निर्वाचन देशभक्त र देशद्रोहीबीचको लडाइँको रूपमा लिनुपर्छ


भक्तपुर, १२ कार्तिक । नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति मध्यपुर नगर समितिको आयोजनामा शनिबार कार्यकर्ता भेला भयो ।

भेलामा नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले आसन्न निर्वाचन देशभक्त र देशद्रोहीहरूबीचको लडाइँको रूपमा लिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचनको बेलामा जनताले दलहरूको बोलीलाई परीक्षण र कार्यलाई मूल्याङ्कन गर्ने चर्चा गर्दै निवाचन जनताको नजिक जाने अवसर भएकोले जनतालाई राजनीतिकरूपमा सचेत बनाउन नेमकिपाले निर्वाचन उपयोग गर्छ ।”

अहिलेको गठबन्धनले सम्पूर्ण सिद्धान्त त्याग गरी जनतालाई झुक्याउने काम गरिरहेको चर्चा गर्दै उहाँले विचारशून्य राजनीतिले देश अराजकता र अनिश्चितताको अवस्थामा पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “विचारको राजनीति जतिसुकै प्रतिकूल परिस्थितिमा पनि छोड्नुहुन्न ।”

दलीय व्यवस्थामा दलको विकल्प दल नै हुने चर्चा गर्दै एउटा दलले राम्रो काम नगरे अर्को दल विकल्प हुनसक्ने उहाँले बताउनुभयो ।

समाजवादी व्यवस्थामा मात्र कामदार जनताको भविष्य राम्रो हुने भएकोले नेमकिपा समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षरत रहेको उहाँले बताउनुभयो ।

निर्वाचन घोषणापत्रअनुसार काम नगर्ने पार्टीहरूको पार्टी दर्ता खारेज गर्नुपर्नेमा जोड दिँदै केन्द्रीय सदस्य प्रजापतिले ३ प्रतिशतको मतसीमा हटाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार अनुराधा थापामगरले नेमकिपाले गरेको देशभक्तिपूर्ण आन्दोलन, सार्वभौमिकताको रक्षाको लागि गरेको सङ्घर्षमार्फत जनतामा सकारात्मक सन्देश प्रवाह भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचन राजनीतिक विश्वविद्यालय पनि भएकोले जनतालाई सचेत र सङ्गठित गर्ने अवसरको रूपमा नेमकिपाले निर्वाचनलाई उपयोग गरिरहेको हो ।”

नेमकिपाका उम्मेदवारहरूको पक्षमा जनताको सद्भावलाई समेट्न सके क्रान्ति र परिवर्तनको अवस्था चाँडै तयार हुने धारणा उहाँले व्यक्त गर्नुभयो ।

भक्तपुर क्षेत्र नं. २ (ख) का नेमकिपाका उम्मेदवार रमेश वैद्यले शासक दलका उम्मेदवारका आकाङ्क्षीले चुनावमा उठ्नको लागि लगानी गर्न नसके उम्मेदवार पनि बन्न नपाउने विकृति फैलिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “चुनाव परिणामले क्रान्तिको परिस्थिति तयार भएको नभएको मापन गर्छ ।”

नेमकिपा भक्तपुर जिल्ला समितिका हिमालयश्वरलाल मूलले नेमकिपा देशभक्त र सिद्धान्तनिष्ट पार्टीको रूपमा परिचित रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “क्रान्तिकारीहरू जस्तोसुकै प्रतिकूल परिस्थितिमा नहार्ने र समाजवाद र क्रान्तिको विजयको लागि अन्तिम दमसम्म लड्छ ।

कार्यक्रममा आयोजक समितिका आकाश बाडे र वीरकृष्ण प्रजापतिले पनि बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार