देशैभर शिशुस्याहार केन्द्र खोल्नुपर्नेमा जोड


भक्तपुर, १४ कार्तिक । नेमकिपा ४ नं वडास्तरीय समितिको आयोजनामा आइतबार कार्यकर्ता भेला सम्पन्न भयो ।
भेलामा नेमकिपाका सचिव एवम् प्रतिनिधिसभा सदस्य भक्तपुर क्षेत्र नं १ का उम्मेदवार प्रेम सुवालले महिला श्रम शक्ति वृद्धि गर्न सरकारले देशैभर शिशुस्याहार केन्द्र खोल्नुपर्ने बताउँदै शासक दलले घोषणापत्रबारे जनतालाई केही नबताएको उल्लेख गर्नुभयो ।
शासक दलहरूले नीतिगत कुरा नगरी तत्कालको लोभ प्रलोभनमा जनतालाई फसाउने काम गर्नु गलत भएको चर्चा गर्दै उहाँले कृषि क्षेत्र ध्वस्त पार्ने दलहरूको कारण देश परनिर्भर हुँदै गएको बताउनुभयो ।
उद्योग कारखाना सबै बन्द गर्ने शासक दलका नेता कार्यकर्ताहरू बिचौलिया हुन् भन्दै उहाँले एमसीसी र एसपीपी ल्याएर नेपाललाई युक्रेन बनाउन खोजिएको धारणा राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य उम्मेदवार सुरेन्द्रराज गोसाईले स्वदेशमै राम्रा अस्पताल बनाउन सके जनताले सस्तोमा क्यान्सर, मृगौला रोगका उपचार पाउने बताउँदै आदर निकेतनको बन्दोबस्तका लागि नेमकिपाले जोड दिँदै आएको चर्चा गर्नुभयो ।
उहाँले स्कूल, कलेज र विश्वविद्यालय शिक्षा निःशुल्क नहुनाले जनताले दुःख पाएको बताउनुभयो ।
नेमकिपा ४ नं वडा समितिका अध्यक्ष पशुपति प्रजापतिको सभापतित्वमा भएको उक्त भेलामा आयोजक समिति सचिव न्हुछेराम भेले, सदस्य कुमार चवाललगायतले बोल्नुभयो । उक्त भेलाबाट कुमार चवालको संयोजकत्वमा वडास्तरीय निर्वाचन परिचालन समिति गठन गरियो ।

पार्टी गतिविधिहरु
समाचार