nwpp@ntc.net.np +1 6610026
नेमकिपाको केन्द्रीय परिषद चालु – कार्यकर्ताहरू जनताको सेवा गर्ने सङ्घर्षबाट भाग्न नहुने

भक्तपुर, १० पुस । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनपछिको छैटौैँ (३६ औँ) केन्द्रीय परिषद् पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा बुधबार पनि चालु रह्यो ।
परिषद्मा अध्यक्ष बिजुक्छेँले मजदुरवर्गको हित समाजवादी व्यवस्थामा मात्र हुने भएकोले समाजवाद लागु गर्न मजदुरवर्गलाई नै सङ्गठित गर्नुपर्नेमा जोड दिनुभयो ।
रूसमा लेनिन र स्तालिनले मजदुरवर्गलाई सङ्गठित गर्नुभएको र माओ त्सेतुङले चीनमा किसानवर्गलाई सङ्गठित गर्नुभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “मजदुरवर्गको समाजवादी सरकार नआएसम्म व्यापक जनताको हित हुनेछैन । माक्र्सको शिष्य बर्नस्टिन सशस्त्र सङ्घर्षबाट पछाडि हटेर संशोधनवादी भए ।”
“उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण हुुनुपर्नेमा प्रतिक्रियावादीहरू केही सहुलियत दिएर क्रान्तिलाई रोक्नेतर्फ लाग्नेबारे कामदारवर्ग सचेत हुनुपर्छ”, अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
मोहनदास गान्धी दक्षिण अफ्रिकाबाट भारत फर्केर भजन र धार्मिक कार्यक्रममा सहभागी भई अङ्ग्रेज उपनिवेशविरूद्ध जनआन्दोलनमा लागेको बताउँदै अध्यक्ष बिजुक्छेँले भारतीय कम्युनिस्टहरूको नेतृत्वमा भएको तेलंगाना किसान आन्दोलन दबाउन भारतले गोर्खा भर्तीका नेपाली सेनालाई समेत प्रयोग गरेकोतर्फ सचेत गराउनुभयो ।
क्रान्तिको लागि माक्र्सवादी सिद्धान्तप्रति जनताको समर्थन हुनुपर्नेमा जोड दिँदै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “परिस्थिति अनुकूल नभएको बेला सशस्त्र क्रान्तिको कुरा गर्नु वामपन्थी अवसरवाद हो, क्रान्तिको परिस्थिति भएको बेला क्रान्तिबाट पछि हट्नु दक्षिणपन्थी अवसरवाद हो । कार्यकर्ताहरू माक्र्सवादी सिद्धान्तअनुसार सङ्गठन विस्तारमा लाग्नु जरुरी छ ।”
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “पार्टीको योगदान भएको चितवनको जुगेडी र जुटपानीको किसान सङ्घर्षसम्बन्धी सङ्ग्रह पुस्तक पुनः प्रकाशित गर्नु जरूरी छ । किसानवर्गलाई जोत्ने जमिनको साथसाथै राजनीतिक शिक्षा र चेतना पनि दिनुपर्छ ।”
उहाँले भन्नुभयो, “२०४६ सालपछि खुला राजनीतिसँगै संसद्वादी दलहरूमा खराबी पनि पस्यो । कार्यकर्ताहरूले माक्र्सवादी साहित्य र पार्टी प्रकाशनका साथसाथै संसारका मजदुर तथा किसान आन्दोलनको इतिहास पनि अध्ययन गर्नुपर्छ; नेपालका छिमेकी देश चीन र भारतको इतिहास र सङ्घर्षबारे अध्ययन गर्नुपर्छ ।”
कुचो नपुगेको ठाउँको धुलो आफै नहट्ने भनेजस्तै पार्टी सङ्गठन नपुगेको ठाउँका जनताको मत पुँजीवादी पार्टीले किन्ने विषयबारे कार्यकर्ताहरू सचेत हुनु जरूरी भएको अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।
चुनावमा जानु गा¥हो हुने र चुनाव जितेपछि थप गा¥हो हुने लेनिनको भनाइ उद्धृत गर्दै अध्यक्ष बिजुक्छेँले पार्टी कार्यकर्ताहरू जनताको सेवा गर्ने कठिन सङ्घर्षबाट भाग्न नहुने बताउनुभयो ।
परिषद्मा पार्टी जिल्ला समितिहरूको प्रतिवेदन र वर्गीय सङ्गठनहरूको प्रतिवेदन प्रस्तुत गर्ने क्रम चालु रह्यो ।
परिषद् बिहीबारसम्मको लागि स्थगित गरिएको छ ।

 

पार्टी गतिविधिहरु
समाचार