दैलेखको नारायण नपा र महाबु गाउँपालिकामा कोणसभा


दैलेख, कार्तिक २० । नेपाल मजदुर किसान पार्टी निर्वाचन प्रचारप्रसार समिति क्षेत्र नं. १ दैलेखको आयोजनामा नारायण नगरपालिका र महाबु गाउँपालिकाका विभिन्न स्थानमा चुनावी कोणसभा, पर्चा वितरण र घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।
समितिको आयोजनामा शनिबार नारायण नपाको खुर्सानीबारीदेखि देवकोटाचोकसम्म घरदैलो, पर्चा वितरण तथा कोणसभा भयो । डेकेन्द्र चोकमा आयोजित कोणसभामा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रकाश गुरूङले कामदार वर्गका जनताको कुरालाई सदनमा पु¥याउन नै नेमकिपाले उम्मेदवारी दिएको प्रस्ट पार्नुभयो ।
कार्यक्रममा नेमकिपा दैलेख जिल्ला उपाध्यक्ष जगत ओलीले पनि बोल्नुभएको थियो ।
आइतबार प्रचारप्रसार समितिको आयोजनामा महाबु गापास्थित रानीवन, काप्रिखोला र बासीमा घरदैलो तथा पर्चा वितरण कार्यक्रम सम्पन्न भयो । सोही गापास्थित गैँडाबाँजमा घरदैलो तथा कोणसभा सम्पन्न भयो ।
सभामा नेमकिपाका पूर्वकेन्द्रीय सदस्य उदयजङ्ग शाहीले देशको सार्वभौमिकता तथा स्वाधीनता रक्षार्थ नेमकिपाको मादल चिह्नमा मतदान गर्न आग्रह गर्नुभयो ।
नागरिकता विधेयकको प्रस्तावले देशको सार्वभौमसत्ता नै धरापमा परेको चर्चा गर्दै उहाँले भन्नुभयो, “सामाजिक र शैक्षिकरूपमा सचेत नागरिकहरूले नागरिकता विधेयकको विरोध गर्नुपर्छ ।”
नेमकिपा दैलेखका सदस्य रत्नेश श्रेष्ठले नेमकिपाले शासक दलका कर्तुतहरूको भण्डाफोर गरेको स्मरण गर्नुभयो ।
पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँले संसद् सदस्यलाई सित्तैमा प्राडो र पजेरो बाँड्ने तथा पेन्सन भत्ता दिनुपर्ने पुँजीवादी मागको विरोध गर्नुभएको श्रेष्ठले जिकिर गर्नुभयो ।
शासक दलहरूले निर्वाचनलाई सत्तामा जाने सिँढी बनाएको धारणा राख्दै उहाँले भन्नुभयो, “अहिलेको गठबन्धन सत्तामा पुग्ने सिँढी हो ।”
कोणसभामा प्रतिनिधिसभा उम्मेदवार प्रकाश गुरूङले पार्टीको निर्वाचन घोषणापत्रबारे सविस्तार व्याख्या गर्नुभएको थियो । कार्यक्रममा निर्वाचन प्रचारप्रसार समिति क्षेत्र नं. १ का संयोजक जगत ओली र नेक्राविसङ्घका उपाध्यक्ष सुरेश परियारले पनि बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार