काभ्रे, ६ पुस । नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम शनिबार बनेपामा सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले प्रतिक्रियावादी साहित्य र जनताको साहित्यको भेदबारे प्रस्ट पार्दै भन्नुभयो, “प्रतिक्रियावादी साहित्यमा जनताको दुःखको कारण भाग्यलाई ठान्छ । तर, जनताको दुःखको कारण शासक वर्गहरू नै भएको यथार्थ जनताको साहित्यमा उल्लेख हुन्छ ।”
प्रजातन्त्रको अर्थ आर्थिक समानता र सामाजिक न्याय हो, समाजवादको अर्थ सामाजिकीकरण हो । भएको सरकारी उद्योगधन्दा बेच्ने संसद्वादी दलहरू प्रजातन्त्र र समाजवादको पक्षमा होइनन् । व्यापक जनता प्रजातन्त्र र समाजवादको पक्षमा भएको हुँदा प्रतिक्रियावादीहरू पनि प्रजातन्त्र र समाजवादको नारा दिएर जनतालाई धोका दिन्छन्, उहाँले भन्नुभयो ।
जर्मनको हिटलर र इटालीको मुसोलिनी दुवै फासीवादी भएको र उनीहरूले रूसको समाजवादविरूद्ध राष्ट्रिय समाजवादको नारा दिएर जनतालाई धोका दिएको सांसद सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “संसद्वादी दलका नेताहरू सडकमा हुँदा क्रान्तिकारी र देशभक्त देखिने र सिंहदरबारको कुर्सीमा पुगेपछि प्रतिगामी र देशविरोधी भए । उनीहरूले सिंहदरबारलाई बाँदरको हातमा नरिवलजस्तै बनाए ।”
“भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालयको विधेयक १४ वर्षसम्म पारित गरिदिएन । राणा शासनले १४ वर्ष नेपाली जनतालाई अन्धकारको युगमा राख्यो । बहुदल र गणतन्त्रको यो व्यवस्थामा पनि ५ वर्ष नाघेका ६ लाख बालबालिकाहरू विद्यालय बाहिर छन् । विद्यालय गएकाहरूलाई पनि उत्पादन श्रमसँग जोडिएको शिक्षा उपलब्ध छैन । विद्यालयमा त अधिकांशले पढ्न पाएका छैनन्”, सांसद सुवालले भन्नुभयो ।
परराष्ट्रमन्त्रीको काम दैनिक ७ हजार वैदेशिक रोजगारीमा पठाएर नेपाललाई मरूभूमिजस्तै बनाएको र कृषिप्रधान देशले दाल, चामल, तरकारीसमेत भारतबाट किन्नुपर्ने स्थिति आउनुमा शासक पार्टीहरू दोषी रहेको उहाँले बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “सरकारले नेपालीलाई नेपालभित्रै रोजगारी दिन सक्नुपर्छ । २०६३ सालमा माओवादी सार्वजनिक भएलगत्तै नेका र एमालेसँग मिलेर जन्मको आधारमा विदेशीलाई समेत नेपाली नागरिकता दिने कानुन पारित गरायो । अहिले जन्मको आधारमा नेपाली नागरिकता पाएका विदेशीका छोराछोरीलाई वंशजको आधारमा नेपाली नागरिकता दिने कानुन बनाइयो । यो अर्को देशघात हो ।”
उहाँले भन्नुभयो, “भारतीय एकाधिकार पुँजीले नेपालको सीमा अतिक्रमण गर्ने, जल, जङ्गल, खनिज कब्जा गर्ने, नेपाली युवालाई भारतको सिपाहीँ बनाउने, नेपाललाई पारवहन अधिकार नदिने, नेपालको विदेश मामिला र सुरक्षा आफ्नो छातामा राख्ने काम गर्दै छ । यसको संसदीय दलहरूले विरोध नगरे पनि नेपाली जनताले विरोध गर्नु जरूरी छ । भारतका कामदार जनता र नेपालको कामदार जनताबिच कुनै शत्रुता छैन, एकता नै हुनु जरूरी छ ।”
सांसद सुवालले भन्नुभयो, “अमेरिकी नीति र कानुन पालना गर्नुपर्ने एमसीसी सम्झौता देशघाती नै हो । अमेरिकी साम्राज्यवादले संसारको ९०२ ठाउँमा सेना र हतियार तैनाथ गरेको छ । संसारका न्यायप्रेमी जनताबाट साम्रज्यवादीहरूको हतियार उत्पादन र बिक्रीको विरोध भइरहेको छ । हतियार उत्पादनको खर्च मानव कल्याणमा गरिनु जरूरी छ ।”
वाग्मती प्रदेश सांसद कञ्चनचन्द्र बादे श्रेष्ठले नेपालभाषाको संवद्र्धन र मान्यताका लागि लामो समय सङ्र्घ भएको र हाल वाग्मती प्रदेशमा स्थानीय कामकाजमा नेपालभाषाले मान्यता पाएको छ बताउनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याले भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा अनुकरणीय कार्य गरेको उहाँले बताउनुभयो ।
वरिष्ठ साहित्यकार मोहन दुवालले जनताको पक्षमा साहित्य सिर्जना गर्न जोड दिँदै आएको र त्यस्तो काममा नेपालभाषा साहित्य तःमुंज्याको निरन्तरको प्रयास स्वागतयोग्य भएको बताउनुभयो ।
कार्यक्रममा ग्वसाखलका अध्यक्ष सत्यनारायण श्रेष्ठले जनताको साहित्यलाई डबुलीमा स्थान दिएर प्रगतिशील साहित्यको विस्तार गरिरहेका छ भन्नुभयो ।
उपाध्यक्ष कृष्णकुमार वैद्यले भाषा, कला, संस्कृतिलाई नयाँ पुस्ताले जगेर्ना गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति डा. हरिप्रसाद मानन्धरले साहित्यमा पनि वर्गीय स्वरूप हुने भएकोले कामदारवर्गको हितमा साहित्य लेख्नुपर्ने उल्लेख गर्नुभयो ।
साहित्यतर्फ कथामा टीकाभक्त भोछिभोया प्रथम, एल.के. सुन्दर दोस्रो र जयदेश श्रेष्ठ तेस्रो भएको थियो । कवितामा युसुप दुवाल प्रथम, प्रकाश ‘उज्ज्वल’ दोस्रो र राजेन्द्रकुमार बज्राचार्य तेस्रो भएको थियो । कार्यक्रममा विभिन्न भाषाका साहित्य, गीत र सांस्कृतिक कार्यक्रम प्रस्तुत भएको थियो ।