सुवाल प्रतिनिधिसभामा र गोसाई प्रदेशसभामा विजयी
11/25/2022
भक्तपुर, ८ मङ्सिर । नेपाल मजदुर किसान पार्टीका सचिव प्रतिनिधिसभा सदस्यमा प्रेम सुवाल अत्यधिक मतले विजयी हुनुभएको छ ।
बिहीबार सम्पन्न प्रत्यक्षतर्फको मतगणनाको परिणामअनुसार उहाँ ४२ हजार सात सय ६१ मत ल्याएर भक्तपुर क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नवराज गेलालले ११ हजार नौ सय ६८ मत ल्याउनुभएको छ । नेमकिपाका सुवालले एमालेका गेलाललाई ३० हजार सात सय ९३ को मतान्तरले पछाडि पार्दै जित्नुभएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्काले नौ हजार तीन सय तीन मत प्राप्त गर्नुभयो भने सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका सुनिल गोठेले पाँच हजार दुई सय ८३ मत ल्याउनुभयो ।
क्षेत्र नं १ प्रदेशसभा (२) मा नेमकिपाका गोसाईँ विजयी
भक्तपुर क्षेत्र नं १ (२) बाट प्रदेशसभा सदस्यमा नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाईँ विजयी हुनुभएको छ । बिहीबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार उहाँले २९ हजार सात सय चार मत प्राप्त गर्नुभयो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फका नेपाली काङ्ग्रेसका पवन भुजुले तीन हजार एक सय ६१ मत प्राप्त गर्नुभयो । त्यस्तै एमालेका नारायणसुन्दर सिन्ताकलाले दुई हजार चार सय २८ र राप्रपाका रोशन नापितले एक हजार नौ सय पाँच मत प्राप्त गर्नुभयो ।
भक्तपुर क्षेत्र नं १ (१) मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काङ्ग्रेसका सुरेश श्रेष्ठ नौ हजार ४२४ मतका साथ विजयी हुनुभयो । सो क्षेत्रमा एमालेका मोहनवीर श्रेष्ठले आठ हजार २०१, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार मिनबहादुर बाटाले आठ हजार १४ र राप्रपाका राजु कुइँकेलले पाँच हजार ९४५ मत प्राप्त गर्नुभएको छ ।
भक्तपुर–२ मा थापा विजयी
भक्तपुर क्षेत्र नं. –२ मा प्रतिनिधिसभा सदस्यमा नेपाली काङ्ग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी हुनुभएको छ । उहाँले एमालेका महेश बस्नेतलाई नौ सय ५९ को मतान्तरले पराजित गर्नुभएको हो ।
आइतबार सम्पन्न निर्वाचनमा सो क्षेत्रमा कूल ६५ हजार नौ सय ९१ मत खसेकोे थियो । त्यसमध्ये थापाले २४ हजार दुई सय ३८ मतले अग्रता प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी महेश बस्नेतले २३ हजार दुई सय ७९ मत प्राप्त गर्नुभएको छ ।
भक्तपुर क्षेत्र नं. २ मा नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगरले सात हजार १२७, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले चार हजार ९८, राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन केसीले दुई हजार पाँच सय ६९ प्राप्त गर्नुभएको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिनुभयो ।
कूल ९१ हजार ९११ मतदाता रहेका यस क्षेत्रमा ६५ हजार ९१९ मत खसेको थियो र दुई हजार ५३ मत बदर भएको थियो ।
भक्तपुर २ (१) मा थापा र (२) मा श्रेष्ठ निर्वाचित
भक्तपुर निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) र (२) को प्रदेशसभा सदस्यमा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार निर्वाचित भएका छन् ।
प्रदेशसभा (१) मा एमालेका किरण थापा र (२) मा नेकपा समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठ विजयी हुनुभएको हो । प्रदेशसभा (१) मा एमालेका उम्मेदवार थापाले गठबन्धनका साझा उम्मेदवार नेपाली काङ्ग्रेसका विष्णुराज कार्कीलाई तीन हजार एक सय ८५ मतान्तरले पछाडि पार्दै विजयी हुनुभएको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिनुभयो ।
एमालेका थापाले १५ हजार २४२ मत ल्याउनुभयो भने उहाँको निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका कार्कीले ११ हजार नौ सय ३५ मत प्राप्त गर्नुभयो । त्यस्तै नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सरोजराज गोसाईले तीन हजार ८६ मत प्राप्त गर्नुभएको छ भने राप्रपाका उम्मेदवार विक्रम थापाले चार हजार दुई सय ७० मत ल्याउनुभएको छ ।
त्यसैगरी, प्रदेशसभा (२) मा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठ विजयी हुनुभएको छ । डा. श्रेष्ठले आठ हजार तीन सय ४१ मत प्राप्त गरी विजयी हुनुभयो भने एमालेका चन्दनकृष्ण श्रेष्ठले आठ हजार ३१ मत प्राप्त गर्नुभयो ।
त्यस्तै नेपाल मजदुर किसान पार्टीका उम्मेदवार रमेश वैद्यले ६ हजार आठ सय ३१ मत प्राप्त गर्नुभयो भने राप्रपाका उम्मेदवार पञ्चकृष्ण श्रेष्ठले तीन हजार सात सय ५० मत ल्याउनुभएको छ ।