साम्यवादी समाज वर्गविहीन, राज्यविहीन र कानुनविहीन समाज हुनेछ


कालीकोट, १ मङ्सिर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले एमाले र नेकाले अलगअलग गठबन्धन गरी पुनः एक पटक जनतालाई नयाँ ढङ्गले ठग्न खोजेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी कालीकोट जिल्ला समितिको आयोजनामा राँचुलीमा आयोजित सभामा उहाँले बहुदलीय व्यवस्थामा पनि प्रतिनिधिसभामा तीन प्रतिशत र प्रदेश सभामा साढे एक प्रतिशतको कानुनी प्रावधान राखेर दलहरूलाई निषेध गरेर दुईदलीय तानाशाही लाद्न खोजेको आरोप लगाउनुभयो ।
उहाँले नेपाल मजदुर किसान पार्टीको उद्देश्य देशमा समाजवाद हुँदै साम्यवादी समाज स्थापना गर्ने हो भन्नुभयो । उहाँले साम्यवादी समाज वर्गविहीन, राज्यविहीन र कानुनविहीन समाज हुनेछ, उक्त समाज सभ्य र सुसंस्कृत हुनेछ, त्यो अन्तिम गन्तव्यमा पुग्न आदर्श समाज निर्माणको लागि अहिले समाजवादबारे जनतालाई प्रशिक्षित गर्ने काम गर्दैछाँै भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीले निर्वाचनलाई खुला विश्वविद्यालयको रूपमा अगाडि बढाइरहेको छ, उहाँले भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले अहिले शासक दलहरूले राजनीतिलाई जुवाको खेल बनाइरहेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी तिलागुफाका पूर्वअध्यक्ष ऐनबहादुर शाहीले फरक सिद्धान्त र विचार बोकेका पार्टीहरू पँुजीवादी चुनाव जित्नकै निम्ति गठबन्धन गरेको बताउनुभयो ।
कार्यक्रममा कालिकोट प्रतिनिधिसभा सदस्य तथा पार्टी जिल्ला समितिका अध्यक्ष खड्ग राजशाहीले जनता सचेत भए कामदार जनताको जित हुन विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा रविन्द्रबहादुर शाही, सिर्जु शाही, दलेश्वर बोहरालगायतले बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार