली, बौद्ध प्रकाशन र तस्बिर प्रदर्शनी, सहकारीहरूको गतिविधि प्रदर्शनी, बालबालिकामैत्री गतिविधि तथा सांस्कृतिक कार्यक्रम, कृषि उत्पादनको व्यवसायिक प्रदर्शनी, घरेलु उत्पादन तथा हस्तकलाको जीवन्त प्रदर्शनी, व्यापार मेला, पुस्तक प्रदर्शनी, बुद्ध अस्तु तथा बौद्ध दर्शनसम्बन्धी प्रदर्शन, विभिन्न खेलकुद गतिविधि तथा प्रदर्शनी, परम्परागत तोरीको तेल बनाउने प्रदर्शनी, सांस्कृतिक जात्रा पर्व संस्कृतिको नमुना प्रदर्शनी र परम्परागत वाद्यवादन प्रतियोगिता एवम् प्रदर्शनी पनि महोत्सवका मुख्य आकर्षणभित्र पर्दछ ।
यसरी नै खः प्याखं (नाच) का पुरानो पोशाक प्रदर्शनी ताहामचा र गठेमुगल र माटोको भाँडा बनाउने प्रदर्शनी पनि रहेका छन् ।
यसअघि भक्तपुर नगरपालिकाकाको आयोजनामा मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सवको ¥याली नगर प्रमुख सुनिल प्रजापतिले टौमढीमा एक भव्य समारोहबिच शुभारम्भ गर्नुभएको छ ।
¥यालीको उद्घाटन सभामा प्रमुख प्रजापतिले भक्तपुरलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नेतर्फ ध्यानकेन्द्रित रहेको उल्लेख गर्दै भक्तपुर महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकहरूको प्रवद्र्धन गर्ने महत्वपूर्ण आधार बन्ने अपेक्षा रहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले भक्तपुरको मौलिक विशेषताहरू आन्तरिक तथा बाह्य पर्यटकहरूलाई प्रदर्शन गर्ने उद्देश्यले महोत्सवको आयोजना भएको बताउनुभयो ।
¥यालीमा जनप्रतिनिधि, पूर्वजनप्रतिनिधि, जिल्लाका विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, नगरका गन्यमान्य व्यक्त्वहरू, विद्यालय र सहकारी सङ्घ संस्थाका प्रतिनिधि, स्काउट, सुरक्षाकर्मी, खेलाडी, विभिन्न बाजा समूह, स्वयम्सेवक टोली, नगरपालिकाका कर्मचारी तथा स्थानीय जनताको उल्लेख्य सहभागिता रहेको थियो ।