शासक दलहरू आफ्नो घोषणापत्रमा नेपालको अतिक्रमित सीमा, गोरखा भर्ती, अग्निपथबारे केही नबोली भारतीय विस्तारवादको सेवामा व्यस्त


भक्तपुर, २२ कार्तिक । नेपाल मजदुर किसान पार्टी चुनाव परिचालन समिति चाँगुनाराण–५ छालिङको आयोजनामा मङ्गलबार छालिङमा चुनावी सभा भयो ।
उक्त सभामा नेमकिपाका सचिव प्रेम सुवालले निर्वाचन जनताको चेतनास्तर नाप्ने ब्यारोमिटर र घोषणापत्रको लडाइँ हो, नेपाल मजदुर किसान पार्टीको विचार र दर्शन माक्र्सवाद हो । माक्र्सवाद पुँजीवादको उदय, विकास र पतनको नियम हो भन्नुभयो ।
भारतले माओवादीलाई नेपालविरुद्ध गतिविधि गर्न तयार पारेकोले नेकपा माओवादी भारतीय ट्रोजन हर्स साबित भएको विचार व्यक्त गर्दै उहाँले जालीझेलीहरूले पैसा बाँडेर, भोज खुवाएर युवाहरूलाई बिगारेर निर्वाचन जित्न रातारात मतपेटिका साट्न सक्ने सम्भावनातर्फ जनता सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
शासक दलहरूले आफ्नो घोषणापत्रमा नेपालको अतिक्रमित सीमा, गोरखा भर्ती, अग्निपथबारे केही नबोली भारतीय विस्तारवादको सेवा गरिरहेको उल्लेख गर्दै सचिव सुवालले सन् १९८० मा अमेरिकी राजदूतले संयुक्त राष्ट्र सङ्घको बैठकमा नेपाली गोर्खा सेनालाई ‘भाडाको सिपाही’ भनेर अवहेलना गरेको हुँदा गोर्खा भर्ती बन्द गर्नु जरुरी छ भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूले ख्वप कलेज सञ्चालन गरेर देशभरिका विद्यार्थीलाई सस्तो र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको चर्चा गर्दै उहाँले ख्वप विश्वविद्यालय खोलेर मेडिकल कलेज सञ्चालन गरी जनताका छोराछोरीलाई १५ लाखमा डाक्टर पढाउने योजना रहेको बताउनुभयो ।
नेपालीलाई सस्तोमा बिजुली उत्पादन गरेर भारतबाट आयात गरिने एलपी ग्यास विस्थापन गर्न जरुरी छ, यसको लागि नेपालका नदी नालाबाट नेपाल सरकार आफैले विद्युत् निकाल्न जरुरी छ, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सृजना सैँजुले नेमकिपाले विचार र सिद्धान्तमा कहिल्यै सम्झौता नगरेको उल्लेख गर्दै टाउको काट्ने र काटिने नेपाली काङ्ग्रेस र माओवादी तथा एमाले– राप्रपाको असैद्धान्तिक गठबन्धनले देशघात गर्ने हुँदा नेपाली जनताले यसको विरुद्ध सङ्घर्ष गर्नु जरुरी रहेको विचार व्यक्त गर्नुभयो ।
उहाँले नेपालमा शासक दलहरूको कारण रु. २० खर्ब व्यापारघाटा हुनुका साथै नेपालको अर्थतन्त्र विदेशीको हातमा गएको बताउनुभयो ।
सरकारले वैदेशिक रोजगारीको नाममा नेपालका ७० लाख युवाहरूलाई दलाल म्यानपावर कम्पनीमार्फत दासजस्तै बेचबिखन गर्नु गलत छ । नेपालको विमानस्थलमा दैनिक ३–४ वटा लास नेपाल भित्रिनु खेदपूर्ण छ, उहाँले भन्नुभयो ।
भारतबाट मल ल्याइने मलमा बीचमा बसेर कमिसन खान पल्केकाहरूले नेपालमा मल कारखाना नखोलेको पनि उहाँले बताउनुभयो ।
भक्तपुर निर्वाचन क्षेत्र १ को प्रदेश १ का नेमकिपाका प्रदेशसभा उम्मेदवार मिनबहादुर बाटाले नेपाल मजदुर किसान पार्टीको उम्मेदवारी देशको सार्वभौमिकता रक्षाको निम्ति हो भन्नुभयो ।
उहाँले समग्र बाग्मती प्रदेशको सन्तुलित विकासको निम्ति प्रदेशसभामा आवाज उठाउने विश्वास व्यक्त गर्नुभयो ।
निर्वाचन परिचालन समितिका रामकृष्ण लिगलको सभापतित्वमा सम्पन्न चुनावी सभामा सीताराम कुइँकेल र श्रीकृष्ण थापाले पनि मन्तव्य राख्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार